करिश्मा मानन्धरले सुनाइन् अहिले स्कुल जाँदाको अनुभव
ललितपुर । चलचित्रमा पटकपटक सशक्त महिलाको भूमिका निभाएकी करिश्मा मानन्धरले वास्तविक जीवनमा भने कहिल्यै आफ्ना कुरा राख्न सकिनन्।
दुई दशकसम्म गुम्साएर राखेका पीडा अचेल उनले खुलेरै भन्न थालेकी छिन्। उनी जस्तै अधिकांश महिलासमेत आफूले भोगेको असमान व्यवहारका बारेमा बोल्न नसकेको उनको अनुभव छ। नयाँ शक्ति पार्टीका केन्द्रीय सदस्यसमेत रहेकी उनी गाउँगाउँमा पुगेर महिलाको अवस्था देख्दा झनै दुःखी भइन्।
आमाले भोगेको समस्याका बारेमा उनले भनिन्, “एकल महिला भएकै कारण आमाले सम्पत्ति नपाउँदा उनकोे अधिकार खोज्न सकिएन।” जीवन निर्वाहका लागि आमासंगै आफू पनि कठिन परिश्रम गरेको स्मरण गर्दै नायिका मानन्धरले आमालाई आर्थिक सहयोग गर्न आफू सानै उमेरमा प्रति महीना रु तीन सय कमाउनका लागि मजदूरी गरेको बताइन्।
चौध वर्षको उमेरमा चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका मानन्धरले १८ वर्षको हुँदा विनोद मानन्धरसँग विवाह बन्धनमा बाँधिएकी थिइन। श्रीमान्भन्दा आफू धेरै कान्छी भएकाले उनको आँखामा सधैँ केही नजान्ने भइन्।
“अहिलेसम्म पनि श्रीमान्का आँखामा आफू त्यही १८ वर्षीया करिश्मा केही नजान्ने रहेकी छु”, उनले भनिन्, “यतिसम्म कि बैँकको चेकमा सही गर्दा हतारिएर श्रीमान्ले तिमी जान्दैनौँ भन्ने गर्नुहुन्छ।”
कामको दौडानमा यी दुई दशकमा उनले कहिल्यै पछाडि फर्किएर हेरिनन्। “गत वर्ष सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा श्रीमानले आफ्नो मतदाता नामावली राजविराजबाट नसारेको कुरा बोलिन्।, मिडियामा पनि यो विषय निकै चर्चित बन्यो, कतिपयले उनको समर्थन गरे भने धेरैले घरका कुरा बाहिर निकालेको भन्दै आलोचनासमेत गरें”, नायिका करिश्माले भनिन्। उनले भनिन्, “अहिलेसम्म महिलाको इतिहास भनेको मौनताको हो, त्यसलाई चिरेर बोल्न खाँचो छ।”
चलचित्रको पर्दामा सधैँ एकपछि अर्को सफलता हात पारेकी नायिका करिश्मालाई त्यसले मात्रै सन्तुष्टि दिएन। चलचित्र क्षेत्रमा प्रवेश गर्दा उनले पढाई बीचमा नै छाड्नुपरेको बताइन्। जीवनभर आफूलाई त्यही ‘स्कुले केटी’ ले पछ्याइरहेको उनले बताइन्। सधैँ पछ्याइरहने केटीलाई विपनामा पाउनका लागि उनले विद्यालयमा भर्ना भइन्।। सर्ट र फ्रक लगाएर झोला बोक्दै विद्यालय जान थालिन्। अहिले उनी ९ कक्षामा अध्ययनरत् छिन्। अरुले के सोच्छन्भन्दा पनि आफू के चाहन्छु भन्ने सोचेर विद्यालय भर्ना भएको नायिक करिश्मा बताउछिन्।
उनले भनिन्, “सिनेमामा सफल नायिकाका रुपमा मात्र होइन, करिश्मा मानन्धरले जीवनमा सेल्स गर्लकोसमेत अनुभव बटुलेको छ।”
जीवनका चार दशक मौनतामा बिताउँदा मानन्धरलाई कहिल्यै आनन्द भएन। आफूले बाल्यकालदेखि भोगेका पीडा अचेल उनी खुलेर बोल्छिन्।
Facebook Comment