खतरा महसुस हुने वित्तिकै प्रहरीमा खबर गर्नुहोस्

डिसी नेपाल
७ असोज २०७८ १९:५२

काठमाडौँ । विस्तारै मनसुनको समय उत्तराद्र्घतर्फ धकेलिएर नेपालीहरुको मुख्य चाड नजिकिएसँगै नेपाल प्रहरीले आफ्नो निगरानी बढाउन थालेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँले आज सार्वजनिक अपिल जारी गर्दै घरमा डेरा गरी बस्ने व्यक्ति तथा काम गर्ने व्यक्तिको नाम, थर तथा स्थायी ठेगाना स्पष्ट रुपमा राखी सम्भावित खतराबाट जोगिन अनुरोध गरेको छ । विगतमा डेरा गर्ने बहानामा धेरै आपराधिक क्रियाकलाप भएकाले त्यसतर्फ सचेत गराउँदै उक्त अनुरोध गरेको परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक अशोक सिंहले जानकारी दिए ।

चाडपर्वमा विभिन्न आपराधिक समूह सल्बलाउने, आपराधिक गतिविधि तथा दुर्घटना बढ्ने हुँदा गाउँघर तथा छिमेकमा हुने शङ्कास्पद व्यक्तिबारे सूचना दिएर सहयोग गर्न प्रहरीले नागरिकमा अपिल गरेको छ । सम्भावित घटना रोक्न काठमाडौँ उपत्यकामा विशेष सुरक्षा योजना लागू गरी प्रहरीले निगरानी बढाइसकेको र अन्य जिल्लामासमेत लागू गर्ने क्रममा रहेको प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक वसन्तबहादुर कुँवर बताए । उनका अनुसार ७७ जिल्लामा चाडवाडका बेला हुनसक्ने अवाञ्छित गतिविधि रोक्न विशेष योजनाका साथ अघि बढ्न सबै जिल्लामा निर्देशन गइकेको छ । सोहीअनुसार आआफ्नो क्षेत्रमा प्रहरीले विशेष ध्यान दिन थालेको छ ।

प्रहरीले शान्ति सुरक्षा कायम गरी जनजीवनलाई सहज बनाउन प्रहरी एक्लैको प्रयास पर्याप्त नहुनेतर्फ नागरिकको ध्यानाकर्षण गराउँदै आवश्यक समन्वय गर्न सार्वजनिक अपिल गरेको छ । कुनै पनि खतराको महसुस हुने वित्तिकै नजिकको प्रहरी कार्यालयमा खबर गर्न सर्वसाधारणसँग अनुरोध गरेको छ । प्रहरी प्रधान कार्यालयको निर्देशानुसार चाडपर्व केन्द्रित विशेष सुरक्षा योजना लागू गरेको काठमाडौँ प्रहरीले नागरिक आफैँले विशेष सावधानी अपनाउँदा पनि धेरै घटनाबाट जोगिन सकिने जनाएको छ ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *