व्यंग्य : पुच्छरको कमी
झण्डै एक वर्ष र केही महिना मात्रै कार्यकाल बाँकी भएर संसदको अनुभवले खारिएका, संसद सडक अदालत र अन्य सबैखाले जायज नाजायज कामहरुमा जबरजस्ती वा आफूखुसी झारिएका, खाने पाउने र माल आउने ठाउँ देख्नासाथ कतै केही नहेरी एकै ठाउँमा नारिएका, जुन गुट वा दलमा लागेपनि छानेकै मन्त्रालयको मन्त्री दिन्छु भनेर ढुक्क पारिएका र जुनसुकै नाजायज काम फत्ते गरेपनि शिर्ष नेताहरुद्वारा सुनपानी छर्केर चोख्याउँदै सबैतिरबाट सजिलैसित तारिएका माननीयहरुले संसदमा राम्रै सर्कस देखाएर जनतालाई निकै उच्चस्तरीय मनोरञ्जन गराएछन्।
उहाँहरुको सर्कस देखाउने अभ्यासको सुरुवात भएको तिसौँ वर्षको अनुभवलाई प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र हुँदै परिमार्जन भएर अहिलेको अबस्थासम्म ल्याइ पुर्याउनुमा सत्तापक्ष प्रतिपक्ष यो पक्ष उ पक्ष भनेर छुट्याइ राख्न पर्ने आवश्यकता नभएपनि खुमलटारे कामरेड र बालकोटे कामरेडका कार्यकर्तारुपी माननीयहरुको सर्कसमा अरुभन्दा अलि बढी दखल देखिएको र यो बिषय संसदको इतिहासमा स्वर्ण अक्षरमा लेखिएको देखेर उहाँहरुलाई गर्व लाग्नु ज्यादै राम्रो हो।
संसदमा मुक्का हान्ने, कठालो समातेर तान्ने, जसले जति धेरै भद्रगोल मच्चाउन सक्यो त्यसैलाई गतिलो सांसदको रुपमा शिर्ष भनिएका र दलको मूल नेतृत्वमा गनिएका व्यक्तिहरुबाट दृश्य अदृश्य तरिकाले पुरस्कृत हुनेमा छान्ने परिपाटिबाट हुर्के बढेका माननीयहरु राम्रैसित प्रोत्साहित हुँदै आएको पाइन्छ।
यस्तो कार्यमा स्यबासी पाएका र त्यसैको आडमा राम्रोसित आर्थिक खुराक खाएका माननीयहरुले मेच भाँच्ने माइक भाँच्ने, टेबल फुटाएर खुसी हुँदै त्यसैमाथि नाँच्ने र यस्तै कामको लागि आफ्नो मुढेबल साँच्ने गरेर बेलाबेलामा निशुल्क यस्तै सर्कस देखाउँदै भोट दिएर जिताउने जनतालाई सारै ठुलो गुन लगाएका छन्। यस्ता पुनित कार्यहरु पुरानो संसद भवनदेखि नै भब्य तरिकाले चल्दै र त्यसमा सकृय भएर भाग लिनेको लागि राम्रो नगद फल्दै आएको देखिएकै हो।
यो अनुकरणीय र अन्य प्रजातान्त्रिक मुलुकहरुले समेत ज्यादै तारिफ गर्दै अनि यसैको बिकासमा जोडतोडले अघि सर्दै आएका माननीयहरुले बजेट भाषण गर्न हिँडेको मन्त्रीको ब्रिफकेश खोसेर फुटाउनेदेखि लिएर संसदीय मर्यादालाई अक्षरस पालना गर्दै सभामुखको कुर्सी तोडफोड गर्नको लागि सबैजना कुद्दै आएर शक्ति जुटाउने गर्दा मर्यादा पालकहरुसित ठेलठाल, पेलपाल र घम्साघम्सी गरेको देख्दा जनताको लागि उहाँहरु कति चिन्तित हुनुहुन्छ भन्ने छर्लङ हुन्छ।
आफू जतिसुकै शिर्ष नेतृत्व भनेपनि आफ्नो स्तरपनि त्यही सर्कस देखाउने प्राणीभन्दा माथि नभएको आफूलाई राम्ररी थाहा भएपनि अरु कसैले यस बारेमा चाल नपाएको हुनाले कुनै गाल पर्दैन भन्ने सोचेर जताबाट केही झर्छ त्यतै थाल थापेर मिलिजुली खानपिन गरेको जनतालाई चाहिँ थाहा छैन।
संसद भित्रको सर्कस कार्यक्रम बिकसित हुँदै अब त काँध काँधमा चढ्ने र त्यही पोजिसनमा सभामुखको आसनतिर बढ्ने गरेको सुन्दर दृश्य हेर्न पाउनु ज्यादै राम्रो हो। अगाडि बढ्न नदिएर हात फैलाएर रोक्ने र यहाँबाट अगाडि जान हुँदैन भन्दै हदबन्दी तोक्ने मर्यादा पालकको हातमा निकै ठूलो दखल पर्नेगरी दाँत गाढेर मजाले टोक्ने अनि नमुना लाइक तरिकाले महिला पुरुष सबैखाले सांसदलाई काँधमा बोक्ने अनि अगाडि जे भेटेपनि त्यसले सभामुखको पुर्पुरोमा ठोक्ने प्रयासको अभ्यास गरिनुलाई अति उदाहरणीय संसदीय अभ्यासको रुपमा सबैले मानिदिन र यो भन्दा असल अभ्यास अर्को हुनै सक्दैन भनेर जानिदिन कन्जुसी गर्न हुँदै हुँदैन।
त्यसबेला माइकको टाउको हातमा लिन पाएको भए सभामुख र अर्थ मन्त्रीको टाउको फुट्ने गरी दिन हुन्थ्यो भनेर गर्वकासाथ सञ्चार माध्यममा बोल्ने महिला माननीयलाई जनताले स्याबासी दिएका छन्।
शिर्ष नेताहरुद्वारा पुल्पुलिएका माननीयहरुले आफ्नो सम्पूर्ण शक्ति लगाएर नेतृत्वप्रति पूर्ण भक्ति स्वरुप ज्यान फालेर र आफ्नो प्रतिष्पर्धी माननीयहरु भन्दा अगाडि आफूलाई हालेर अनि भबिष्यमा यही सत्कर्मको हवालासहित अनेक कदम चालेर सबै अवसरहरु प्राप्त गर्न सजिलो वाताबरण बनाउने अनि आफ्नो सबै काम गर्नका लागि नेतृत्वलाई मनाउने प्रमाणपत्र नै यही भएपछि जनताका कामतिर ध्यान नदिएपनि जनताले केही भनेका छैनन्। आफूसित जुन योग्यता दक्षता र क्षमता छ सबैले त्यही नै देखाउने हुनाले यसमा कसैले चिन्ता गर्ने र अरुको अधिकार हर्ने कुरै आएन।
यसो हेर्दा अलि अक्कल नपुगेको हो कि जस्तो देखिएपनि संघीय संसदमा राष्ट्रिय स्तरका माननीयहरुले गरेको कामको प्रदेश तहका माननीयहरुलेपनि सक्कल बमोजिमको नक्कल उतारेर यस्ता मनोरञ्जनात्मक संसदीय सर्कसका कार्यक्रमहरु प्रदेश संसदमा पनि जोडदार रुपमा सञ्चालनमा रहेको हेर्न पाउँदा जनताको खुसीको सिमा छैन।
अब छिटै नै यसलाई नगर पालिका, गाउँ पालिका र सबै वडा तहसम्म बिकास गरेर फैलाउँदै लगेर देशैभरी ब्यापकता दिन ढिला गर्न हुँदैन। बरु कुन चाहिँ संसदमा बढी तोडफोडसहितको सर्कस प्रदर्शन हुन्छ त्यसलाई गतिलो सुरा सुन्दरी प्राडो पजेरो सुत्केरीको औषधि जस्ता पुरस्कारको ब्यबस्था गरेमा यसमा सहभागिता बढ्ने र बिधिको शासनको स्तर माथि चढ्ने हुन जान्छ अनि सँसारका अरु प्रजातान्त्रिक मुलुकहरुले पनि हामीलाई लोकतन्त्रको असली जननी भनेर मान्छ जस्तो देखिन्छ।
यो त केही पनि होइन कुनै कुनै देशमा त सांसदहरु रगतपक्ष भएर स्ट्रेचरमा निकालिएको पनि देखिन्छ भनेर कतिपय माननीयहरुले अन्तरवार्तामा बोलेको र हामीपनि त्यो स्तरमा पुग्न पर्छ भन्ने अव्यक्त भावना खोलेको सुन्दा जनता खुसी भए।
जनताले त्यस्तो कल्पना नगरेको भएपनि माननीयज्यूहरुको अभिव्यक्ति सुन्दा छिट्टै त्यता पुग्ने संभावनालाई नकार्न नमिलेपनि संसदमा यस्तै सर्कसमात्रै देखाएर प्राप्त हुने सुविधा डकार्न र सोझासिधा जनतालाई हकार्न यसपालीको कार्यकाल नपुग हुँदैन होला।
आफ्ना होनहार सांसदहरुले देखाएको संसदीय सर्कसलाई बडा अभिरुची पूर्वक र ज्यादै ध्यान पूर्वक हेरेर आनन्दसित मुस्कुराउँदै बसेका शिर्ष तहका नेताहरुलाई देख्दा आफूले जंगलबाट समातेर ल्याएर तालिम दिएपछि सर्कसमा बिभिन्न कला देखाउने प्राणीहरुको क्षमताले दर्शकहरु दंग भएझैं पो देखिन्छ त।
आफू जतिसुकै शिर्ष नेतृत्व भनेपनि आफ्नो स्तरपनि त्यही सर्कस देखाउने प्राणीभन्दा माथि नभएको आफूलाई राम्ररी थाहा भएपनि अरु कसैले यस बारेमा चाल नपाएको हुनाले कुनै गाल पर्दैन भन्ने सोचेर जताबाट केही झर्छ त्यतै थाल थापेर मिलिजुली खानपिन गरेको जनतालाई चाहिँ थाहा छैन।
बालकोटे कामरेडले दुईदुईपल्ट बिघटन गरेको र दुबै पटक अदालतबाट पुनःस्थापनामा परेको हुनाले मदारीसहितका सर्कसवालाहरुको समस्या टरेकोमा खुसी भएर दिनदिनै यस्तो सर्कसका कार्यक्रमहरु देखाउँदै आएको देख्दा अबको बाँकी अबधी यहि सर्कस देखाउने र हेर्ने गरेर ताली बजाउँदै अनि यसैमार्फत आफ्नो सुन्दर भविष्य सजाउँदै बित्नेमा कुनै शंका गर्न पर्ने आवश्यकता छैन।
यो संसदमा आआफ्नो क्षेत्रमा ज्यादै ख्याती कमाएर र सबैतिर प्रभुत्व जमाएर आएका महान हस्तीहरु धेरै भएकाले पनि यो अलि ऐतिहासिक खालको संसद होकि जस्तो देखिन्छ।
यस्ता क्षमतावान ब्यक्तित्वहरुको कमी भएको भए जनताले यति स्तरीय सर्कस हेर्ने मौका पाउने र संसारभर चर्चामा आउने कुरै हुँदैन थियो होला भन्ने सबैलाई लागेको छ।
जनतालाई पटक्कै थाहा नभएपनि संसद बिरोधी बिभिन्न सञ्चार माध्यमहरुले गैरजिम्मेवार तरिकाले प्रकाशित प्रसारित र प्रचारित गरे अनुसार त्यहाँ पुग्नको लागि भेटेसम्म धेरै मान्छे काट्नेपनि त्यहीँ छन्, आफ्नो सीमित स्वार्थको लागि नैतिकता आदर्श नीति सिद्धान्त आदि सबै बिर्सेर त्यसलाई नगदमा साट्नेपनि त्यहीँ छन्, यो गर्छु उ गर्छु भनेर जनतालाई झुक्याएर त्यहाँ पुगेपछि केही नगरी जनतालाई ढाँट्ने सबै त्यहीँ छन्, खासै क्षमता केही नभएपनि ठूलो नेता हुँदै बिदेशीको तलुवा चाट्नेपनि त्यहीँ छन् र आफ्नो लोकप्रियता खत्तम भएर अब छिट्टै सकिन्छु भन्ने प्रष्ट बुझिसकेर अझ केही वर्ष जनता झुक्याउन यहाँको सबैभन्दा ठूलो नेता मैँ हुँ भन्ने भ्रम छर्दै झुटको लामो डोरी बाट्नेपनि त्यहीँ छन्।
त्यसैगरी ठेकेदारी गरेर कम गुणस्तरको काम गर्न र सरकारी बजेटमा चर्न खप्पिसहरु, व्यापार गरेर राजस्व मार्न र शक्ति प्रयोग गरेर सबैतिरबाट नाफा झार्न खप्पिसहरु,जँगलबाट काठ चोरी निकाशी गरेर काठमिलमा लान र त्यसको लागि जहाँपनि जान खप्पिसहरु, घरजग्गाको दलाली, गिट्टी बालुवाको तस्करी,सबैतिर बिचौलिया बनेर कमिशन हजम गर्न खप्पिसहरु, सासददेखि सबैलाई अपहरण गर्न खप्पिसहरु, रातो पासपोर्ट बेचेर आम्दानी खाने, नक्कली नागरिकता देखाउँदै जतासुकै जाने, जुवा खेल्ने खेलाउने, विभिन्न व्यक्तिहरुसित नाजायज सम्बन्ध र सम्पर्क राख्ने, धार्मिक समूहको गोटी बनेर होली वाइन खाँदै धेरै चोटी बिदेश शयर गर्ने, बिभिन्न अनैतिक कार्यहरुबाट थोरै समयमा कमाएको अकुत सम्पत्तिको सानो हिस्सा खर्च गरेर समानुपातिक र मनोनित माननीयको सिट खरिद गरेर मन्त्री पड्काउने अनि त्यसैको आडमा बजेट छड्काउने खप्पिसहरु, बिगतमा खान लगाउन नपाएर ठग्दै लुट्दै उधारो लिँदै हिँडेर नतिर्ने र अहिलेपनि जिम्मेवारी काँधमा नभिर्ने खप्पिसहरु, मन्त्री हुन पाइन्छ भने जुनबेला जतापनि मिल्नसक्ने र नगद हात लाग्छ भने जतिपनि निल्नसक्ने खप्पिसहरु, माइक भेट्यो कि अरुलाई नैतिकताको लामो पाठ पढाउने र नगद हात पर्छ भने जसलाई पनि टाउकोमा चढाउने खप्पिसहरु, अर्काले लेखेर दिएको कुरा समेत राम्ररी पढ्न र कुनैपनि बिषयमा आफ्नो बुद्धिले अड्न नसक्ने खप्पिसहरु, आफ्नो क्षमताले भन्दा अर्काको कमजोरीलाई भजाएर र त्यसैबाट मजाले बजाएर सधैं फाइदा मात्रै उठाउने खप्पिसहरु आदि आदि जस्ता खप्पिसहरुले भरिभराउ भएर भरिएका अनि अब यिनीहरुबाट देश र जनताको भलाईको लागि सबैै काम भइहाल्छ भनेर ढुक्क परिएका जाली, फटाहा, ठग, घुसखोरी, बलात्कारी, हत्यारा, व्यभिचारी आदि जस्ता सबै उपमाहरुबाट सुशोभित महानुभावहरुको जमात भएको ठाउँमा यस्तै सर्कसहरु बाहेक अरु थोकको कसैलेपनि आशाराख्ने कुरा आएन।
उहाँहरुकै कारणले गर्दा देशका लगभग सबै क्षेत्र दुर्गन्धित भइसकेको र राम्रै काम गरेपनि कसैले नपत्याउने अबस्थामा गइसकेको हुनाले उहाँहरुले देखाउने सर्कसको ठूलो योगदान रहेकोमा सबैले सराहना गर्नैपर्छ।
आफ्नो दिमाग र आँखाले कुनैपनि बस्तुलाई हेर्नुभन्दा बिभिन्न स्वार्थबाट आयातित चश्मा लगाएर र जे गरेपनि त्यसबाट नगद जगाएर मात्रै हेर्ने संस्कारको द्रुत बिकास भएको हुनाले एउटै बिषयलाई स्वार्थ समूहले बताए अनुसार हेरेर सबैलाई सताए अनि यसोउसो गरेर संर्किणताको जाउलो तताए भनेर जनताले नभनेपनि उहाँहरु आफै एकअर्कालाई दोष लगाएर हिँडिरहेको देखिन्छ।
अन्धाले हात्ती छामेजस्तो एउटै कुरालाई आफ्नो स्वार्थ अनुसार देख्ने र त्यही नै अकाट्य हो भनेर लेख्ने अत्यन्त बुद्धिजीवी माननीयहरुबाट तोडफोड सर्कस प्रदर्शन गरेर जनताको करबाट ज्याला असुल गर्नु ज्यादै मनासिव कार्य हो।
बिघटन हुनुभन्दा अघिपनि केही काम नभएर अधिकांश माननीयहरु नजाने आक्कल झुक्कल गइहालेपनि सुन्ने कोही नभएको ठाउँमा आफ्नो कुरा भनिसक्नासाथ बाहिर निस्किहाल्ने र अन्यत्र जाने कुनै काम नभए सभाहलकै कुर्सीमा उँघेर जिस्किहाल्ने गर्दै माननीयको गरिमा थामेको देखिएकै हो।
पुनः स्थापनापछि भएका सभाहरुमा एकअर्कालाई घोचपेच दोषारोपणसहितका मन्तब्यहरुको समाप्ती पछि तोडफोड सर्कसको सिलसिला चलिरहेको हुनाले यसैबाट उहाँहरुको लागि सबैथोक फलिरहेकोमा जनता दंग परेर मनोरञ्जन गरिरहेका छन्। अब त संसद भनेकै यस्तै चटक सर्कस र खेल देखाएर माननीयहरुले बिकासको भेल ल्याउने थलो हुनाले यस्ता पुनित सर्कस कार्यक्रमहरुबाटै सबैको भलो हुनेमा जनता ढुक्क परेर बसेका छन्।
अदालतका आदेश,दलका कारबाही,बाक्लो दाल खान नयाँ नयाँ दलहरुको दर्ता,मन्त्रि खान सांसदहरुको दलहरुमा तानातान र एकअर्कामाथि शब्दबाँणको हानाहान आदिले गर्दा कुन सांसद बैध कुन सांसद अबैध अनि कस्को कुरा पत्याउने कस्को कुरा नपत्याउने भनेर सबैजना अलमलमा परेका देखिन्छन्।
संबिधानमा के लेखिएको छ, नीति सिद्धान्त र ब्यबहार कता गइरहेको छ, बिधि प्रकृया र पद्धती भनेको कुन चराको नाउँ हो, कसले गर्न पर्ने के हो, कसको जिम्मेवारी र कर्तब्य केके हो आदि जस्ता बिषयहरु बुझ्न हो कि बुझाउन नसकिएको हो वा थाहा भएरपनि बिभिन्न स्वार्थले गर्दा नबकिएको हो भनेर बुझ्नसक्नुमा जनताको सबैभन्दा ठूलो गल्ती देखिन्छ।
जनताको प्रतिनिधिमूलक ब्यबस्थामा सबै काम जनताको तर्फबाट जनताका प्रतिनिधिले गर्ने हुनाले यसको सम्पूर्ण जिम्मा जनताको थाप्लोमा आइलाग्छ र आफ्ना प्रतिनिधिहरुलाई कसैले केही भन्यो भने जनता आँखा चिम्लेर जाइलाग्छ भन्ने माननीयहरुको भनाइ एकदम सही हो।
जसले जेसुकै र जतिसुकै भनेपनि बाह्र वर्ष ढुँग्रोमा राखेर निकालेपछि मुँग्रोले पिटेर सोझ्याउन खोजेपनि सोझिने झिनो आशासम्मपनि जनताले गरेजस्तो देखिँदैन।
आफ्नो घरपनि नबनाउने र अर्काको घरपनि भत्काउने प्राणीकै सिको गरेर उसकै नामको टिको लगाउँदै बर्षौंसम्म ज्यादै मजेदार सर्कस देखाउँदै आएको हुनाले त्यही खाले सर्कस देखाउन सबै योग्यता पुगेपनि लौरो न हतियारको उपमा पाएको एउटा पुच्छरको चाहिँ साह्रै कमी भएकोमा जनतालाई निकै चिन्ता लागेजस्तो देखिन्छ। आशा गरौँ भविष्यमा जनताको त्यो इच्छापनि पूरा हुन्छ भन्ने कुरा सत्य साबित हुनेछ।
Facebook Comment