ओलीः बालुवाटार टू बालकोट (फोटोफिचर)
काठमाडौं। निर्वतमान प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडे। र उनी भक्तपुरको बालकोटस्थित आफ्नो निजी निवास पुगे। ४१ महिनको बालुवाटार बसाइपछि बुधबार ओली बालकोट फर्किँदै गर्दा उनका समर्थकहरुले स्कटिंग गरेका थिए। र ओलीले सत्ता त्याग्नुपरेको आक्रोश उनका समर्थकले सर्वोच्च अदालत र एमालेकै वरिष्ठ नेता माधवकुमार नेपालमाथि पोखेका थिए।
माधव नेपालहरुले साथ दिएपछि काँग्रेस सभापति शेरबहादुर देउवाले राष्ट्रपति समक्ष सरकार बनाउने दावी पेश गरेका थिए। तर, राष्ट्रपतिले देउवा र ओली दुबैलाई प्रधानमन्त्री नियुक्त नगरी ‘मार्गप्रसस्त’ गरेका ओलीलाई निरन्तरता दिएकी थिइन्। र सरकारले प्रतिनिधिसभा विघटन गर्दै मध्यावधि चुनाव घोषणा गरेको थियो।
तर, सर्वोच्च अदालतले देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दियो भने प्रतिनिधिसभा विघटनलाई पनि बदर गरिदियो। सर्वोच्चको परमादेशपछि देउवाले मंगलबार नै प्रधानमन्त्रीको शपथ लिएर मन्त्रिपरिषद विस्तार गर्दै पदभार पनि सम्हालिसकेका छन्।
यसरी सत्ताबाट हटेपछि बुधबार ओलीले बालुवाटार छाडेका हुन्। ओलीलाई बालुवाटारदेखि बालकोटसम्म एमाले सम्बद्ध युवा संघले स्कर्टिंग गर्दै बालकोट पुर्याएको छ। बालकोट पुगेपछि आफ्नो समर्थकलाई सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालमाथि आक्रोश पोखेका छन्। उनले माधव नेपाललाई लाजशरम नभएको भन्दै टिप्पणी गरेका छन्। आफ्नै पार्टीको सरकारविरुद्ध कहिले राष्ट्रिपतिकोमा कहिले अदालतमा पुगेको भन्दै नेता नेपालप्रति कडा आक्रोश पोखे। उनले माधव नेपालको पछाडि लाग्नेहरुको हकमामात्र कमजोरी सच्याएर आए पार्टीमा स्थान हुने बताए।
ओलीले आफूलाई अकारण, कुनै गल्ति नगरे पनि जालीहरुले जालझेल गरेर अदालतमा मुद्दा हालेर हटाएको टिप्पणी गरेका छन्। उनले विश्वमा कहिँ पनि अदालतले प्रधानमन्त्री नतोक्ने भन्दै नेपालमा भने कहिँ नभएको जात्रा हाँडी गाउँमा भएको बताए। उनले आफूले कुनै गल्ति नगरेको, काम गर्न नसकेको पनि होइन, विकासको गतिलाई बढाएको भए पनि जनादेशबाट नभइ परमादेशबाट हटाइएको बताए।
तस्वीरः फुर्पा शेर्पा/डिसी नेपाल
Facebook Comment