२१ दिनदेखि २१ वर्षीय किशोर सम्पर्कविहीन
काठमाडौं । २१ दिनदेखि स्याङ्जाको वालिङ नगरपालिका–१३ खानीडाँडाका २१ वर्षीय किशोर सम्पर्कविहीन छन्।
राजकुमार सार्की पाल्पाको पोखराथोकबाट गत भदौ २३ गतेदेखि सम्पर्कविहीन भएका उनका आमा विमया सार्कीले जानकारी दिए। दिदी लच्छिमा सार्कीसित पोखराथोक गएको र त्यहीँबाट तीजको दरखाने दिन दिउँसो ४ बजेदेखि सम्पर्कविहीन भएको आमा विमयाले बताइन्।
‘सुस्त मनस्थितिको मेरो छोरो हराएको यतिका दिन भयो, कहाँ छ, के गर्दैछ भन्ने अत्तोपत्तो छैन,’ विमयाले भनिन्,’छोरालाई खोज्नका लागि आफन्त, इष्टमित्र जताततै खबर गर्यौं तर केही मेसो आएको छैन।’
स्पष्टसँग बोल्न नसक्ने, आफू जन्मेको ठाउँसमेत बताउन नसक्ने समस्या उनमा छ। अन्दाजी पाँच फिट अग्लो, मोटो जिब्रो भएको, दाँत किराले खाएको र आँखा रातो भइरहने समस्या राजकुमारमा छ। खोजीका लागि वडा प्रहरी कार्यालय वालिङ, जिल्ला प्रहरी कार्यालय स्याङ्जा, पाल्पा लगायतका कार्यालयहरूमा फोटोसहित खोजी गरिदिनका लागि निवेदन दिइएको दिदी लच्छिमाले बताइन्।
Facebook Comment