कोरोना संक्रमण दर बढ्यो, सदुरपश्चिम प्रदेशमा २ जनाको परीक्षण गर्दा १ जना पोजेटिभ

काठमाडौं । पछिल्लो केही दिनयता नेपालमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । अघिल्लो साता ९ जिल्लामा ५ सयभन्दा बढी सक्रिय संकमित रहेकामा यो साता बढेर १२ जिल्लामा ५ सय बढी सक्रिय संक्रमित पुगेका छन्।
हाल देशभर २६ अजार ८३२ सक्रिय संक्रमित रहेका छन् । यो संख्या पनि विगत केही दिनदेखी बढेको हो । साउन लागेपछि केही मात्रामा पीसीआर बढाइएका कारण संक्रमण बढ्दै गएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
मन्त्रालयको मंगलबारको तथ्यांकअनुसार डेढ महिनायताकै सर्वाधिक संक्रमित फेला परेका थिए । यो क्रमलाई पछ्याउँदै बुधबार पनि २ हजार ८३८ जना कोरोना संक्रमित थपिएका छन्।
प्रवक्ता पौडेलका अनुसार प्रदेश १ मा मोरङ, झापा र सुनसरी, बाग्मती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर र चितवन तथा गण्डकी प्रदेशमा कास्की र नवलपरासी पूर्वमा द५ सय बढी संक्रमित रहेका छन् । यस्तै लुम्बीनी प्रदेशमा रुपन्देही, कर्णाली प्रदेशमा सुर्खेत र सुदुरपश्चिम प्रदेशमा कैलाली जिल्लामा ५ सय बढी संक्रमित रहेका छन् ।
हाल नेपालमा कोरोना संक्रमणदर १९.२ प्रतिशत रहेको छ । जसमध्ये सबैभन्दा बढी संक्रमण दर सदुरपश्चिम प्रदेशमा ४८.२ प्रतिशत रहेको छ । यस्तै कर्णाली प्रदेशमा ४६ प्रतिशत, गण्डकी प्रदेशमा ३२ प्रतिशत र प्रदेश १ मा ३१.५ प्रतिशत संक्रमण दर रहेको छ । यो विगतको तुलनामा निकै बढी हो ।
कोरोना संक्रमणको जोखिम कम भएको भन्दै असार पहिलो हप्तादेखी नै निषेधाज्ञा खुकुलो पारीँदै लगिएको थियो । मापदण्ड पालना नगर्ने र भिडभाड बढेकाले संक्रमणदर पुन बढ्न थालेको टेकु अस्पतालका निर्देशक डा अनुप बास्तोलाले स्वास्थ्यमन्त्रालयको प्रेस ब्रिफिङमा बताए। ‘लकडाउन खुकुलो गर्नु नै कोरोनाको जोखिम मोल्नु त हो, त्यसलाई ख्याल गरेर अघि बढ्नुपर्छ’ , संक्रमण रोग बिशेषज्ञ डा बास्तोलाले मन्त्रालयको बुधबारको प्रेस ब्रिफिङमा भने, ‘अर्को कुरा आम जनमानसले पनि जनस्वास्थ्यका मापदण्ड लगायतका नियम ख्याल गर्नुपर्छ। सकेसम्म भिडभाडमा नजाने गर्नुपर्छ।’
मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ४७५ जना निको भएर घर फर्केका छन्। ८ हजार ७१५ पीसीआर परीक्षण गर्दा १ हजार ९१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ९०१ परीक्षण गर्दा ९२० जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।
गएको २४ घण्टामा ३० जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६३७ पुगेको छ ।
Facebook Comment