व्यंग्य : बोकाको मुखमा कुभिण्डो

डिसी नेपाल
९ साउन २०७८ १०:३८

यसभन्दा अघिपनि चारचोटी सरकार प्रधानको कुर्सीमा बसिसकेका र कामले भन्दापनि भाग्यले बालुवाटार पसिसकेका नेतालाई आफ्नो क्षमता भन्दापनि अर्काको अक्षमताले गर्दा पाचौँ पटकपनि बालुवाटार पस्ने र देश हाँकेर बस्ने मौका आइलाग्यो।

उनलाई यो अबस्थामा पुर्‍याउनेमा भर्खरै अदालतको परमादेशबाट सरकार छाड्न बाध्य भएका र सिन्दुरे जात्रा गर्दै बालकोट गएका कामरेडकै सबैभन्दा ठुलो हात रहेको हल्ला सुनिन्छ।

यी पार्टी अध्यक्ष कामरेडले चुनावमा झण्डै दुई तिहाइ मत पाएर सरकार बनाएपछि कुनै छल नगरिकन दल भित्रको समस्या हल गरेको भए अहिलेको अबस्था आउने र सरकार प्रधानको कुर्सी छोडेर दुख पाउने काम गर्नै पर्ने थिएन।

सरकार प्रधान भएपछि दम्भ, अहंकार, निरंकुशता, स्वेच्छाचारिता, म नै सबैथोक हुँ र सबैले मलाई मान्न पर्छ, मेरो हुकुमको अगाडि कोही केही पनि होइनन्, म नै सर्वेसर्वा हुँ र अरु सबै मेरा रैतीहरु हुन्, म संबिधान र ऐन नियम कानुन सबैभन्दा माथि छु, सरकार दल र देशमै मैले जे गर्छु अरु सबैले त्यसलाई नाकको चालले मान्नु बाहेक अरु उपाय छैन, दलका वरिष्ठ हुँ भन्नेहरुको हैसियत मेरा हुक्के बैठकेहरुको जत्तिपनि छैन, मैले जसलाई जुन थान्कोमा राख्छु त्यसले चुपचाप लागेर त्यसमा चित्त बुझाउन पर्छ आदि आदि भनेर आफूलाई देवत्वकरण गरे रे भन्दै दलका बरिष्ठहरुले आरोप लगाउने र उनका बिरुद्ध माहौल जगाउने काम गरेपनि जनताले केहि चाल पाएनन्। बालुवाटारमा जो आएपनि र सरकार प्रधानको कुर्सी जसले उपभोग गर्न पाएपनि आप्mनो हालतमा कुनै सुधार नआउने अनि कुर्सी हात पार्नेले बाचा गरेर गएको कुनैपनि कुरा उ त्यहाँ बसुन्जेल देख्न नपाउने बानी परेका जनतालाई जसले जहाँ पुगेर जेसुकै गरोस् केहि मतलब हुने भएन।

मिर्गौलाका दीर्घरोगी सरकार प्रधान त्यही रोगले छिट्टै मास्तिर जाने र उनीपछि खासै मेहनत नगरिकन ठुलो भाग खाने सदिक्षा सहित चुनावको मुखमा हतार हतार पार्टी एकीकरण गरेर बढारिने अबस्थाको चुनावमा टिकेका अनि दोश्रो अध्यक्षमा हाँसीहाँसी बिकेका धनयूद्धका संचालक र स्वघोषित महान नेताको सहयोग त अबिस्मरणीय नै छ रे भन्ने हल्लापनि सुनिन्छ।

मिर्गौला फेरेर सरकार प्रधान तगडा भएको देखेपछि आफूले अनुमान गरेभन्दा बढी बाँच्न पाइन्न भनेर मुखैले नभनेपनि यही आशयले यिनीहरुबीच झगडा सुरु भएको हो भन्नेहरुको मुख थुन्न सकिने कुरै भएन।

बहुमतको सरकार,अल्पमतको सरकार, मिलिजुली सरकार, सर्बदलीय सरकार, काम चलाउ सरकार, हुकुम प्रमांगीबाट बक्सिसमा बनेको सरकार, चुनावी सरकार, दुई तिहाइ बहुमतको सरकार हुँदै परमादेशको सरकारसम्म आइपुग्दा कुनैपनि सरकार पूरा अबधि नटिक्ने,कुनैपनि सरकारले देश र जनताको भलो गर्ने छाँटछन्द नै नझिक्ने र सधैं ठूला कुरा बाहेक केहि नगर्ने नेताहरुको कुरा चाहिँ अन्तिममा कतै नबिक्ने भएको देख्दा नेताहरुको क्षमतालाई हेरेर यो कृयाकलापलाई लोभीको भाँडो उभिण्डो बोकाको मुखमा कुभिण्डो बाहेक अरु केहि भन्न नसकिने जनताको भनाइलाई अन्यथा लिइराख्न आबश्यक हुँदैन कि?

झगडाको मुख्य बिउ यही भएकोले लुटको आर्जनबाट उपलब्ध भएको घिउ खाँदै यिनले जिउ छोडेरै जानेसम्मका अनेक बखेडा झिकेर कुर्सी हात पार्न धेरै मेहनत गरेको त सडक देखि सदनसम्म सबैले देखे। यस पुनित कार्यको लागि यिनले स्वदेशीदेखि बिदेशीसम्म कसैलाईपनि हारगुहार गर्न बाँकि राखेनन्।

बिदेशीकै दानापानी र उतैको हावापानी अनुसार चल्ने अनि शक्तिमा पुग्नको लागि जहिलेपनि उनिहरुसित हात मल्ने र शक्ति अलिकती कम भएजस्तो लाग्यो कि असुरक्षाको चिन्ताले ढल्ने चलनले गर्दा बिदेशीले औँला ठड्यायो भने लल्याक लुलुक् भएर गल्ने गरेर जिविका चलाउँदै आएका यिनलाई पुर्ब सरकार प्रधानको मिर्गौलाले सारै दुख दिएको हुनाले यिनले बिरोधको बाटो लिएको धेरैलाई लागेपनि जनताले चाहिँ पत्तै पाएका छैनन् भन्ने यिनको सोचाइ आफ्नो ठाउँमा ठिकै होला।

झण्डै डेढ दशकसम्म महा सचिब र अध्यक्ष भएर पार्टी हाँकेका र आफू बाहेक अरु सबैलाई सानो र कमजोर आँकेका बरिष्ठ नेतालाई पनि महाधिबेशनमा पार्टी अध्यक्षको चुनावमा हारेको अनि दलको मर्यादाक्रमबाट अझ तल झारेको रिस फेर्ने ठाउँ खोजिरहेको बेलामा स्वघोषित महान नेता र अर्का वरिष्ठ नेता समेतको सहयोग पाएपछि के चाहियो र?

सरकार प्रधानको अस्वाभाबिक चुरीफुरीले मुरीमुरी रिस उठेपनि तागत नपुगिरहेको बेलामा आफूजस्तै अरुबाट अलिकति आड भरोसा पाएपछि र अब चाहिँ केहि गर्न सकिन्छ भन्ने हिम्मत आएपछि आफूलाई अपमान भयो सम्मान पुगेन भन्ने उद्घोष गर्दै यिनले चरम बिरोध गरे। अर्का वरिष्ठ नेता इलामे कामरेडलाई पनि पहिलेदेखि चित्त नबुझेका बिषयहरु पित्त पखालिने गरि उकेरो लगाउन अरु दुई वरिष्ठहरुको आड भरोसा मिल्यो।

तिनैजना वरिष्ठहरुपनि पूर्ब सरकार प्रधान भइसकेकाले त्यो कुर्सीको राप र ताप राम्रोसित थाहा पाएका ब्यक्तित्वहरु नै हुन्। यिनीहरुको उद्देश्य सकेसम्म र लागे पुगेसम्म बालकोटे कामरेडलाई सरकार प्रधानको कुर्सीबाट हटाउने र आफूलाई त्यसमा बलियो गरि अटाउने अनि देशका लाभदायक ठाउँहरुमा आफ्ना आसेपासेहरुलाई खटाउने मूख्य उद्देश्य रहेको थियो रे भन्ने बजारे हल्ला गाइँगुइँ सुनिएको थियो।

त्यति गर्न नसके तिनैजना मिलेर थर्काउँदै तर्साउँदै डण्डा देखाएर पार्टी र सरकारमा आफू अनुकूलको भागबण्डा गर्न लगाएर फाइदा उठाइ दिमाग ठण्डा बनाउँदै यो सबै जनताको लागि गरिएको हो भन्ने हल्ला ब्यापक रुपमा चलाउने र भबिष्यको चुनावमा पनि यसैगरि भोट फलाउने ज्यादै पबित्र जनहितकारी लक्ष्य लुकेको थियो रे भन्ने पनि सुनिन्छ,खास कुरो त उहाँहरुलाई नै थाहा होला।

वरिष्ठहरुको बाहिरी भित्री देखि लिएर त्यसभित्र लुकेको उद्देश्यहरुलाई समेत बिभिन्न सुत्रहरु मार्फत राम्ररी बुझेका सरकार प्रधानले मिलाप भन्दापनि बिलापको बाटो समातेर आफू सरहका तिनैजनालाई ज्यादै हेपेर औकातहिन देखाउन खोज्दा र पेलेरै ठिक पार्ने बाटो रोज्दा सबैतिर कुरा बिग्रन पुगेको हो कि भन्ने बुद्धिजीबिहरुले पनि सरकार प्रधानका निकै उखाने डायलगहरु पचाउन अनि कोपभाजनबाट आफैलाई बचाउन राम्रै मेहनत गर्न पर्यो रे। राष्ट्र प्रधानको निशर्त र निस्वार्थ सहयोग समेत पाएपछि त यिनलाई छुन र यस्तो पर्यो भनेर रुन पनि पाइँदैन भन्ने प्रमुख प्रतिपक्षीय नेताको भनाइ सही ठहरिन पुग्यो।

झण्डै साँढे तिन बर्षको कार्यकालमा आफ्नो कुर्सीको समेत धरातल रहेको सँसदको दुईदुई पटक बिघटन गरेको, पार्टीमा उठेका समस्याहरुलाई आन्तरिक रुपमा हल नगरि बिभिन्न छल गरेर समस्या सुल्झाउने भन्दा उल्झाउने तिर बढी क्रियाशिल भएको, अस्थायी र पटके राष्ट्रवाद छताछुल्ल भएर छोटो समयमै सामान्य चटके जस्तो स्तर देखिएको, विदेशीसित कुनै हालतमा नझुक्ने गफ दिएर बिश्वास पारेको बचनमा टिक्न नसकेर उतैको इशारामा बिक्न थालेको,आफूमात्रै जान्नेसुन्ने भनेर हेपेको हुनाले सरकार प्रधानहरुको इतिहासमै अदालतमा सबैभन्दा बढि मुद्दा खेपेको, भ्रष्टाचार गर्दिन र गर्न दिन्न भन्दै ठूलोठूलो स्वरमा कराएको सुनेर सबै दंग परेकोमा सबैभन्दा बढि त्यही काम गरे गराएको र आफू निकटका ब्यापारीहरुसित डराएको अनि निकटका नेताहरुका भ्रष्टाचारको छानबिनका कुरा हावामा त्यसै हराएको, नियम कानुन पद्धति आदि सबैलाई जबरजस्ती थिचेर र बिरोध गर्नेहरुलाई ह्याकुलाले मिचेर सबै महत्वपूर्ण नियूक्तिहरुमा आफ्ना आसेपासेहरुलाई नियूक्त गरेको, आप्mनाले जे गरेपनि सोह्रै खत माफ र अरुलाई मिलेसम्म साफ बनाउने नीति अख्तियार गरेको आदि आदि आरोपहरु लागेको जनताले पनि घोइरो घोइरो सुनेका भएपनि अरुको पालामा पनि यस्ता आरोपहरुको ओइरो लागेको हुनाले यसैमा खोइरो खन्नु बेकार छ भन्ने जनताको भनाइलाई गलत भनिहाल्न र त्यस्ताको मुख टाल्न पनि मिल्दैन होला।

स्वघोषित महान नेताको दललाई त अदालतले नै पुरानो ठाउँमा ल्याइदियो र ठूलो पार्टीको नेतृत्व गर्दै सरकार प्रधानको कुर्सी हत्याउँला भन्ने भित्री इच्छालाई उनकै भाषामा सेटिङबाट भ्याइदियो।

यस्तो अबस्थामा आफ्नै कृपाबाट मन्त्रि बनेर सरकारमा पसेका र त्यसैको आधारमा मन्त्री क्वाटरमा आरामसित बसेका केही भित्रियाहरुले मन्त्रि पद त्याग्नुभन्दा पार्टी नै त्यागेर सरकार प्रधानको पार्टीमा पोइल गइदिए। पोइल गएको पार्टीका केही वरिष्ठहरुलाई यो कुरा पचेन र अदालतको आदेशले उनिहरुको मन्त्रि पदपनि बचेन।

वर्तमान अध्यक्ष र पूर्व अध्यक्ष गुटको चरम फुटले दुबैले एकअर्कालाई लगाएको आरोपहरु झुट नदेखिएपनि ठूलो भाग खान पोइल आएका पूर्व खाओबादीहरुको भबिष्य अन्योलग्रस्त छ भन्न कन्जुस्याईं गरिराख्न पर्ला अनि उनिहरुको इच्छा अनुसारको फल झर्ला र उनिहरुको क्षमता हेर्दा यो समस्या सजिलैसित टर्ला भनेजस्तो देखिँदैन।

आपसी स्वार्थ पूरा हुन नसकेको कारणले फुट आएको पार्टी छिटै एकजुट हुन्छ भनेर लागि परेकाहरुलाई अध्यक्ष र पुर्ब अध्यक्षको जुँगाको लडाइँले अप्ठ्यारो पारेको हो कि जस्तो देखिन्छ।

कुन्नि कति बुँदे सम्झौता भयो र यसैबाट पार्टी एकताको बाटोमा गयो भन्ने खबर सुन्नासाथ अध्यक्षले जंगे शैलीको फरमान जारी गरिदिएपछि पूर्व अध्यक्षले अपमान खपेर र अध्यक्षको जयगान जपेर पार्टी एक हुन सक्दैन भन्दै प्रतिक्रिया स्वरुप कुर्लिनासाथ अनि दुवैमा अर्को केही होइन जस्तो भावना उर्लिनासाथ एकता कता हो कता जस्तो देखिन्छ।

दुबैथरी लौ जेसुकै होला भनेर फुट्न पनि नसक्ने र एकअर्काको अस्तित्व स्विकारेर जुट्न पनि नसक्ने तर ठूला कुरा गरेर जनताको समर्थन लुट्न र दिमाग भुट्न मात्रै अग्रसर भएपनि यी दुवैले आफ्नो फाइदाको लागि गफ चुट्न कहिल्यै छोड्दैनन् भन्ने जनताले बुझिसकेका हुन् कि जस्तो देखिन्छ।

निर्वाचनको जनादेश अर्को पक्षमा भएपनि घर बसिबसि अदालतको परमादेशबाट भाग्योदय चिठ्ठा स्वरुप सरकार प्रधानको कुर्सी हात पारेका सरकार प्रधानले पुनस्र्थापित सँसदको पहिलो बैठकमै बिश्वासको मत लिने आँट गरेर पक्का मत पाउँछु भन्ने आत्मबिश्वासी छाँट देखाए।

सरकार प्रधानको कुर्सी बुझाएर बिपक्षी दलको नेता भएका निवर्तमान सरकार प्रधानको पार्टीका विपक्षी साँसदहरुले बिश्वासको मत दिन सक्छन् भन्ने त सबैको अनुमान स्वाभाविक नै हो।

यसमा त सरकार प्रधान हुँदा सबैभन्दा नजिक बसेर अनेक जायज नाजायज काममा दिल खोलेर जुटेका, सरकार प्रधानको नाममा मजाले चारैतिरबाट लुटेका, जस्तोसुकै अपराध गरेको भएपनि सरकार प्रधानको कृपाले त्यसबाट छुटेका र सरकार प्रधानको हितको लागि बिरोधी गुटबाट फुटेका उनि पक्षकै केही माननीयहरुले पनि पार्टीको ह्वीप नटेरी अध्यक्षलाई पुरै अटेरी गरेर विश्वासको मत दिए।

काम देखाएर आफ्नो बनाउने भन्दा नगद र अरु सोचे अनुसारका सुख सुबिधा दिएर आफ्नो बनाउन खप्पिस सरकार प्रधानबाट यसमा राम्रै शुभलाभ भएको हुनपर्छ भन्नेपनि केही उपबुज्रुकहरुको अड्कालबाजी भएपनि जनताले पत्याउने कष्ट गरेका छैनन्।

बिगतमा कसैले हराउन नसकेको नेतालाई उसैेको क्षेत्रमा हराएको, वर्षौँसम्म जानेसम्म सबैखाले सेवा पुर्याएर मन्त्रि हुन पाउँ भनेर धेरैचोटी कराएको, सरकार प्रधानको लागि अपराधि काम समेत गरेको देखेर बिपक्षीहरु डराएको र आफ्ना सबै कामहरु देखेर सरकार प्रधानले ज्यादै मन पराएको जस्तो लागेपनि मन्त्री चाहिँ आफूले नपत्याएकाहरुलाई दोहोर्याएर समेत दिएको भन्ने पनि देखिए।

केहीलाई खाइपाइ आएको मन्त्री पद खोसेको र नजानिदो पाराले भ्रस्टाचारीमा नाम झोसेको अनि आफ्ना बिरोधीलाई पोसेको भन्ने जस्ता लान्छनाले गर्दा रिस उठ्नु स्वाभाविक नै हो। यस्तो अबस्थामा जेसुकै होस् भनेर जता मत हालेपनि पार्टीको  ह्वीप  नमान्न सकिने अदालतको फैसला भएकोले गुन गरेर नुन पारेपछि भोलि मन्त्री भएर सुन फलाउने र आफ्ना सबैखाले गतिबिधिहरुलाई निर्बाध चलाउने मौका आउन के बेर लाग्छ र? भन्ने सोचाइलाई अन्यथा लिन मिल्दैन।

आफ्नो  पार्टीका सबैखाले अपराधीहरुलाई कारागार मुक्त गराउने शर्तमा सरकारको समर्थन गर्दै भएजति लगभग सबै साँसदहरु मन्त्री पद पड्काउन र आर्थिक फाइदाको लागि जनताको नाममा हलो अड्काउन सफल मधेशबादि दलले बिश्वासको मत दिएको हुनाले आफ्नो अबिश्वास बढेको चाहिँ भेउ पाएका छन् कि छैनन् भनेर बुझ्ने फुर्सद कसलाई होला र?

जे जसरी र जे जस्तो गरेर भएपनि सँसदबाट बिश्वासको मत पाएपछि दक्षिणी छिमेकीको बधाइ सन्देश पाएर दग पर्नु र कुनै देवलोकबाट ठूलो आशीर्वाद आएजस्तो गर्नु बाहेक कुनै काम अगाडि नबढाएका सरकार प्रधानले यसभन्दा अघिपनि चारचोटी आफ्नो क्षमता देखाइसकेका हुनाले उनका बारेमा केही भन्नै परेन।

जिम्मेवारी नपाएसम्म केही गर्छु जस्तो गर्ने र जिम्मेवारी पाएपछि बोकाको मुखमा कुभिण्डो परेजस्तो यसोउसोमै कार्यकाल टर्ने उनको बिगत भएकोले कसैले खासै आशा राखेकापनि छैनन् होला। धेरै आकाँक्षी र स्वार्थ समूहका कारणले मन्त्री मण्डल बिस्तार गर्ने काम नै यिनको लागि महाभारत बनेको छ भन्ने हल्लालाई बिश्वास गर्ने हो भने मन्त्रि बनाउन यत्रो सकस परेको ब्यक्तिबाट देश बन्ला र राम्रो सरकार बन्यो भनेर कसैले भन्ला भनेर कसैले सोच्ला जस्तो लाग्दैन।

उसैपनि प्रजातन्त्रको पुनस्र्थापना पछि बहुमतको सरकार,अल्पमतको सरकार, मिलिजुली सरकार, सर्बदलीय सरकार, काम चलाउ सरकार, हुकुम प्रमांगीबाट बक्सिसमा बनेको सरकार, चुनावी सरकार, दुई तिहाइ बहुमतको सरकार हुँदै परमादेशको सरकारसम्म आइपुग्दा कुनैपनि सरकार पूरा अबधि नटिक्ने,कुनैपनि सरकारले देश र जनताको भलो गर्ने छाँटछन्द नै नझिक्ने र सधैं ठूला कुरा बाहेक केहि नगर्ने नेताहरुको कुरा चाहिँ अन्तिममा कतै नबिक्ने भएको देख्दा नेताहरुको क्षमतालाई हेरेर यो कृयाकलापलाई लोभीको भाँडो उभिण्डो बोकाको मुखमा कुभिण्डो बाहेक अरु केहि भन्न नसकिने जनताको भनाइलाई अन्यथा लिइराख्न आबश्यक हुँदैन कि?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *