एकताको पाँच वर्षपछि माओवादी केन्द्रले प्रक्रिया टुंग्याउँदै !

डिसी नेपाल
७ भदौ २०७८ ७:५९

काठमाडौं। नेकपा एमालेसँगको एकता भंग भएपछि नेकपा माओवादी केन्द्रले पार्टीको संगठन निर्माणलाई तीव्रता दिन थालेको छ। नेपाली कांग्रेस लगायतका दलहरूसँग गठबन्धन बनाएर सरकारमा रहेको माओवादी केन्द्रले पार्टीको संगठन निर्माण र एकता प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको हो।

पार्टीलाई व्यवस्थित र विधिसंगत् रूपले सञ्चालन गर्दै अन्य कम्युनिष्ट शक्तिहरूसँग एकता र ध्रुवीकरणको पहल थाल्ने निर्णय पनि माओवादी केन्द्रले गरेको छ। आइतबार बसेको सो पार्टीको स्थायी कमिटी बैठकले अन्य कम्युनिष्ट शक्तिहरूसँग एकताका लागि वार्ता गर्न पहल गर्ने निर्णय गरेको पनि प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए।

उनले भने, ‘पार्टीलाई व्यवस्थित गर्ने, विधिसंगत ढंगले, संस्थागत ढंगले सञ्चालन गर्ने र यसको क्रान्तिकारी रूपान्तरण गर्ने कुरालाई केन्द्रबिन्दूमा राख्दै अरू सबै कम्युनिष्ट क्रान्तिकारी शक्तिहरूसँग पनि एकता र ध्रुवीकरणको निम्ति वार्ता गर्न, पहल गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने पनि निर्णय गरेको छ।’

यस्तै, पटक–पटक विभाजन र एकताको सामना गर्दै आएको माओवादी केन्द्रले पछिल्लो पटक एकता भएका दलहरूको एकताको प्रक्रिया टुंगो लगाउन कार्यदलसमेत गठन गरेको छ । स्थायी समिति बैठकले एकता प्रक्रिया टुंग्याउन तीन सदस्यीय कार्यदल गठन गरेको हो।

०७३ सालमा विभिन्न माओवादी घटकबीच एकता भएपछि तत्कालीन एकीकृत नेकपा माओवादी पार्टी ‘माओवादी केन्द्र’ बनेको थियो । माओवादी केन्द्र बनेको पाँच वर्षपछि बल्ल सो पार्टीले एकता प्रक्रिया टुंगोमा पु¥याउन कार्यदल बनाउने निर्णय गरेको हो।

एकता प्रक्रिया टुंग्याउन गठित कार्यदलमा वर्षमान पुन, गिरिराजमणि पोखरेल र श्रीराम ढकाल सदस्य रहनुभएको माओवादी केन्द्रका स्थायी कमिटी सदस्य गणेश शाहले बताए। ०७३ सालमा माओवादी घटकबीच भएको एकीकरण प्रक्रिया टुंगोमा नपुग्दै २०७५ सालमा तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकता भएको थियो।

एकीकरण हुँदादेखि नै अवरुद्ध रहेको एकता प्रक्रियालाई पूर्णता दिने विषयमा अध्ययन गरी प्रतिवेदन तयार गर्न कार्यदल गठन भएको हो ।

रिक्त रहेको पदाधिकारी तोक्यो

माओवादी केन्द्रले विभिन्न प्रदेशका रिक्त रहेका पदाधिकारी र जिल्ला इञ्चार्ज तोकेको छ । आइतबार बसेको माओवादी केन्द्रको स्थायी कमिटीको बैठकले विभिन्न प्रदेशमा रिक्त रहेको पदाधिकारी तथा सबै जिल्लामा इञ्चार्ज तोकेको हो।

बैठकले विभिन्न विभागअन्तर्गत प्रमुख पनि तोकेको प्रवक्ता श्रेष्ठले बताउनुभयो । जिल्ला समन्वय समितिको संयोजक तोक्ने काम भने सम्बन्धित प्रदेशलाई दिइएको छ।

प्रवक्ता श्रेष्ठले भने, ‘विभिन्न प्रदेशका रिक्त पदाधिकारीहरू, जिल्ला समितिका जसलाई अहिले जिल्ला समन्वय समितिमा रूपान्तरण गरिएको छ, इञ्चार्जहरू तोक्ने काम भएको छ । त्यसैगरी, पार्टीका विभिन्न विभागहरूको प्रमुखहरू तोक्ने काम भएको छ ।

त्यसो गर्दा कतिपय जिल्लाहरूमा केन्द्रीय समितिका सदस्यहरू नभएको जिल्लाहरूमा केन्द्रीय प्रतिनिधि तोकेर उहाँहरूलाई इञ्चार्जको जिम्मेवारी दिइएको छ। जिल्ला समन्वय समितिका संयोजकहरू तोक्ने काम भने सम्बन्धित प्रदेश समितिलाई नै दिइएको छ।’

माओवादीले केन्द्रले प्रदेश नम्बर २ मा गणेश साहलाई इञ्चार्जको जिम्मेवारी दिएको छ। यस्तै, बागमतीमा हितमान शाक्य र गण्डकीमा हितराज पाण्डेलाई प्रदेश इञ्चार्जको जिम्मेवारी दिएको छ । यस्तै, लुम्बिनी प्रदेशमा चक्रपाणी खनाल, कर्णालीमा शक्तिबहादुर बस्नेत र सुदूरपश्चिम प्रदेशमा खगराज भट्टले जिम्मेवारी पाएका छन्।

बैठकले पुस ११ देखि सुरु हुने केन्द्रीय सम्मेलनलाई लक्षित गरी सबैलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो । यस्तै, केन्द्रीय समितिका सदस्यहरू नभएको जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर उनीहरूलाई इञ्चार्जको जिम्मेबारी दिइएको उनले बताए। सबै केन्द्रीय समिति सदस्यहरूलाई जिम्मेबारी दिइएको र प्रदेश कमिटीका सदस्यलाई पनि जिम्मेबारी दिइएको छ । हिमालय टाइम्स दैनिकबाट

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *