चाडपर्वमा आपूर्ति व्यवस्थापन चुस्त पार्न गृहमन्त्री खाँणको निर्देशन
काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँडले चाडपर्वमा हुने गैरकानूनी क्रियाकलाप नियन्त्रण गर्दै आपूर्ति व्यवस्थापनलाई चुस्त बनाउन निर्देशन दिएका छन् ।
गृह मन्त्रालयमा बिहीवार आयोजित चाडपर्व लक्षित बजार अनुगमनसम्बन्धी बैठकमा मन्त्री खाँडले कालोबजारी, म्याद गुज्रेका खाद्य सामग्री र औषधि बिक्रीवितरण हुनसक्नेतर्फ ध्यानाकर्षण गराउँदै त्यस्ता गतिविधिमा संलग्न व्यक्तिलाई कानूनअनुसार कारबाही गर्न पनि निर्देशन दिए ।
‘नागरिकको जीवन रक्षा र हितका लागि काम गर्नु राज्यको पहिलो दायित्व हो, त्यो दायित्व पूरा गर्न हामी प्रतिबद्ध छौं,’ मन्त्री खाँडले मातहतका अधिकारीलाई निर्देशन दिँदै भने, ‘म्याद गुज्रेका औषधि र खाद्य सामग्री बिक्रीवितरण गरेको पाइएमा हामी कानूनअनुरुरूप अगाडि बढ्नुपर्छ, त्यस विषयमा ध्यान दिनुहोला ।’
आपूर्ति व्यवस्थापन, बजार अनुगमन र व्यवस्थापन तथा यातायात व्यवस्थापनसम्बन्धी बोलाइएको बैठकमा उपभोक्ता अधिकारकर्मी, यातायात व्यवसायी, उद्योगी व्यवसायी र सरकारी तथा सुरक्षा निकायका अधिकारीको सहभागिता थियो । बैठकमा मन्त्री खाँडले म्याद गुज्रेका सामग्री बेच्दा घुमीफिरी आफ्नै भान्सामा आइपुग्नेतर्फ पनि ध्यान दिन आग्रह गरे ।
उनले चाडपर्वमा अन्य बेलामा भन्दा कम नाफा लिएर धेरै वस्तु सुपथ मूल्यमा बेच्न पनि व्यवसायीलाई आग्रह गरे । ‘सुपथ मूल्यमा बेचेर उपभोक्तालाई राहत दिनुस् भन्ने मेरो आग्रह छ, बढी मूल्यमा बेचेको पाइएमा सरकारी निकाय कानूनअनुरूप अगाडि बढ्छ,’ मन्त्री खाँडले भने ।
व्यवसायी, सरकार र उपभोक्ता मिलेर अगाडि बढेमा मात्र चाडपर्व रमाइलो गरी मनाउन पाउने पनि उनको भनाइ थियो । उनले सवारी दुर्घटना न्यूनीकरणमा गम्भीर बन्न पनि व्यवसायीलाई आग्रह गरे । रासस
Facebook Comment