अझै पक्राउ परेनन् डाक्टरलाई मोसो दल्ने, स्वास्थ्यकर्मीको आन्दोलन जारी
दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा तनावग्रस्त भएको छ । राप्ती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर विनोद सिंहलाई अनेरास्ववियु दाङ संयोजक लगायतले कालो मोसो दलेर अभद्र व्यवहार गरेपछि अस्पतालमा तनावग्रस्त भएको हो ।
त्यसको विरोधमा स्वास्थ्यकर्मीहरुले आकस्मिकबाहेकका अन्य सेवा ठप्प पारेर सडकमा विरोध र्याली गरेका छन । घटनापछि अस्पतालका चिकित्सक तथा कर्मचारीहरु दोषीलाई कारबाहीको मागसहित आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकको आन्दोलनका कारण सेवा अवरुद्ध छ ।
अभद्र व्यवहार गर्नेलाई कारबाहीको माग गर्दै डाक्टर, नर्स र स्वास्थ्यकर्मी सडकमा उत्रिएका हुन् । तुलसीपुर क्षेत्रमा कार्यरत झन्डै तीन सयभन्दा बढी डाक्टर, नर्स र स्वास्थ्यकर्मी काम छोडेर न्यायको माग गर्दै सडकमा उत्रिएका हुन् ।
अस्पतालमा कार्यरत डाक्टर नर्सहरुले ‘वी वान्ट जस्टिस्, डाक्टर, नर्स र स्वास्थ्यकर्मीलाई दुर्व्यवहार गर्नेहरू– मुर्दावाद’ लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका थिए ।
तुलसीपुरको बजार परिक्रमापछि राप्ती प्रादेशिक अस्पतालको प्राङ्गणमा पुगेर कोणसभा गरेका थिए।
मेसु सिंहमाथि गरिएको अभद्र व्यवहारले सबै स्वास्थ्यकर्मीको अपमान भएको बताएका थिए । अस्पतालभित्र सुरक्षा चुनौती थपिएको बताउँदै दोषीलाई कानुनी कारबाहीकोसमेत माग गरेका थिए । दोषीलाई कारबाही नहुँदासम्म अस्पतालमा काम गर्ने वातावरण नहुने अस्पताल सञ्चालन समितिका अध्यक्ष पदम प्रसाद न्यौपानेले बताए ।
एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनका जिल्ला संयोजक सर्जन परियार र सहसंयोजक दिवस क्षेत्रीको समूहले ११ भदौ दिउँसो साढे १ बजेतिर मेसु सिंहलाई कार्यकक्षमै प्रवेश गरी कालोमोसो दलेका थिए।
Facebook Comment