नेतृत्व चयनका लागि विद्यार्थी सङ्गठन कम्मर कस्दै
काठमाडौँ । नेतृत्व चयनका लागि अनेरास्ववियु, अनेरास्ववियु (क्रान्तिकारी), नेत्रविक्रम चन्द निकट अनेरास्ववियु (क्रान्तिकारी) र नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)ले राष्ट्रिय महाधिवेशनको तयारीमा कम्मर कस्दै छन् ।
अनेरास्ववियुले आगामी चैत २२ देखि २४ गतेसम्म २३औँ राष्ट्रिय महाधिवेशन गर्न लागेको छ भने अनेरास्ववियु (क्रान्तिकारी)ले यही असोज १४ देखि १६ गतेसम्म २२औँ राष्ट्रिय सम्मेलन गर्ने तयारीमा छ । नेविसङ्घले पनि छिटै ११औँ महाधिवेशनका लागि मिति तोक्न लागेको छ । चन्द निकट अखिल (क्रान्तिकारी)को नयाँ नेतृत्व चयनका लागि यही असोज ६ गतेदेखि २२औँ राष्ट्रिय सम्मेलन चलिरहेको छ । पोखरामा चलिरहेको सम्मेलनले आजै नयाँ नेतृत्व चयन गर्ने अध्यक्ष चिरञ्जीवी ढकालले जानकारी दिए ।
अनेरास्ववियुको गत भदौ २ गते सम्पन्न केन्द्रीय सचिवालय बैठकले आगामी चैत २२ देखि २४ गतेसम्म महाधिवेशन गर्ने निर्णय गरेको हो ।सुनिता बरालको नेतृत्वमा सङ्गठनलाई पुनःगठन गर्दै महाविधेशन जाने निर्णय गरिको र उनले महाविधेशन शैक्षिक मुद्दामा केन्द्रित हुने जानकारी दिए । महाविधेशनका लागि मङ्सिरभित्रै सबै तहको अधिवेशन सक्ने जनाइएको छ ।
यस्तै क्रान्तिकारीले आसन्न राष्ट्रिय सम्मेलनका लागि तयारी तीव्र बनाएको छ । यसका लागि अहिले जिल्ला र प्रदेश तहको अधिवेशन भइरहेको जनाइएको छ । कमलादीस्थित प्रज्ञा–प्रतिष्ठानमा हुने सम्मेलनमा ८९९ प्रतिनिधि सहभागी हुने र बन्दसत्र भने कीर्तिपुरस्थित केन्द्रीय क्याम्पसमा गर्ने बताइएको छ । यसअघि भदौ २६ मा भएको क्रान्तिकारीको विधान सम्मेलनले २३ पदाधिकारीसहित १९९ केन्द्रीय समिति बनाउने निर्णय गरेको थियो । उपाध्यक्ष सुरेन्द्र बस्नेतले यसपटकको सम्मेलनले सहमतिका आधारमा नेतृत्व चयन गर्ने बताए ।
Facebook Comment