वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने अभिमुखीकरण तालिम पुनःबन्द
काठमाडौं । कोरोना महामारीको सङ्क्रमण बढ्दै गएपछि वैदेशिक रोजगारीमा जाने श्रमिकलाई भौतिक उपस्थितिमा दिइने अभिमुखीकरण तालिम पुनःबन्द गरिएको छ । कोरोना सङ्क्रमण रोकथामको लागि भन्दै उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले साउन २८ देखि भदौ ८ सम्म निषेधाज्ञा थप गर्दै यस्ता तालिम सञ्चालनमा रोक लगाएको हो ।
अब यहि साउन २८ गतेदेखि विदेश जानेले भौतिक उपस्थितिमा तालिम लिन नपाउने भएका छन् । विदेश जानेहरूले हाल दुुई दिने भौतिक उपस्थितिमा नै तालिम लिनुपर्ने बाध्यता छ तर तालिम नै लिन नपाउने भएपछि विदेश जानका लागि अन्तर्वार्ताबाट छनोट भएका, भिसा आएका श्रमिकले श्रम स्वीकृति लिन पाउने छैनन् ।
अभिमुखीकरण तालिम प्रदायक संस्था देशका विभिन्न जिल्लामा सञ्चालनमा रहे पनि धेरै सङ्ख्यामा काठमाडौँ उपत्यकामा नै रहेका छन् । यद्यपि काठमाडौँ उपत्यकामा तालिम लिन निषेध भए पनि अन्य जिल्लामा रहेका तालिम केन्द्रबाट तालिम लिन सकिने अवस्था भने कायमै छ ।
Facebook Comment