आममाफी भयो, आउनुस् मिलेर काम गरौँ-ओली
![आममाफी भयो, आउनुस् मिलेर काम गरौँ-ओली](https://www.dcnepal.com/wp-content/uploads/2021/06/PM-KP-Oli-and-Madhav-Kumar-Nepal.jpg)
काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत पाएको दिनदेखि झन् खलबलिएको एमाले एकता अझ पछाडि धकेलिएको छ। दुवै पक्षले आफ्नो अडानहरू प्रष्ट राखिरहेका छन्। अहिले संस्थापन पक्षले प्रधानमन्त्री देउवालाई मत दिएकै आधारमा कारबाही गर्न सक्ने अवस्था छैन। माधवकुमार नेपाल पक्ष पनि एमालेमा बस्ने कि नयाँ पार्टी खोलेर अगाडि बढ्ने भन्नेमा विभाजित देखिएको छ।
अध्यक्ष केपी शर्मा ओलीले नेपाल समूहलाई पार्टीमा ल्याउन ‘साम, दाम, दण्ड र भेद’ को सूत्र प्रयोग गरिरेका छन्। तर, त्यो सफल हुन सकेको छैन। पछिल्लो समय ओलीले सबैलाई आममाफी दिने घोषणा गर्दै पार्टीमा आउन आग्रह गरेका छन्। नेपाल समूहले भने अब अध्यक्षबाट ओलीले राजीनामा दिनुपर्ने माग अगाडि सार्दै आएको छ।
एकले अर्को पक्षलाई गलाउन अनेक प्रयत्नहरू भइरहे पनि एमाले नेता र कार्यकर्ताहरूको अभिव्यक्ति उग्र बन्दै गएपछि अहिले ओलीले फेरि फकाउने रणनीति लिएका छन्। नेता नेपाललगायत २२ जना सांसदहरूलाई २४ घण्टे स्पष्टीकरण सोधिए पनि ओलीले तत्काल कारबाही नगर्ने संकेत गरेका छन्।
स्पष्टीकरणपछि आफनो रणनीति तय गरिरहेको नेपाल पक्षलाई उनले आममाफी दिने घोषणा नै गरे। केन्द्रीय कमिटी बैठकमा नेपाललाई दोस्रो अध्यक्ष दिन तयार रहेको बताउने ओलीले बिहीबार असन्तुष्ट पक्षलाई आममाफी दिने बताए।
ललितपुरको च्यासलमा आयोजित पुष्पलाल स्मृति कार्यक्रममा उनले बाटो बिराएकालाई माफी दिएर अगाडि बढ्न सकिने बताए। उनले भने, ‘सबैलाई एकताका लागि भन्न चाहन्छु एम्नेष्टी इज ग्रान्ट्रेड। बाटो बिराएका साथीहरूलाई पनि म भन्न चाहन्छु । आउनुहोस् मिलेर काम गरौँ।’
अध्यक्ष ओलीले एकताका लागि आफू हदैसम्म लचिलो भएको उल्लेख गर्नुहुँदै नेपाललाई दोस्रो अध्यक्षको प्रस्ताव पनि गरेको बताउनुभयो । आफूले दोस्रो अध्यक्ष बन्नका लागि प्रस्ताव गरे पनि नेपालले स्वीकार नगरेको उनको भनाइ छ।
उहाँले नेपाल पक्षका कारण पार्टीमा ठूलो असर गरेको पनि बताउनुभएको छ । कम्युनिष्ट आन्दोलनलाई एकजुट भएर अगाडि बढाउन सबै एकजुट हुनुपर्ने उल्लेख गर्दै उनले भने, ‘यस आन्दोलनलाई मजबुत पारौं। एकजुट भएर जाऔं। यस आन्दोलनले सानो धक्का बेहोरेको छैन्। आज फेरि एकजुट भएर अगाडि बढौँ।’
‘हामी अझै एक नम्बर छौँ, परमादेशबाट हटाइयो’
अध्यक्ष ओलीले अहिले पनि तीन वटै तहमा आफ्नो पार्टी एक नम्बर शक्ति रहे पनि अदालतको फैसलाले आफूहरूको सरकार ढलेको बताए। एमालेको सरकार ढाल्नका लागि देशी विदेशी शक्तिहरू लाग्दा पनि सम्भव नभएको उल्लेख गर्नुहुँदै उहाँले सर्वोच्च अदालतको परामादेशबाट हटाइएको बताए।
अहिले पनि तीन वटै तहमा आफ्नो दल प्रमुख शक्ति रहेको उनको भनाइ छ। उनले भने, ‘देशको प्रमुख राजनीतिक शक्ति हो, लोकतान्त्रिक आन्दोलनको प्रमुख राजनीतिक धार हो ।’ उनले नेपाली कांग्रेसप्रति पनि आक्रोश व्यक्त गरे। अध्यक्ष ओलीले कांग्रेस स्थापनाकालदेखि नै दमनकारीहरूसँग मिल्ने गरेको बताए। तीन महिनाको अवधिमा दुई पटक संसद् विघटन गरेका ओली कांग्रेसले आफ्नो साथ नदिएको आक्रोशित थिए।
उनले भने, ‘लोकतन्त्रवादीसँग नमिल्ने दमनकारीसँग मिल्ने नीति कांग्रेसले स्थापनाकालदेखि नै लिएको हो । प्रगतिशील शक्तिसँग नमिलेर जनशक्ति कमजोर भो । १७ सालको ‘कु’ हुँदा त्यसका विरुद्ध उत्रिने जनता भएन । आज पनि यो लागू हुन्छ।
माधव पक्षको स्पष्टीकरण- ओलीले राजीनामा दिए मात्रै एकता
आफूहरूलाई २४ घण्टे स्पष्टीकरण पत्र थमाइएपछि नेपाल समूहले अब एकताका प्रमुख मुद्दा अध्यक्ष ओलीको राजीनामा बनाएको छ। वरिष्ठ नेता नेपालले पार्टीभित्र अपमान सहेर बस्न नसकिने बताए। दोस्रो अध्यक्षको प्रस्तावप्रति लक्षित गर्नुहुँदै उनले अपमान सहेर पार्टीभित्र बस्न नसकिने चेतावनी दिएका हुन्।
पुष्पलाल श्रेष्ठको स्मृतिमा आयोजित कार्यक्रममा बोल्नुहुँदै उनले पार्टीबाट कोही पनि व्यक्ति त्यतिकै नजाने तर एकताका नाममा अपमान पनि सहेर बस्न नसक्ने बताए। उनले भने, ‘कसले बनेको घरबाट त्यत्तिकै निस्कन चाहन्छ ? तर अपमान सहेर कोही पनि बस्दैन । सबै खालका कुकर्म हुँदाहुँदै त्यसलाई सहेर कोही पनि बस्न हुँदैन । त्यो प्रशिक्षण हामीले पाएका छैनौं।’
नेता नेपालले आफू लक्षित नारा जलुसहरूको सन्दर्भमा पनि जवाफ दिएका छन्। उनले बालकोट प्रवेश गर्दै गर्दा ओलीले दिएको अभिव्यक्तिप्रति पनि आक्रोश व्यक्त गरे। अहिले बाँदर जुलुस निकाल्ने, कहिले बरण्डामा उफ्रिने नाटक मञ्चन भइरहेको उल्लेख गर्दै त्यसबाट पार्टीलाई मुक्त गर्न पुष्पलाल श्रेष्ठको स्मृति दिवसले प्रेरित गर्न सकोस् भनी कामना समेत गरे।
उनले भने, ‘आपराधिक, जालझेल, फटाहा, त्यस्ता खालका तŒवहरूको स्याल हुँईयाँ, कहिले बाँदरे जुलुस, कहिले बरण्डामा उफ्रिने, त्यस खालका जुन नाटक मञ्चन भइरहेको छ, यी सबैैबाट समाजलाई र सिंगो पार्टीलाई कसरी मुक्त गर्ने? भन्ने कुराको सन्दर्भमा पनि, यी कुराबाट शिक्षा प्राप्त गरेर, कमीकमजोरी सुधारेर नयाँ शिराबाट अघि बढ्ने कुरामा आजको दिनले सबैमा चेतना दिन सकोस्, प्रेरित गर्न सकोस्।’
Facebook Comment