२३ वर्षपछि झर्‍यो पहिरो

डिसी नेपाल
१४ भदौ २०७८ २३:२८

काठमाडौं । रुपन्देहीको बुटवल उपमहानगरपालिका–३ स्थित ज्योतिनगरमा २३ वर्षपछि चुरे पहाडको पहिरो झरेर सिङ्गो बस्ती नै प्रभावित पारेको छ । दुई दिनदेखि परेको लगातारको वर्षाका कारण आइतबार बिहानदेखि बस्तीमाथि रहेको चुरे पहाडबाट खसेको पहिराले त्यस क्षेत्रका तीन दर्जनभन्दा बढी घरमा क्षति भएको छ ।

आज बिहानैदेखि परेको वर्षाका कारण थप सात घरमा क्षति पुगेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । पहिराले स्थानीय तुलसा सुवेदी, यमबहादुर पुन, मन कुमारी शर्मा, ईश्वरा पाण्डे, रोशन राणा, अम्मर विक र सीता थकालीको घर पुरेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । चुरे पहाडबाट झरेको लेदोसहितको पहिरो त्यस क्षेत्रका अन्य धेरै घरमा पसेर क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

सो क्षेत्रको पहिराले बुटवलका मुख्य सडकमा र बजार क्षेत्रसम्म बगेको छ । लेदो माटोसहितको पहिरो बजार क्षेत्रमा बगाएर ल्याएकाले लक्ष्मीनगर, गोलपार्क क्षेत्रमा आवागमनमा समस्या भएको छ भने बिजुलीका पोलमा क्षति पुर्‍याएको छ ।

पहिराबाट मानवीय क्षति भने नभएको र मानवीय क्षति हुन नदिन नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोलीले स्थानीयलाई नजिकै रहेको बुटवल बहुमुखी क्याम्पसमा सारेर अस्थायी रूपमा बस्ने व्यवस्था मिलाएको र जनधनको क्षतिबाट जोगिन आफन्तका घरमा आश्रय लिएका छन् । उनले बुटवल उपमहानगरपालिका हुँदै बग्ने तिनाउ र दानव नदीले नगरका वार्ड नं ११ का बुद्धनगर, वार्ड नं १६ को बैठौलिया, १५ को विभिन्न क्षेत्रमा नदी कटान, सडक, पुलमा क्षति पुर्‍याएको बताए ।

सो क्षेत्रमा विसं २०५५ भदौ २० गते चुरे पहाडको पहिरो खसेर ५७ घरमा क्षति पुर्‍याएको थियो । उक्त पहिराले त्यस क्षेत्रको बस्ती नै विस्थापित भएको थियो । विस्तारै पहिरो खस्नेक्रम रोकिँदा स्थानीय बासिन्दाले घर बनाएर बस्न थालेपछि बस्ती पुनः स्थापित भएको हो ।

यस्तै बुटवल उपमहानगरपालिका–२ पूर्वपश्चिम राजमार्ग क्षेत्रको जितगढी, पाखापानीमा राजमार्गमाथिको चुरे पहाडबाट खसेको पहिराले राजमार्ग क्षेत्रमा क्षति पुर्‍याएको छ । सो क्षेत्रमा गत महिनादेखि लगातार पहिरो झर्ने क्रम नरोकिएको र पहिराका कारण सडक छेउका बस्ती निकै जोखिमपूर्ण रहेका छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *