काठमाडौं उपत्यकाको निषेधाज्ञा एक हप्ता थप्ने तयारी

डिसी नेपाल
८ भदौ २०७८ १३:२०

काठमाडौं। काठमाडौं उपत्यकामा एक हप्ता निषेधाज्ञा थप गर्ने तयारी भएको छ। काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा आज रातिबाट समाप्त हुने भएपछि एक हप्ता निषेधाज्ञा गर्ने तयारी भएको हो। त्यसका लागि उपत्यकाका तीनवटा जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक आज तीन बजे बस्दैछ।

काठमाडौं जिल्ला प्रशासन स्रोतका अनुसार अहिले कै मोडालिटीलाई कायम राखेर निषेधाज्ञा एक हप्ता थप गर्ने तयारी भएको छ।
स्रोतका अनुसार आगामी दिनमा विशेषगरी मेला महोत्सव र जात्राहरुलाई पूर्णरुपमा रोक लागइने छ। अन्य क्षेत्रका लागि स्वास्थ्यका मापदण्डहरु पूर्ण रुपमा पालना गर्न लगाइने छ।

यदि स्वास्थ्यका मापदण्डहरु पालना नगरेको पाइएमा कारवाही समेत गरिनेछ।  गत चैत्रबाट कोरोनाको दोस्रो लहर सुरु भएपछि बैशाख १६ गतेदेखि निषेधाज्ञा लागू गरिएको थियो। दुई महिनाको पूर्ण निषेधाज्ञापछि असारबाट वैज्ञानिक निषेधाज्ञामा परिणत गर्दै लिभिङ विथ कोरोनाको रणनीति अनुसार काम भइरहेको छ।

काठमाडौंका अस्पतालहरुमा आउने बिरामीहरुको संख्या बढिरहेको छ। भने कोरोनाको पोजेटिभिटी दर पनि बढ्दो क्रममा रहेको छ। काठमाडौं, ललितपुर र भक्तपुर तीनवटा जिल्लाहरुलाई एउटै क्षेत्र मानेर तीन जिल्लाका प्रजिअहरुको बैठकले निषेधाज्ञा सम्बन्धी निर्णय गर्ने गरेका छन्।

काठमाडौं उपत्यकामा हालसम्म १० हजार आठ सय ३३ जना सक्रिय संक्रमित रहेका छन्। काठमाडौंमा सात हजार एक सय ८२, भक्तपुरमा एक हजार चार सय ११ र ललितपुरमा दुई हजार दुई सय ४० जना सक्रिय संक्रमित रहेका छन्।

काठमाडौंमा जम्मा दुई लाख ३१ हजार चार सय ४५ जनामा संक्रमण पुष्टि भएको छ भने २ हजार ५८ जनाले ज्यान गुमाएका छन्। यस्तै, दुई लाख २२ हजार दुई सय ५ जनाले कोरोना जितेका छन्।

यस्तै, भक्तपुरमा २६ हजार आठ सय ८७ जनामा संक्रमण पुष्टि भएको छ। २५ हजार ७१ जना निको भए भने चार सय पाँच जनाले ज्यान गुमाएका छन्। ललितपुर जिल्लामा पनि ६ सय ३१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

ललितपुरमा हालसम्म ४४ हजार सात सय ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ४१ हजार नौ सय २४ जना निको भएर घर फर्केका छन्।

हालसम्म नेपालमा कोरोनाको महामारीबाट ज्यान गुमाउनेको संख्या १० हजार पाँच सय ३३ पुगेको छ। जम्मा सात लाख ४८ हजार नौ सय ८१ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। पुष्टि भएका मध्ये १ प्रतिशतले ज्यान गुमाएका हुन्।

यस्तै संक्रमित मध्ये ९३ दशमलव ४७ प्रतिशले कोरोनाको संक्रमण जितेका छन्। संक्रमण पुष्टि भएको संख्याले आउने सात लाख ९७ जनाले कोरोनाको संक्रमण जितेका हुन्। यस्तै हालसम्म ३८ हजार तीन सय ५१ जना उपचाररत छन्।

सक्रिय संक्रमित मध्ये ३५ हजार बढी होम आइसोलेसनमा रहेका छन्। यस्तै, संस्थागत आइसोलेसनमा तीन हजार बढी छन्। छ सय ७९ जना विभिन्न अस्पतालको आइसीयूमा उपचाररत छन् भने एक सय ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *