उपत्यकाका सिडियोको बैठक बस्दै : लामो दुरीका सवारी साधन जोरबिजोर प्रणालीमा चलाउन दिने तयारी
काठमाडौं । कोरोना संक्रमणदर घट्दै गएपछि सरकारले निषेधाज्ञालाई पनि परिमार्जित गर्दै गयो। पछिल्ला दिनमा लामो दूरीका बाहेक सवारीसाधन संचालनमा आए। अनुमति पाएर लामो दुरीका पनि सवारी साधनहरु संचालन भइरहेका छन्।
यसरी, निषेधाज्ञालाई व्यवस्थापन गर्दा पनि कोरोनाको संक्रमण दर भने न्यून हुन सकेको छैन। बरु दिन प्रतिदिन बढ्ने क्रममा रहेको छ। पोजेटिभ आउनेको संख्या कम भए पनि कोरोनाको पोजेटिभिटी प्रतिशत भने घटेको छैन।
यसबीचमा सरकारले लामो दुरीका यातायातका साधनहरु खुल्ला गर्ने तयारी गरिरहेको छ। ‘लामो दुरीको सवारीसाधन पनि खुल्ला गर्नुपर्छ होला,’ डिसी नेपालसँग कुरा गर्दै ललिपुर जिल्लाका प्रमुख जिल्ला अधिकारी ढुण्डीप्रसाद निरौलाले भने, ‘यसै पनि अनुमति लिएर सवारीसाधन चलिरहेकै छन्। त्यो भन्दा अब जोरबिजोर गरेर भए पनि खुल्ला गर्नु पर्ने हुनसक्छ।’
प्रजिअ निरौला आज डिसीसीएमसीको बैठक बसेर यस विषयमा विषय हुने बताउँछन्। ‘आज बैठक बस्छ। यो विषयमा पनि निर्णय हुन्छ। र अन्य विषयका बारेमा पनि विषय हुन्छ। जस्तो संक्रमित बढिरहेका छन्, के गर्ने ? प्रभावकारिता कस्तो भइरहेको छ?’
निषेधाज्ञाको आउँदो रणनीतिका लागि आजै स्वास्थ्य तथा जनसंख्या मन्त्री र सरोकारवाला सबैसँग छलफल हुने उनको भनाइ छ। सबैसँगको छलफल र सुझाव अनुसार आगामी निषेधाज्ञा सम्बन्धि रणनीतिको कुरा हुने प्रजिअ निरौलाले जानकारी दिए।
यसअघि अन्तिम पठक जारी गरेको निषेधाज्ञाको समयावधि भोलि साउन १ गते सकिँदै छ। निषेधाज्ञा खुकुलो भएपछि कोरोना संक्रमण बढ्दो क्रममा देखिन्छ। एक साता पहिला २४ घण्टामा एक हजार ८ सय बढी संक्रमित फेला परेका थिए भने गत २४ घण्टामा दुई हजार नौ सय बढी संक्रमित भेटिएका छन्।
हालसम्म छ लाख ६० हजार ७ सय ८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये छ लाख २४ हजार ७ सय ११ जना निको भएका छन् भने नौ हजार चार सय ३० जनाले ज्यान गुमाइसकेका छन्।
अहिलेसम्म २६ लाख २१ हजार ४ सय ७६ जनाले पहिलोमात्राको खोप लगाएका छन् भने ११ लाख आठ हजार आठ सय ६८ जनाले दोस्रोे मात्राको खोप लगाइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
Facebook Comment