कविता : मृतकको एकालाप
नग्न छ शरीर
तर लाज भने किन नभएको ?
वरिपरिआँशु बगिरहेछ झरना सरी
तर म भने किन निश्चल भएको ?
आज जब यहाँ लडेको छु
न म जवान छु न त बुढो
न मेरोलिङ्ग छ न त जात
छ त फगत एक मृत शरीर।
औंसीको मुस्कान र
पूर्णिमाको उदासी
सबै त्यागेर म
यो समयको वहावमा
एउटा फितलो पात बन्न पुगेकोछु।
मेरो जानु कहाँ नै छ र ?
वायुमण्डलमा छिट्टै हराउनेछु
कि त माटोसँग एक हुनेछु।
अस्तित्व मेटिंदै जाँदा,
मौनतामा बिलिन हुँदै
मेरो सधैं उम्लिने रक्त
आज सेलाएको छ।
कहिले काठले छोपेको झैं लाग्छ
त कहिले कुनै हलचल बीना
काठको बाकस भित्र रहेको भान हुन्छ,
कोहीले हातमा त कोहीले शिरमा
कस्सेर समातेका पनि छन्
सोच्दैछु म,
आखिर मानव कहाँ नै स्वतन्त्र हुँदो रहेछ र ?
प्रतिक्रिया
Facebook Comment