सरकारी विद्यालय हुनु त यस्तो पो !

डिसी नेपाल
२८ असार २०७८ २३:०३

तानसेन । रामपुर नगरपालिका बेझाडस्थित रामतुलसी माध्यमिक विद्यालय विद्यार्थीको तथा अभिभावकको पहिलो रोजाइ बन्ने गरेको छ । सुविधायुक्त कक्षाकोठा, विद्यालय हाताभित्रै खाजाघर, शौचालय, पानीको व्यवस्था, खेल मैदान, अनुशासित वातावरणमा पढाइ र अतिरिक्त क्रियाकलापले सो विद्यालय सबैको आकर्षण भएको हो ।

जिल्लाकै धेरै विद्यार्थी रहेकोे सो विद्यालयलाई अहिले प्रदेशमै उत्कृष्ट नमूना विद्यालयका रुपमा विकास गरिँदैछ । दुई हजार १०० विद्यार्थी अध्ययनरत सो सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्केको गुनासो बढिरहेका सयममा जिल्लाका सामुदायिक विद्यालयलाई थप व्यवस्थित पारिँदै छ । सो व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेल विद्यालयलाई नूमना विद्यालयका रुपमा विकसित गरिने जाकारी दिए ।

नियमित लेखा परीक्षण, अध्यापनशैली तथा विद्यार्थीको शैक्षिक प्रगतिका आधारमा यस विद्यालयलाई विसं २०७४ मा सरकारले नमूना विद्यालयका रुपमा छनोट गरेको थियो ।

कक्षा नर्सरीदेखि कक्षा १२ सम्म अङ्ग्रेजी, नेपालीसँगै विज्ञान तथा बालीविज्ञान विषयमा पढाइ हुने सो विद्यालयमा अहिले करीब रु एक करोड लागतमा मन्टेश्वरी अवधारणामा प्रारम्भिक बालविकास तह तयार पारिएको छ । करीब ११३ रोपनी जग्गा रहेको सो विद्यालयमा बालबालिकालाई प्लेगु्रपदेखि युकेजीसम्म पढाइ हुनेगरी विद्यालय भवन तयार गरी भान्सा, शौचालय, बिछ्यौना, प्रशस्त खेलौना छुट्टै खालको प्रबन्ध गरिएको छ ।

अध्यक्ष पौडेलले सानैदेखि अङ्ग्रेजीमा जान्ने बुझ्ने गराउँदै विद्यार्थीमा अन्तरनीहित क्षमताको विकासका निम्ति प्रारम्भिक बालविकासमा कम शुल्कमा पढाउने व्यवस्था हुने जानकारी दिए । उनले भने, “अहिले पनि पाल्पासँगै गुल्मी, दाङ, प्यूठान, कालीकोट, काठमाडौँ, स्याङ्जा, तनहँु र नवलपुरबाट समेत विद्यार्थी विज्ञान, बालीविज्ञानलगायतका विषय अध्ययनका निम्ति आएका छन् । सामुदायिक विद्यालयलाई हेर्ने दृष्टिकोण बदलेर उत्कृष्ट विद्यालय बनाउने प्रयत्नमा जुटेका छौँ ।”

सरकारी विद्यालयमा पनि कक्षा नर्सरीदेखि कक्षा ५ सम्म अङ्ग्रेजी माध्याममा पढाइ हुन थालेपछि निजी विद्यालयप्रति सबैको आकर्षण बढेको शिक्षक लेखनाथ शर्मा मरासिनीले बताए । करीब ३६ रोपनी जग्गामा विद्यालयका करीब १८ वटा भवन संरचना निर्माण छन् भने करीब २४ रोपनी जग्गामा कृषि फर्म सञ्चालन भएको छ । कतिपयले स्याङ्जा, तनहुँ तथा नवलपुरबाट समेत रामपुरमा कोठा भाडामा लिएर छोराछोरी विद्यालयमा पढाउन आउने गरेको उनको भनाइ छ ।

बिहानै विद्यालय पुग्ने विद्यालयका प्रधानाध्यापकले बेलुकासम्म नै विद्यालयमा खट्ने गरेको विद्यालयका सहयोगी कुलबहादुर दरैले बताए । उनले भने, “प्रधानाध्यापक बिहानैदेखि स्कुलमा आएपछि बेलुकासम्म खट्नुहुन्छ । समयभन्दा कसैले तलमाथि गर्न पाउँदैन । घण्टी बज्नेबित्तिकै सर कक्षामा पस्नुहुन्छ, तोकिएका समयमा विद्यालय नपुग्ने विद्यार्थी र शिक्षकलाई कारवाही हुन्छ ।” अहिले कोभिड– १९ को जोखिम भएकाले इन्टरनेट अनलाइनका माध्यामबाट अध्यापन गराइएको छ ।

विद्यालय पुगेर कक्षा सञ्चालन, पठनपाठन, अतिरिक्त क्रियाकलापबारे चासो राख्दा पनि विद्यार्थी तथा शिक्षक अनुशासनमा डोर्‍याउन सहज हुने प्रधानाध्यापक बालकृष्ण लम्साल बताउँछन् । उनले भने, “विद्यालयमा सुविधा सम्पन्न भवन, खेल मैदान, अनुशासित ढङ्गले पढाइ हुने वातावरण छ, कम्प्युटर प्रयोगशाला र प्रविधियुक्त शिक्षाको विकास भइरहेको छ ।” विद्यार्थीलाई सानैदेखि प्रशस्त खेलकूद सामग्री जुटाएर खेल्दै, सिक्दै गर्ने वातावरण सिर्जना गरेका छौँ, प्रधानाध्यापक लम्सालले भने ।

विद्यालयमा प्राविधिकधारतर्फको व्यवस्थापनका लागि अत्याधुनिक ल्याब सञ्चालनका निम्ति करीब रु २८ लाख बराबरको सामग्री खरीद गरिएको छ । यस वर्ष विद्यालय बस सञ्चालनमा ल्याउने र आगामी वर्ष छात्राबास सञ्चालनको योजना रहेको विद्यालयले जनाएको छ ।

सहुलियत तरिकाबाट विद्यार्थीलाई शिक्षा प्रदान गर्ने विद्यालयले आर्थिक अभावका कारण समस्यामा परेका विद्यार्थीलाई निःशुल्क भर्ना, किताब, विद्यालय भर्नाकोसमेत प्रबन्ध गरिने जनाएको छ । रामपुर नगरपालिका शिक्षाशाखा अधिकृत विकल काफ्लेले लुम्बिनी प्रदेशमा उत्कृष्ट विद्यालयका रुपमा छुट्टै पहिचानका साथ स्थापित हुन लागेको बताए।

उनले ग्रामीण भेगमा पिउने पानी, शौचालय, उपर्युक्त भौतिक संरचनालगायत प्रशस्त सुविधासहित सञ्चालित विद्यालय उदाहरणीय भएकामा जोड दिए । रामपुर दर्छा खोप्टारको पाटीबाट शिक्षा दिन थालेको विद्यालयमा देशका विभिन्न सरकारी पदमा कार्यरत कर्मचारी उत्पादन गर्ने रामपुरकै पुरानो विद्यालयका रुपमा परिचित छ । ८५ जना शिक्षकले अध्यापन गराउने गर्दछन् । अहिले जिल्लामा ४३७ सरकारी तथा ६० संस्थागत विद्यालय छन् ।

-पवित्रा घिमिरे\रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *