नेपालीले एकै दिन खाए ७५ लाख लिटर दूधको खीर

डिसी नेपाल
१६ साउन २०७८ ६:४४

काठमाडौं। साउन १५ अर्थात् खीर दिवसका दिन ७५ लाख लिटर दूध खपत भएको छ। नेपालीहरूले एकै दिन ७५ लाख लिटर दूधको खीर खाएका हुन्। सामान्य अवस्थामा दैनिक २० लिटर दूध खपत हुने गरेकोमा यस दिन भने ७० देखि ७५ लिटर दूध खपत भएको नेपाल डेरी एसोसिएसनका महासचिव प्रह्लाद दाहालले हिमालय टाइम्सलाई बताए।

दाहालका अनुसार विगत वर्षमा साउन १५ मा दूध अभाव हुने गरेकोमा कोरोना महामारीका कारण यस वर्ष भने अभाव भएन। कोरोना महामारीका कारण बढी दूध खपत हुने विद्यालय, पार्टी प्यालेसलगायतका क्षेत्र बन्द रहेका कारण अभाव नभएको हो। त्यसो त साउन १५ कै लागि भनेर गाईभैंसीले अन्य दिनको तुलनामा बढी दूध दिँदैनन्।

डेरी उद्योगहरूले नै त्यसको व्यवस्थापन गर्ने गरेका छन्। साउन १५ लाई नै केन्द्रित गरेर डेरी उद्योगहरूले १५ दिनअगाडिदेखि नै दूध स्टोर गर्ने भएकाले सो दिन मागअनुसारको आपूर्ति सम्भव भएको महासचिव दाहालले बताउनुभयो । दाहालका अनुसार दैनिक देशभर ६२ लाख लिटर दूध उत्पादन हुने गरेकोमा डेरीमा ३१ लख लिटरमात्रै आउने गरेको छ । जसमध्ये २० लाख लिटरमात्रै दूधका रूपमा र बाँकी दही, आइसक्रिम र मिठाइलगायतमा खपत हुने गरेको छ।

दूधको बजार प्रवद्र्धनका लागि यस वर्षदेखि राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ गतेलाई खीर दिवसका रूपमा मनाउन सुरु गरेको छ । बोर्डले सरोकारवाला निकाय पशु सेवा विभाग, दुग्ध विकास संस्थान, केन्द्रीय दुग्ध सहकारी संघ, नेपाल डेरी एसोसिएसन, डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छी पालन सहकारी संघ तथा नेपाल डेरी साइन्स एसोसिएसनको संलग्नतामा संयुक्तरूपमा खीर दिवस मनाएको छ ।

खीर दिवसले दूध तथा दुग्धजन्य पदार्थको प्रवद्र्धनमा सहयोग पुग्ने आयोजकको अपेक्षा रहेको छ । पोषणयुक्त दूध तथा दुग्ध पदार्थको उपभोग वृद्धिका लागि प्रचारप्रसार गर्ने, दूध तथा दुग्ध पदार्थको गुणस्तर कायम गर्न सचेतना जगाउने, दूध तथा दुग्ध पदार्थ सबैको पहुँचमा पुर्‍याउने, दूध तथा दुग्ध पदार्थको उपभोगमार्फत् खाद्य पोषण सुरक्षणमा सुनिश्चित गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ खीर दिवस मनाउने निर्णय गरिएको बोर्डले जनाएको छ ।

बोर्डका अनुसार नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब एक तिहाइ अर्थात् ३१.६९ प्रतिशत रहेकोमा दुग्ध क्षेत्रकोे करिब नौ प्रतिशत योगदान रहेको छ । दूध तथा दुग्ध पदार्थले घरेलुस्तरमा भोजन र पोषण सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको छ । ग्रामीण रोजगारी सिर्जना गर्न तथा सहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा रकम प्रवाह सुनिश्चित गर्न पनि दूधको महत्वपूर्ण भूमिका रहेको छ । दूध मानव जीवनका लागि अति उत्तम खाद्यपदार्थ हो ।

दूधमा चिल्लो पदार्थ, प्रोटिन, कार्बोहाइड्रेड, खनिज र भिटामिनलगायत शरीरका लागि अति आवश्यक तत्व पाइने भएकाले दूधलाई एक सम्पूर्ण खाद्यपदार्थका रूपमा लिने गरिएको छ । मानव स्वास्थ्यका लागि आवश्यक क्याल्सियम, फस्फोरस, म्याग्नेसियम, क्लोरिन, पोटासियम, सोडियमलगायत खनिज पदार्थसमेत दूधमा पाइन्छ ।

प्रति सय ग्राम प्रशोधित दूधबाट करिब ६० क्यालोरी प्राप्त हुन्छ । सामान्यतया सय ग्राम खिरबाट ९२ क्यालोरी प्राप्त हुन्छ भने पानी ८८.९ ग्राम, काबोहाईड्रेड १६.४ ग्राम, प्रोटिन ३.३ ग्राम फ्याट १.३ ग्राम फाइबर ०.१ ग्राम प्राप्त हुन्छ । विश्वमा खिर खाने प्रचलन १४ औं शताब्दीदेखि छिमेकी मुलुक चीनबाट प्रचलन सुरु भएको बताइन्छ । हाल खिर विश्वका प्रायजसो मुलुकमा उपयोग हुँदै आएको छ ।

नेपालको कुल गार्हस्थ्य उत्पादनमा कृषि क्षेत्रको योगदान करिब एक तिहाइ अर्थात् ३१.६९ प्रतिशत रहेकोमा दुग्ध क्षेत्रको करिब नौ प्रतिशत योगदान रहेको छ । दुग्ध क्षेत्रले ग्रामीण रोजगारी सिर्जनाका साथै सहरी क्षेत्रबाट ग्रामीण क्षेत्रमा रकम प्रवाहमा समेत महत्वपूर्ण भूमिका खेल्दै आएको छ। हिमालय टाइम्स दैनिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *