सामाजिक सुरक्षा कोषः स्वरोजगार श्रमिकलाई समेट्ने कार्यविधि निर्माण अन्तिम चरणमा

डिसी नेपाल
४ साउन २०७८ ६:४८

काठमाडौं। अनौपचारिक क्षेत्रका स्वरोजगार श्रमिकहरूलाई सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने उद्देश्यका साथ सामाजिक सुरक्षा कोषले आफ्नो गृहकार्यलाई तीव्र पारेको छ । त्यस्ता श्रमिकहरूलाई योजनामा समेट्नेबारे मस्यौदा निर्माणको कामलाई अन्तिम चरणमा पुर्‍याइएको हो ।

कोषका अनुसार अनौपचारिक रोजगारीमध्ये कुनै एक प्रकारको रोजगारी वा क्षेत्र तोकी कार्यक्रम लागू गर्नेगरी अनौपचारिक क्षेत्रका श्रमिकलाई समेट्ने योजनाको मस्यौदालाई अन्तिम चरणमा पुर्‍याइएको छ ।

अनौपचारिक क्षेत्रका श्रमिकलाई समेट्न सरकारले ‘केही नेपाल ऐन’ लाई संशोधन गरिसकेको छ । योगदानमा आधारित सामाजिक सुरक्षा ऐन, २०७४ मा अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्ति सामाजिक सुरक्षा योजनामा सहभागी हुन सक्ने व्यवस्था राखिएअनुसार कार्यान्वयनका लागि कार्यविधिको कामलाई तीव्रता दिइएको हो ।

‘अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेका व्यक्तिले समितिको सिफारिशमा मन्त्रालयले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकेबमोजिमको योगदान कोषमा जम्मा गरी सामाजिक सुरक्षा योजनामा सहभागी हुन सक्नेछ,’ ऐनमा भनिएको छ ।

अनौपचारिक क्षेत्रका श्रमिक तथा स्वरोजगारमा रहेको व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा प्रोत्साहन गर्न त्यस्तो व्यक्तिले सामाजिक सुरक्षा योजनामा गरेको योगदानको आधारमा तोकिएबमोजिमको रकम नेपाल सरकारले कोषमा जम्मा गरिदिने ऐनमा व्यावस्था छ । यिनै व्यवस्थालाई व्यावहारिक रूपमा लागू गर्न कोषले कार्यविधि बनाउने काम गरेको हो ।

ऐनअनुसार अनौपचारिक क्षेत्रको श्रमिक तथा स्वरोजगारमा रहेको व्यक्तिलाई सामाजिक सुरक्षा योजनामा सहभागी गराउने प्रयोजनका लागि सहकारी संस्था वा संघ, सामुदायिक वा अन्य व्यावसायिक संघ संस्थासँग कोषले सहकार्य गर्न सक्ने अधिकारसमेत दिइएको  छ। आर्थिक अभियान दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *