कथा : विद्रोह
हजुरबुबा मलाई कुनै नयाँ कथा सुनाउनुहोस् न है। कहालीलाग्दो कथा, एकादेश बाहेकको कथा, हजुरले देखे–भोगेको कथा। नातिले काखमा पल्टिएर भन्यो।
एउटा भोकको कथा छ सुन्छौ ? हजुरबुवाले नातिको कपाल सुम्सुम्याउँदै सोध्नुभयो।
अ सुन्छु, नातिले मुस्कुराउँदै भन्यो।
एकचोटी सबै जिल्ला पञ्चायतहरूले पाककला सिकाइसम्बन्धी कार्यक्रम ल्याएछन्। हजुरबुबाले कथा सुरु गर्नु भयो। समूह समूह बनाएर केही व्यक्तिलाई जिम्मा दिएछन् र सिकाइमा आवश्यक सम्पूर्ण सामग्रीको प्रबन्ध उनीहरूले नै लिनुपर्ने बताएछन्।
पाकगुरूहरूलाई पारिश्रमिक दिने र सिक्ने चेलाहरूले पारिश्रमिक दिनुपर्ने निर्णय भएछ। निश्चित समयपश्चात कला परीक्षण हुने जानकारी पनि जिल्लाले गराएको रहेछ।
त्यसै बेला गाउँ पञ्चायतले अर्को कार्यक्रम ल्याएछ। अंशबण्डा कार्यक्रम। सम्पूर्ण व्यक्तिहरूलाई जग्गा वितरण गर्ने कार्यक्रम।
अन्य गाउँका पाकगुरुहरूले जग्गा पाइसकेको खबर सुनिसकेपछि हाम्रो गाउँका पाकगुरुले अपमानित महसूस गरेछन्। प्रशिक्षक संगठन बनाएछन् र हामीले पनि छिटो जग्गा पाउनुपर्छ भनेर गाउँ पञ्चायतमा धर्ना दिन थालेछन्।
तर, यता चेलाहरू सिकाई रोकिएको अवस्थामा बसिरहेका थिए।
उनीहरूले धेरै पटक प्रशिक्षकसङ्ग सिकाईको माग गरेछन् । प्रबन्धकहरूले अनुमती नै दिएनछन्।
प्रशिक्षकको पारिश्रमिक धर्नाको बेलामा पनि आउँथ्यो हजुरबुबा?
अ आउँथ्यो नि। यता विद्यार्थीले पनि निरन्तर शुल्क तिरिराख्नु परेको थियो।
साँच्चै गाउँ पञ्चायतले प्रशिक्षकमाथि अन्याय गरेको थियो र हजुरबुबा? नातिले सोध्यो ।
लामो सास फेरेर हजुरबुवाले फेरि बताउन थाले, अँ गरेको थियो। केही हदसम्म। तर प्रशिक्षक संगठनको अडान थियो, अंश नपाउन्जेल सिकाई बन्द।
सिकाई रोकिएकोमा चेलाहरू निराश थिए। अझै निराश के कुरामा थिए भने, गाउँले गर्ने अंशबण्डामा प्रशिक्षकको जति अधिकार थियो, उनीहरूको पनि उत्तिनै अधिकार हुन्थ्यो। तर प्रशिक्षक संगठनको त्यो आन्दोलनले सिकारुमा पर्ने घाटा प्रशिक्षकले किन बुझेनन् भन्ने उनीहरूले बुझ्न सकेनन्।
प्रशिक्षकको दबाबले झण्डै गाउँ पञ्चायत सखाप भयो।
यत्तिकैमा जिल्लाले निर्धारण गरेको सिकाई समय रोकिने भयो। तर अन्य गाउँका सिकारुले सबै सिकिसक्दा हाम्रा गाउँका चेलाहरुले केही सिक्न पाएनन्।उनीहरू पाकगुरु र प्रबन्धसङ्ग औधी रिसाए। रिसले आगो भए। पाकागुरुहरुले सबैको हक लाग्ने कुरामा संगठनको बल देखाए र चेलाको भविष्य अन्धकार पारे।
कला परीक्षण भयो त हजुरबुबा?
भयो नाति। हजुरबुवाले काखको नाति हटाएर पानी पिए र भने।
कला परीक्षण भयो। हाम्रा गाउँका चेलाले मासुको सेकुवा बनाए। त्यो समयपछि ती सङ्गठित पाकगुरु भेटिएनन्। कथा सकियो।
तर कथा पुरै बुझिन हजुरबुबा मैले। नातिले दुवै हात टाउकोमा राखेर भन्यो।
पुरै कथा सधैं बुझिँदैन नाति।नातिलाई धाप मार्दै हजुरबुबा बोले, कथाको सार बुझ्नुपर्छ। भोकासँग जिस्कनु खतरनाक हुन्छ।
अझ ज्ञानको भोकासँग् झुक्किएर पनि नजिस्किनु।
Facebook Comment