अपमान सहेर पार्टी भित्र बस्न नसकिने माधव नेपालको चेतावनी

डिसी नेपाल
८ साउन २०७८ ६:१५

काठमाडौं। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अपमान सहेर पार्टी भित्र बस्न नसकिने चेतावनी दिएका छन्।

कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृतिमा बिहीवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता नेपालले पार्टीलाई घरसँग तुलना गर्दैैैै कोही पनि त्यत्तिकै घरबाट निस्कन नचाहने नेता नेपालले स्पष्ट पार्नुभयो । नेता नेपालले क्रान्तिकारी पार्टी बनाउन हरसम्भव प्रयास गर्ने तर पार्टी भित्र एकताको नाममा अपमान सहेर नबस्ने बताए।

उनले भने, “हामी संकल्प गरौं–कम्युनिष्ट आन्दोलनलाई बलियो बनाएर अघि बढ्नेछौं। कम्युनिष्ट आन्दोलनलाई सही दिशामा अगाडि लिएर जाने क्रान्तिकारी पार्टीलाई बलियो बनाउन चाहन्छौं। त्यो क्रान्तिकारी पार्टीको स्वरुप लिएर नै नेकपा (एमाले) अगाडि बढोस् भन्ने चाहना व्यक्त गर्दछौं। त्यो स्वरुपमा पार्टी अगाडि बढछ कि बढदैन? हामी पर्खेर हेरिरहेका छौं। त्यस स्वरुपमा अघि बढछ, सोही रुपमा रुपान्तरण हुन्छ, ठिक छ। कसले बनेको घरबाट त्यत्तिकै निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन । सबै खालका कुकर्म हुँदाहुँदै त्यसलाई सहेर कोही पनि बस्न हुँदैन । त्यो प्रशिक्षण हामीले पाएका छैनौं ।”

वरिष्ठ नेता नेपालले बाँदर जुलुस निकाल्ने, कहिले बरण्डामा उफ्रिने नाटक मञ्चन भईरहेको उल्लेख गर्दै त्यसबाट पार्टीलाई मुक्त गर्न नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसले प्रेरित गर्न सकोस् भनि कामना समेत गरे। “अपराधिक, जालझेल, फटाहा, त्यस्ता खालका तत्वहरुको स्याल हुँईयाँ, कहिले बाँदरे जुलुस, कहिले बरण्डामा उफ्रिने, त्यस खालका जुन नाटक मञ्चन भईरहेको छ, यी सबैैबाट समाजलाई र सिंगो पार्टीलाई कसरी मुक्त गर्ने? भन्ने कुराको सन्दर्भमा पनि, यी कुराबाट शिक्षा प्राप्त गरेर, कमीकमजोरी सुधारेर नयाँ शिराबाट अघि बढने कुरामा आजको दिनले सबैमा चेतना दिन सकोस्, प्रेरित गर्न सकोस्।”

वरिष्ठ नेता नेपालले पार्टी एक ढिक्का भएर मात्रै नहुने टिप्पणी समेत गरे। सही वैचारिक जगमा पार्टी उभिएन भने पार्टी एक ढिक्का भएर पनि कुनै अर्थ नहुने उनको तर्क थियो ।

पार्टी नाम र चुनाव चिन्हले नभई सुनामले अघि बढने उल्लेख गर्दैै वरिष्ठ नेता नेपालले भने, “पार्टी एकढिक्का भएर मात्रै हुँदो रहेनछ । सही वैचारिक जगमा उभिएको छ भने त्यो पार्टीको उपाध्येयता हुँदोरहेछ । वैचारिक धरातल ठिक छ कि छैन ? देश भक्तिको भावना भरिपूर्ण छ कि छैन, जनताप्रति समर्पित छ कि छैन ? समाज रुपान्तरण, समाजवाद निर्माणको बाटोमा सही हिसावले अगाडि बढेको छ कि छैन ? त्यसका नेता, कार्यकर्ताहरु इमान्दार छन कि छैनन् ? त्याग, तपस्या र बलिदानको भावनाले ओतप्रोत छन् कि छैनन् ? व्यक्तिवादी भएकी, अहंकारी भएकी, स्वार्थी भएकी ? आफ्नो स्वार्थका लागि पार्टीको नाम र झण्डा दुरुपयोग गरिरहेका छन् कि ? यी सबै कुराहरुप्रति सतर्क हुँदै गलत कुराको विरुद्ध विद्रोह गर्ने आँटका साथ पार्टीलाई अगाडि बढाउनु पर्दछ । पार्टी नाम र चुनाव चिन्हले नभई सुनामले अघि बढदछ।”

वरिष्ठ नेता नेपालले देश र जनताप्रति समर्पित भएर अघि बढाउने ध्येयका साथ नेपालमा पुष्पलाल श्रेष्ठले कम्युनिष्ट पार्टी स्थापना गरेको पनि स्मरण गराए। हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *