ऋषितर्पणी, रक्षाबन्धन र जनै पूर्णिमा पर्वकाे धार्मिक महत्व

डिसी नेपाल
६ भदौ २०७८ ७:०९

हाम्रो वैदिक परम्परामा श्रावण शुक्ल पूर्णिमा तिथिलाई विशेष प्रकारले मान्यता दिँदै आइरहेको पाइन्छ। यस पर्वलाई श्रावणी पर्व पनि भनिन्छ। खास गरी यस तिथिमा द्विजातिले ( ब्राह्मण, क्षत्री र वैश्य) विशेष गरी यो पर्व मनाउँछन्।

व्रतबन्धद्वारा मानवलाई द्विजातिमा रूपान्तरण गरिएको हुन्छ। यस दिनमा गायत्री मन्त्रको विशेष महिमा छ। गुरुद्वारा प्राप्त गायत्री मन्त्र सिद्धिका लागि र ब्रह्मतेज वृद्धिका लागि यो दिनमा ऋषिहरूको तर्पण गरिन्छ।

वेदशास्त्र नै ऋषिहरूको देन हो। शास्त्र नै हिन्दु दर्शन, धर्म संस्कृतिको मेरुदण्ड हो। आर्ष वाङ्मय नै हाम्रा सम्पूर्ण शास्त्र हुन्। सके सधैँ नसके वर्षको एकपटक ऋषिको स्मरण र तर्पण गर्नाले हाम्रो अन्तःकरण शुद्धि हुने हुँदा ऋषितर्पणीपर्वको विशेष महिमा रहेको छ।

ऋषितर्पणीको दिनभन्दा पूर्व दिनमा नै द्विजातिले एकभक्त रही कपाल, नङकाटी शुद्ध रही एकछाक फलाहार गरी व्रतको अनुष्ठानमा बसेको हुनुपर्छ। ऋषि तर्पणीका दिन बिहानै सप्तमृत्तिका र गोमुत्रले स्नान गरी सके नदी किनारमा नसके धारा, कुवा तलाऊ आदिमा गई वेद मन्त्रोच्चारणसहित ऋषिहरूको तर्पण गर्नुपर्दछ।

त्यो ऋषि तर्पणीको दिनलाई जनै पूर्णिमा भनिएकाले त्यो दिनमा पुरानो जनै त्यागी नयाँ जनै धारण गर्ने र आह्निकमा बताए बमोजिम ऋषि तर्पण गरेमा ऋषिऋणबाट मुक्ति मिल्ने कुरा शास्त्रमा उल्लेख गरिएको पाइन्छ ।

ऋषितर्पणी पश्चात् रक्षाबन्धन धारण गर्ने चलन रहेको पाइन्छ। वेदका मन्त्रद्वारा मन्त्रणा गरिएको रक्षा बन्धनले धर्म ,अर्थ काम र मोक्ष यी चतुर्विध साधन सहित मानिस शरीरको समेत रक्षा हुने हुनाले रक्षा बन्धन भनिएको हो।

यदि श्रावण शुक्ल पूर्णिमा तिथिमा ग्रहण लागे अथवा सूर्य सक्रान्ति परे ऋषि तर्पणी आदि श्रावणी उपाकर्म नाग पञ्चमीकै दिन गर्नुपर्ने हुन्छ भन्ने कुरा धर्मशास्त्रमा लेखिएको छ। त्यसै दिन नयाँ बनाइएको जनै र रक्षाबन्धनका धागालाई रुद्राभिषेकको जलले सेचन गरी मन्त्रणा गरेपछि मात्रै त्यो मन्त्रणा गरिएको जनै, धागो धारण गर्न योग्य मानिन्छ। मन्त्रणा गरिएको जनै धारण गर्दा वेदका निम्न मन्त्रले धारण गर्ने चलन छ।

यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत्सहजं पुरस्तात्।
आयुष्यमग्र्यं प्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः।

यो मन्त्रले जनै धारण गर्ने चलन रहि आएको छ। त्यस्तै पुरानो जनै त्याग गर्दा यो मन्त्र प्रयोग गरिन्छ।

एतावद्दिनपर्यन्तं ब्रह्त्वं धारितं मया।
जीर्णत्वात्तत्परित्यागो गच्छ सूत्र यथा सुखम्।।

त्यस्तै गरी रक्षाबन्धन धारण गर्दा निम्न मन्त्रले धारण गर्ने चलन छ।

येन बद्धो बलिराजा दानवेन्द्रो महाबलः।
तेन त्वं प्रतिगृण्हामि रक्षमा चलमा चल।

यसै गरी यही ऋषितर्पणीका दिनमा हाम्रो नेपाली समाजमा मास, चना,भटमास, वकुल्ला, केराऊ, मुगी, मस्याङ आदि गेडागुडीलाई तीनचारदिन अघिदेखि नै भिजाएर टुसा उम्रेपछि पकाउने चलन छ। टुसा उम्रेको गेडागुडीलाई क्वाँटी भन्ने चलन छ।

हिजोआज सबै नेपालीका घर घरमा ऋषितर्पणीका दिनमा क्वाँटी पाकाउने चलन रहिआएको पाइन्छ । क्वाँटीबाट प्रोटिन मिल्दछ यसले तागत दिन्छ। यसै दिन ब्राह्मण , कन्या कुमारी, आ–आफ्ना गुरुपुरोहितलाई टीका माला दक्षिणा गरी सत्कार गरी भोजन गराउने चलन छ। यसै दिनमा तराई क्षेत्रमा दिदीबहिनीहरूले आफ्ना दाजुभाइहरूलाई राखिबाँधिदिने चलन पनि चलि आएको पाइन्छ।

यही ऋषितर्पणीका दिनमा देशका विभिन्न तीथस्थलहरूमा रहेका शिवालयहरूमा विशेष जात्रा तथा मेला लाग्ने चलन पनि चलिआइरहेको छ । काठमाण्डौ जिल्लामा पशुपतिनाथ, पाटनको कुम्भेश्वर, शिवपुरीमा रहेको मणिचूड , रसुवा जिल्लामा रहेको गोसाईँकुण्ड, सिन्धुपाल्चोक जिल्लामा रहेको पाँचपोखरीमा त्यो दिन ठूलो मेला लाग्दछ।

पाँच पोखरी मेलामा आउने तीर्थालुलाई निःशुल्क चौँरी गाईको दही र चिउरा खुवाउने परम्परा रहिआएको छ र यो चाहिँ स्थानीय गूठी अनुसार व्यवस्था गरिएको हो । विशेष गरी तामाङ जातिमा धामी झाँक्रीहरूले आ –आफ्ना कूल देवताको पूजा गरी जामा, पगरी लगाई घण्टा माला रुद्राक्ष र रिट्ठाका माला लगाई मन्त्रसिद्ध गरी समूह समूह मीलेर ढ्याङ्ग्रो बजाउँदै जात्रा जाने चलन छ।

त्यसै दिन आ–आफ्ना खेत बारीमा रहेका सीमे भूमे देउराली देवताको पूजा गरी नवान्न ( मकै) फलफूल चढाएपछि मात्रै नयाँ अन्न खाने चलन छ। विशेष गरी पहाडीया समूदायमा ऋषि तर्पणीकै दिनमा नयाँ मकै देवतालाई चढाउने दिनको रूपमा पनि लिइन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *