पहिराबाट ज्यान गुमाउनेको परिवारलाई सङ्घ सरकारको राहत

डिसी नेपाल
२९ असार २०७८ ७:२९

दमौली । पहिराबाट ज्यान गुमाउने तनहुँको बन्दीपुर गाउँपालिका–३ तामुङका पीडित परिवारलाई सङ्घ सरकारको तर्फबाट राहत वितरण गरिएको छ। गत असार १७ गतेको पहिरामा पुरिएर मृत्यु भएका दुई परिवारलाई सङ्घ सरकारको तर्फबाट सोमबार रु चार लाख राहत वितरण गरिएको हो।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य कृष्णकुमार श्रेष्ठ र प्रमुख जिल्ला अधिकारी सागर आचार्यले पीडितको घरमै पुगी जनही रु दुई लाखका दरले राहत रकम वितरण गरेका हुन्। सो क्रममा प्रतिनिधिसभा सदस्य श्रेष्ठले मानिसको जीवन पैसासँग तुलना गर्न नमिले पनि पीडित परिवारको साथमा सरकार छ भन्ने अनूभुति गराउन राहत वितरण गरिएको बताए।

पहिरामा परी उक्त ठाउँका ३० वर्षीया सरस्वती थापा र ७० वर्षीया हरिमाया सर्किनीको मृत्यु भएको थियो। यसअघि गण्डकी प्रदेश सरकारले पनि प्रतिमृतक रु ५० हजारका दरले राहत रकम प्रदान गरिसकेको छ। पहिरामा मृत्यु भएकाका परिवारलाई जनही रु दुई लाखका दरले राहत वितरण गर्ने प्रावधानअनुरुप ऋषिङका पीडितलाई पनि केही समयपछि राहत उपलब्ध गराइने बताइएको छ । गत यही १७ र २४ गतेको पहिरामा पुरिएर बन्दीपुरमा दुई र ऋषिङमा दुई जनाको मृत्यु भएको छ।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *