आधुनिक भाँडा प्रयोगले वीरगञ्जको ताप्के लोप हुँदै
वीरगञ्ज। वीरगंजमा बनेको फलामको ताप्के आजकल लोप हुँदै गएको छ। बढ्दो आधुनिकतासंगै नयाँ खाले भाँडाकुडाको प्रयोगले मुलुकमा पहिचान बनाएको वीरगञ्जको ताप्के आजकल लोप हुन थालेको हो।
परिवर्तित समय अनुसार रेडिमेट भाँडाकुँडाले यति वेला व्यापकता पाएको छ। प्रेसर कुकर र नन स्टिक भाँडाकुँडा निकै रुचाइएका छन् । स्वास्थ्यको लाभहानी विचार गर्ने र आफ्नै उत्पादित भाँडाकुँडा तर्फ कसैको पनि ध्यान अहिले पुग्न सकेको छैन।
स्थानीयस्तरमा नै उत्पादन भएका र आफ्नो पहिचान झल्काउने ताप्के जस्ता फलामे भाँडावर्तन अहिले वीरगंज मै ओझेल परिरहेको यहाँका जेष्ठ नागरिक पर्साको पुर्व अध्यक्ष पशुपति बिक्रम शाहको तर्क छ।
फलामका सामान बनाउने पुख्र्यौली पेशा अंगालेका मानिस अहिले वीरगञ्जको विभिन्न स्थानमा छरिएर रहेका छन्। उनीहरु पनि फलामका अन्य भांडाहरुको तुलनामा ताप्केको निर्माण वर्षमा नगन्य मात्रमा हुन थालेको बताउँछन् ।
सेल, घेवर, जेरी जस्ता मिठाई बनाउन ताई, ताप्केको प्रयोग हुने गर्दछ। वीरगञ्ज अशोक वाटिका स्थित शिवशक्ति आयरनका रमेश ठाकुर ताई ताप्के र कराहीको बिक्रीले मुस्किलले लागत मात्र निस्किरहेको बताउँछन्।
फलामलाई आगोमा गलाएर र त्यसलाई साँचोमा ढालेर विभिन्न आकार प्रकारका फलामका भाँडा बनाइन्छ । धेरै परिश्रम र रातदिन आगोमा बसेर गनु पर्ने काम हो यो उनले भने । धेरै जना त यो पेशा छोडेर पेशाबाटै पलायन भइसके उनले थपे । स्नातक गरेर पनि कतै काम नपाएपछि पुख्र्यौली पेशालाई आफू चाही निरन्तरता दिने निर्णयमा पुगेको उनको तर्क छ।
दुई दशकदेखि फलामको भाँडा र अन्य औजारहरु बनाउँदै आएका राजकुमार लोहार भने अहिले आएर आफ्नो निर्णय गलत रहेको दावी गर्छन्। विगत एक वर्षदेखि कारखाना नै बन्द गरेर अन्यत्र पेशा तर्फ उनी पलायन भएको बताए।
अपेक्षाकृत रुपमा व्यापार नभएपछि उनी आफ्नो कामबाट सन्तुष्ट नभएरै पेशा परिवर्तन गर्न पुगेको दावी गर्छन्। ‘फलामको भाँडाका प्रयोगकर्ताहरु धेरै न्यून भए। वीरगंजको चिनोको रुपमा पहिचान बनाएको ताप्केको बिक्री बजारमा छँदै छैन।
एकाध केही पहाडका व्यापारीहरुले अर्डर गरे मात्रै हो । नत्र व्यापारीहरु आउदैनन् र बजारमा पनि खपत छैन,’ उनले भने। आधुनिक भाँडाहरुको बढ्दो चलनले नै वीरगंजको ताप्के एक जवानाको चिनो मात्रै हुने हो की भन्ने चिन्ता भने बाँकी रहेको उनले तर्क गरे।
प्रेशर कुकरको नेपालमा प्रयोग बढ्न थालेपछि ताप्केको प्रयोग घट्दै गएको व्यवसायीहरुको भनाइ छ। हाल व्यापारीको अर्डर आए मात्र ताप्के बनाउने गरेको उनीहरु बताउँछन्।
ताई, ताप्के मिठाई बनाउनका लागि चाहिने भएकोले वीरगञ्ज र यस आसपासका मिठाई पसल संचालन गर्ने व्यवसयाीहरुले मात्र खरिद गर्ने गरेका छन्। फलामको कराहीको बिक्री पनि ननस्टिक भाँडाको चलनले ह्वात्तै घटेको प्रयोगकर्ताहरु मध्येकी वीरगञ्ज १७ की सावित्री देवीले बताइन्।
अर्का व्यापारी श्याम ठाकुरले मिस्त्री नपाएर अहिलेका लागि कारखाना बन्द रहेको बताए। उनको कारखानामा अर्डर अनुसार मात्र काम हुने र ती सबै अर्डरमा बनेका फलामका भाडाहरु वीरगंज बाहिरका सहरहरुमा पनि जाने गरेका थिए । अहिले भने त्यो स्मरण जस्तो मात्र भएको छ उनले तर्क गरे। ‘अहिले सबै पढेलेखेका युवाहरु फलाम गलाउने काम गर्न सक्दैनन्।
धेरै मेहनत र लगनले एउटा भाडा बन्ने हुदाँ यस्तो व्यवसाय चैपट हुदै गएको उनको भनाइ छ। केही वर्ष अगाडि हिजोको दिनमा मेरो कारखानामा मात्रै एक महिनामा तीनसय किलो फलामको भाडा बन्थ्यो। ती सबै भाँडाहरु राजधानी र बाहिरका ठाउँहरुमा जाने गरेको थियो।
तर अब फाटफुट्ट मात्रै माग आउने गरेको छ । त्यसमा पनि मिस्त्री, कामदारको अभाव छ। आधुनिक भाडाँहरुको प्रयोग बढेपछि परम्परागत भाँडाका रुपमा रहेको ताप्के र कराहीको माग र उत्पादन दुबै घटेको छ। वीरगञ्जमा फलामका घरायसी प्रयोजनका लागि चाहिने सबै सामानहरु अशोक बाटिकामा रहेका यि कारखानाहरुले बताउने गर्दथे।
ताई, ताप्के, कराही बाहेक खल, बाल्टिन, बञ्चरो, खुर्पी, किला, तराजु लगायत अन्य फलामे सामानहरु पनि बनाएर यी व्यापारीहरुले आफ्नो लागत निकाल्ने र जीविको टार्ने गर्दथे । तर अहिले त्यस्तो छैन । माग पनि शुन्य र कामदारको पनि अभावले गर्दा व्यवसाय नै चौपट अवस्थामा छ त्यहाँका फलामको काम गर्ने व्यवसायीहरुले भने ।
पहिले खल र ताई, ताप्केको सबैभन्दा बढि व्यापार तिहारमा हुने गरेको वीरगञ्जको मीनाबजारको सुमन साह ट्रेडर्सका राधेश्याम साहले बताए । त्यो बेला तिहारमा सेल पकाउनका लागि पहाडी समुदायले चामलको पिठो पिस्न खल र पकाउनका लागि ताई, ताप्के खरिद गर्ने गरेका थिए ।
तर अहिले ती समानहरु केही नगन्य व्यक्तिहरुले मात्रै खरिद गर्ने गरेको उनी बताउँछन् । अन्य समयमा ताई ताप्केको बिक्री हुदैन । केही वर्ष अगाडीदेखि तिहारमा मात्रै एकाध विक्री हुने गरेको उनी बताउँछन् ।
तराईबाट पहाडी समुदायहरुको पलायन र विभिन्न बहानामा हुने बन्द र हडतालको कारण पनि ताई ताप्केको व्यापार लोप हुदै गएको उनको भनाई छ । विगतमा वीरगंजमा काम विशेषले आउने तथा पाहुना लाग्न आउनेहरुले पनि कोसेलीको रुपमा यहाँबाट ताप्के किनेर लाने गरेकोमा हाल उनीहरुको आवागमन घटेपछि ताप्केको बिक्रीमा कमी आएको छ । यस्तै स्थिति रहे वीरगञ्जको ताप्के अब सामान्य ज्ञानका पुस्तकमा मात्र सिमिति हुने फलाम व्यवसायीहरुको तर्क छ ।
विज्ञानले समेत प्रमाणित गरेको छ । फलामभन्दा उतम भाँडो कुनै पनि हुन सक्दैन । अरु भाँडोहरुमा रसायन पदार्थ हुने गरेकाले शरीरमा साइड इफेक्ट हुने गर्दछ । तर फलामको भाँडो परम्परागत र विभिन्न अनुसन्धानले स्वास्थ्यका लागि पनि हानीकारक नहुने सिद्ध भएको र हाल सम्म पनि फलामकै भाडा प्रयोग गदै आईरहेका माईस्थान निवासी रत्न शाक्य बताउँछन् । यस बाहेक कुनै पनि भाँडाहरु उतम नहुने उनीहरुको भनाइ छ ।
Facebook Comment