निजी पुस्तकालय र दश लाख रुपैयाँ ल क्याम्पसलाई दिने प्रा. सुवेदीकाे घोषणा
लण्डन। बेलायतमा विगत तीस वर्षदेखि अन्तर्राष्ट्रिय कानून र मानव अधिकार प्राध्यापन गर्दै आएका प्रा. डा. सूर्यप्रसाद सुवेदीले आफूले प्रकाशन गरेका र विद्यार्थी जीवनदेखि संग्रह गरेका अन्तरराष्ट्रिय कानून र मानव अधिकार सम्बन्धि बहुमूल्य पुस्तकसहित दश लाख रुपैयाँ त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल ल क्याम्पसलाई प्रदान गर्ने घोषणा गरेका छन्।
बेलायतको हल विश्वविद्यालयवाट विशिष्ट श्रेणीमा प्रथम भै स्नातकोत्तर र अक्सफोर्ड विश्वविद्यालयवाट विद्यावारिधि र महाविद्यावारिधि जस्ता उपाधि हासिल गर्दा आफूले अध्ययन गरेका र प्राध्यापनका लागि आफूले संकलन गरेका ग्रन्थहरु प्रा. सुवेदीले आफूले कानूनमा स्नातक गरेको संस्था नेपाल ल क्याम्पसलाई दिने निधो गरेका हुन्। उनले ती सबै पुस्तक आफ्नै खर्चमा नेपाल पठाउने पनि जनाए।
लीड्स, लण्डन र अक्सफोर्ड लगायत संसारका सातवटा विश्वविद्यालयमा प्राध्यापन गरेका प्रा. सुवेदीको निजी संकलनमा रहेका अन्तरराष्ट्रिय स्तरका यस्ता ग्रन्थहरुले नेपालका वर्तमान र भावी पुस्ताका छात्र/छात्राहरु लाभान्वित हुने उनले आशा गरेका छन्।
उनले प्रदान गरेको दश लाख रुपैयाँ सहयोगलाई नेपाल ल क्याम्पसको मुद्दती खातामा जम्मा गरी त्यसको वार्षिक व्याजबाट प्रत्येक वर्ष नयाँ-नयाँ ग्रन्थहरु नेपाल ल क्याम्पसको पुस्तकालयमा थप्दै जाने व्यवस्था पनि गरिएको छ। प्राज्ञिक उन्नयनमा सघाउन अमूल्य सहयोग प्रदान गरेको भन्दै नेपाल ल क्याम्पसले प्रा. सुवेदीलाई हार्दिक धन्यवाद दिएको छ।
Facebook Comment