कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित

डिसी नेपाल
१३ साउन २०७८ ६:३६

काठमाडौं। क्रियाशील सदस्यता छानबिन समितिले अपूरो प्रतिवेदन पार्टीलाई बुझाए पनि कांग्रेसको १४ औं महाधिवेशन अनिश्चित बनेको छ। संवैधानिक व्यवस्थाअनुसार भदौ १९ गतेसम्म महाधिवेशन सम्पन्न गर्नैपर्ने बाध्यतामा रहेको नेपाली कांग्रेसमा क्रियाशील सदस्यता र कोरोना महामारीलगायत कारणले संकट देखिएको हो।

क्रियाशील सदस्यता विवाद समितिले प्रतिवेदन मंगलबार पार्टी पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवालाई हस्तान्तरण गरेको छ। तर, अझै केही स्थानमा विवाद कायमै रहेको छ। मंगलबारको बैठकमा विवाद समाधान र महाधिवेशनका सन्दर्भमा कुनै छलफल नभएको कांग्रेस नेता प्रकाशशरण महतले बताए। बुधबार फेरि पदाधिकारी र पूर्व–पदाधिकारी बैठक बस्ने र सो बैठकबाट आवश्यक निर्णय हुने सक्ने उनले बताए।

साउन १२ गतेका लागि तोकिएको गाउँ/नगरको वडा अधिवेशन स्थगित हुनु र नयाँ मिति नतोकिनुले पनि पार्टीको १४ औं महाविधेशन समयमै हुनेमा नेताहरू सशंकित बनेका छन्। महाधिवेशनका बारेमा पार्टीभित्र र बाहिरबाट विभिन्न अड्कलबाजी हुन थालेपछि संस्थापन पक्ष महाधिवेशनका विभिन्न विकल्पमा छलफल गरिरहेको छ।

बर्खाको समय, कोरोना महामारी र देशको पछिल्लो राजनीतिक परिस्थितिलाई मध्यनजर गर्दै महाधिवेशनका सन्दर्भमा बुधबारको बैठकले आवश्यक निर्णय लिनसक्ने बुझिएको छ। तर, कांग्रेसका शीर्ष नेताहरूबीच सो विषयमा सहमति जुट्ने सम्भावना कम देखिन्छ । संविधानले नै भदौ १९ भित्र महाधिवेशन सक्नुपर्ने भनेकाले पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले देउवालाई दबाब दिइरहेको छ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा समितिले क्रियाशील सदस्यताको प्रतिवेदन सभापतिलाई बुझाइसकेकाले अब छिट्टै केन्द्रीय कार्यसमितिको बैठक बसेर नयाँ कार्यतालिका सार्वजनिक गर्ने तयारी रहेको बताउँछन्। नयाँ कार्यतालिकाअनुसार तल्लो तहको अधिवेशन हुने भए पनि पार्टीको महाधिवेशन भने भदौ १६-१९ मा नै सम्पन्न हुने उनले बताए।

कोरोना महामारीको संकट पनि बढिरहेका कारण महाविधेशन गर्दा आउन सक्ने सम्भावित चुनौतीको विषयमा छलफल भइरहेको बताइन्छ। कांग्रेसका एक नेता भन्छन्, ‘संविधानले हामीलाई भदौ १९ भित्र महाधिवेशन सम्पन्न गर्नुपर्छ भनेर बाध्यात्मक अवस्थामा पुर्‍याएको छ । तर, अहिले विभिन्न बाधा अड्चन आइरहेका छन्। यद्यपि, अधिवेशनको मोडालिटी कस्तो बनाउने भन्ने सन्दर्भमा सहमतिको प्रयास भइरहेको छ ।’

सम्भव भए देउवा पक्षले केही समय महाविधेशन पर धकेल्ने प्रयास भने जारी राखेको छ । लकडाउनको समयलाई शून्य अवधि मान्दै महाधिवेशनको मिति केही पर सार्ने विषयमा संस्थापन पक्षभित्र छलफल भइरहेको स्रोत बताउँछ।

यता, पौडेल पक्ष भने राजनीतिमा शून्य समयको महत्व नभएको बताउँछ । ‘पूर्व-निर्धारित समयमा नै महाधिवेशन सम्पन्न गर्नुपर्ने अवस्था छ । लकडाउन अवधिलाई शून्य समय मानेर अगाडि बढ्न सकिने अवस्था छैन’, पौडेलनिकट एक नेताले भने।

कांग्रेसको गत असार ४ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले पार्टीको १४ औँ महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म काठमाडौंमा गर्ने निर्णय गरेको थियो । उक्त कार्यतालिकाअनुसार गाउँ–नगर वडा अधिवेशन आगामी साउन १२ गते, गाउँ÷नगरपालिका अधिवेशन साउन १६ गते र प्रदेशसभा क्षेत्रीय अधिवेशन साउन २० गते गर्नुपर्ने थियो ।

एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २३ गर्ने निर्णय भएको थियो । यस्तै, एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन साउन २६ र प्रदेश अधिवेशन भदौ १ र २ गते निर्धारण गरिएको थियो । कांग्रेसका संरचना टोलस्तरदेखि केन्द्रसम्म आठ तहको हुने गरी विधानमा व्यवस्था गरिएको छ ।

संविधानले सबै राजनीतिक दललाई बढीमा पाँच वर्षभित्र महाधिवेशन गर्नैपर्ने व्यवस्था गरेको छ । कांग्रेस नेतृत्वको कार्यकाल चार वर्षको हुने व्यवस्था छ । चार वर्षभित्र हुन नसके एक वर्ष थप्न सकिने प्रावधान छ । संविधानले पाँच वर्षभित्र गर्न नसके कारण खुलाएर थप ६ महिना बढाउन सकिने व्यवस्था गरेको छ । अहिले कांग्रेस महाधिवेशनको मिति तोकिएको भदौ १९ गते थपिएको ६ महिना पनि सकिँदैछ ।

क्रियाशील सदस्यमा युवा, नेतृत्वमा पुरानै अनुहार हाबी

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा नेतृत्वका लागि पुरानै नेताहरू दाबी गरिरहँदा क्रियाशील सदस्यतामा भने युवाहरूको वर्चस्व देखिएको छ । मंगलबार क्रियाशील सदस्यता विवाद छानबिन समितिले पदाधिकारी बैठकमा पेश गरेको प्रतिवेदनअनुसार क्रियाशीलमा युवाहरूको वर्चस्व देखिएको हो ।

कांग्रेसको कुल सक्रिय सदस्यमध्ये ४१ देखि ६० वर्ष उमेरसमूहका मात्रै तीन लाख २८ हजार बढी रहेका छन् । सो उमेर समूहमा तीन लाख २८ हजार २३४ जना सदस्य रहेको कांग्रेसको क्रियाशील सदस्य विवाद समाधान समितिको प्रतिवेदनले देखाएको छ । यस्तै, २६ देखि ४० वर्ष उमेर समूहमा दुई लाख ४९ हजार ७७४ जना छन् । जसबाट कांग्रेसमा युवाहरूको आकर्षण बढेको देखिन्छ । तर, नेतृत्वमा भने युवाहरूको सहभागिता कमजोर देखिएको छ ।

१४ औं महाधिवेशनमा पनि युवाहरू नेतृत्व चुन्नका लागि मात्रै प्रयोग हुने अवस्था देखिएको छ । अहिले सभापतिलगायत पदाधिकारीका आकांक्षा राख्ने नेताहरू ७० वर्ष आसपासका छन् । कांग्रेसमा १६ देखि २५ वर्ष उमेर समूहका ४० हजार ४२७ जना क्रियाशील छन् । यस्तै, ६१ देखि ७५ वर्ष उमेरका ८३ हजार १० जना छन् भने ७५ वर्षभन्दा माथिका ११ हजार ७८२ जना मात्रै छन् ।

बागमतीमा सबैभन्दा बढी सदस्य

कांग्रेसले सातवटै प्रदेशको विवरण सभापति देउवालाई बुझाएको छ । विवरणअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा सदस्यहरू रहेका छन् । बागमतीमा एक लाख ८६ हजार १४३ सदस्य छन् । यस्तै, गण्डकी प्रदेशमा एक लाख १८ हजार ६३३, लुम्बनीमा एक लाख ३० हजार ८८५ जना क्रियाशील सदस्य छन् । प्रदेश नम्बर १ मा एक लाख ७४ हजार ७८२, प्रदेश नम्बर २ मा एक लाख १२ हजार ९४६ जना सदस्य छन् । त्यस्तै, कर्णाली प्रदेशमा ५४ हजार ५६६ र सुदूरपश्चिम प्रदेशमा ७४ हजार ७५६ जना क्रियाशील छन् ।

अल्पसंख्यकतर्फ कांग्रेसका ६ हजार ८२९ जना क्रियाशील छन् । सभापतिलाई बुझाइएको प्रतिवेदनअनुसार मधेशीतर्फ ९५ हजार १४१, मुश्लिम १६ हजार ९७०, थारूतर्फ २७ हजार ६१५ र अपांगता भएकातर्फ २०१ जना सदस्य छन् । यस्तै, पिछडिएको क्षेत्रबाट १४ हजार ९१४, आदिवासी जनजाति दुई लाख आठ हजार १५९, खसआर्य तीन लाख ६७ हजार ६११ र दलित ४५ हजार ४१७ जना सदस्य छन् ।

करिब साढे चार लाख सदस्य थपिए

सदस्यतासम्बन्धी विवाद रहेका जिल्ला र जनसम्पर्क समितिबाहेक नेपाली कांग्रेसमा चार लाख ४३ हजार ६७८ जना नयाँ क्रियाशील सदस्य थपिएका छन् । केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले मंगलबार सभापति शेरबहादुर देउवालाई बुझाएको प्रतिवेदनमा चार लाख ४३ हजार ६७८ जना नयाँ क्रियाशील वितरण गरिएको उल्लेख छ । जुन यसअघि क्रियाशील रहेको सदस्यभन्दा बढी संख्या हो ।

सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकका अनुसार चार लाख नौ हजार ३३ जना पुराना सदस्यहरूको सदस्यता नवीकरण भएको हो । योसँगै कांग्रेसको कुुल क्रियाशील सदस्यसंख्या आठ लाख ५२ हजार ७११ जना पुगेको छ । अझै विवाद कायमै रहेका जिल्ला र विभिन्न देशका जनसम्पर्क समितिका क्रियाशील सदस्यताको विषय टुंगिन बाँकी छन् । सबै विवाद टुंगोमा पुगेपछि कांग्रेस अझै एक लाख बढी सदस्य थप हुने बताइएको छ ।

१४ औं महाधिवेशनमा रहेको सदस्य संख्या १३ औं महाधिवेशनको भन्दा दोब्बर हो । यसअघि चार लाख ८० हजार मात्रै क्रियाशील सदस्य रहेका थिए । क्रियाशील सदस्य वडा अधिवेशनका मतदाता हुन् । उनीहरूबाटै क्षेत्रीय प्रतिनिधि चुनिएर महाधिवेशनका लागि प्रतिनिधि बन्छन् र केन्द्रीय कार्यसमिति बनाउँछन् ।

केही जिल्लामा विवाद कायमै, अनशन तोडियो

कांग्रेसले क्रियाशील विवाद भने अझै पूर्णरूपले टुंगो लाग्न सकेको छैन । धनुषा क्षेत्र नम्बर ४, सर्लाही २ र बारा तथा सप्तरी जिल्लाको क्रियाशील सदस्यता विवाद अझै कायमै छ । समितिको प्रतिवेदनमा विवाद कायम रहेका क्षेत्रमा विवाद टुंगो लगाउने जिम्मेवारी पार्टीका नेताहरूलाई नै दिइएको उल्लेख गरिएको छ ।

प्रतिवेदनमा भनिएको छ, ‘जिल्लाको क्षेत्र नम्बर ४, सर्लाही जिल्लाको क्षेत्र नम्बर २, बारा र सप्तरीको नयाँ क्रियाशील सदस्यताबारे भने नेताहरूबाट नै आवश्यक निर्णयका लागि अनुरोध गरिएको छ ।’ पार्टीको क्रियाशील सदस्यताको व्यवस्थापन र त्यस सम्बन्धमा आएका उजुरी र गुनासोहरूलाई सम्बोधन गर्न आफू नेतृत्वको छानबिन समितिले तयार पारेको प्रतिवेदन सभापति देउवालाई बुझाइएको समितिका संयोजक लेखकले बताए।

उनले केही निर्वाचन क्षेत्रमा देखिएको समस्या र अरू पार्टीबाट प्रवेश गरेकाहरूको क्रियाशील सदस्यता छानबिन टुंगो लगाउन नसकिएको उल्लेख गर्दै ती विवाद टुंगो लगाउने जिम्मेवारी पार्टी नेतृत्वलाई दिइएको पनि स्पष्ट पारे। संयोजक लेखकले भन्नुभयो, ‘अरू पार्टीबाट प्रवेश गरेका व्यक्तिहरूको विभिन्न ठाउँमा समायोजनको विषय, बारा र सप्तरीको नयाँ क्रियाशील सदस्यता र धनुषाको ४ नम्बर क्षेत्र र सर्लाहीको २ नम्बर क्षेत्रमा भने पार्टी नेतृत्वलाई नैै टुंगो लगाउन पनि प्रतिवेदनमा अनुरोध गरिएको छ ।’

समितिका संयोजक लेखकले सबै जिल्लामा नवीकरण काम सकिएको बताउनुभएको छ । ७५ जिल्लामा क्रियाशील टुंगो लागेको उल्लेख गर्नहुँदै लेखकले विवाद भएका ठाउँमा स्थगित गरिएको बताए। प्रतिवेदनमा समितिकै सदस्य कल्याण गुरुङले फरक मत राखेका छन्। केन्द्रीय कार्य समितिले बनाएको मापदण्डविपरीत छानविन समितिले प्रतिवेदन तयार पारेकाले यसमा आफूले लिखित असहमति जनाएको उनले बताए। हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *