सर्पले डसेपछि झारफुक गराउँदा…
कपिलवस्तु। प्युठानका स्वर्गद्वारी नगरपालिका-३ की ३१ वर्षीया निशा पुनलाई २६ भदौमा सर्पले डस्यो। राति १० बजे शौचालय जाने बेला हरियो रंगको सर्प ( भाइपर) ले देब्रे खुट्टाको बुढीऔंलामा डसेको थियो।
सर्पले डसेको थाहा भएपछि पुनको खुट्टा माथि डोरीले कसेर बाँधियो र उपचारका लागि लगियो। स्वास्थ्य संस्था लैजानुपर्ने पुनलाई आफ्नै आफन्तको घरमा झारफुक गरिएको थियो। तीन दिनसम्म झारफुक चल्यो।
झारफुक चल्दै गर्दा उनको खुटा सुन्निएको थियो। पछि घुँडादेखि मुनि आगोले पोल्दाको जस्तो फोका परेको थियो । घाउ पाक्न लागेपछि मात्र उनलाई उपचारका लागि स्वास्थ्य संस्थामा पुर्याइएको थियो। २८ भदौ राति ११ बजे पुनले उपचार पाउन सफल भइन्।
उनलाई उपचारका लागि कपिलवस्तुको बुद्धभूमि नगरपालिका-२ गोरुसिंगेस्थित कपिलवस्तु सर्पदंश उपचार केन्द्रमा पुर्याइएको थियो। घाउको प्रकृति हेर्दा थप उपचारका लागि बुटवल जान अनुरोध गरे पनि बिरामीका आफन्तले केन्द्रमै उपचार गराइदिन आग्रह गरे।
केन्द्रका स्वास्थ्यकर्मीले पुनको उपचारमा चिकित्सकको सल्लाहअनुसार एन्टीबायोटिक, ड्रेसिङ र अन्य औषधि चलाएका थिए । दुई साता उपचारपछि निको भई १० असोजमा उनलाई डिस्चार्ज गरियाे।
पुनलाई हरियो सर्प (भाइपर) ले डसेको बताइन्छ। भाइपरले टोक्दा हेमोटोक्सीन विष छाड्ने गर्छ, जसले रगतमा भएको रातो रक्तकोष फुटाएर रगतले गर्ने काम रोक्ने गर्छ । गोमन, करेतले न्युरोटक्सिन विष छाड्ने हुँदा स्नायु प्रणालीलाई असर गर्ने गर्दछ।
भाइपरले टोक्दा रगतमा रहेको रातो रक्त कोष फाटेर घाउ बनाउने, हर्ट एट्याक आउने समस्या देखिन्छ । यस्ता सर्पले डस्दा टोकेको भागमा बाँध्नु हुँदैन। बाँध्यो भने बाँधेको ठाउँको रगत फाटेर असर पुर्याउने गर्दछ। सर्पले डसेपछि जति सके चाँडै स्वास्थ्य संस्थामा उपचार गराउनुपर्ने सर्प संरक्षणकर्ता सुनिल सापकोटा बताउँछन्।
“सर्पले डसेपछि हामीमा एउटै बुझाई छ, तुरुन्त टोकेको ठाउँभन्दा माथि कसेर बाँध्ने । धेरैलाई थाहा छैन सर्पले डसेपछि कसेर बाँध्नु हुँदैन । सबै सर्पको विष लाग्छ भन्ने छैन र विषालु सर्पले टोक्दैमा विष नछाड्न पनि सक्छ। विषालु सर्पले टोक्दा सयजनामा ७० जनाको हाराहारीलाई विष छाडेको हुँदैन । त्यसलाई ड्राइ बाइट (सुख्खा टोकाइ) भनिन्छ ।
ड्राइ बाइटमा विष नछाड्ने भएकाले औषधि चलाउनुपर्दैन। धेरै सर्प विषालु पनि हुँदैनन् । त्यही भएर गाउँघरतिर झारफुक गरेर निको गरियो भ्रममा पर्ने गरेका छन्,” सर्प दंश उपचार केन्द्रका व्यवस्थापक नवीन भण्डारीले भने। सर्पले डसेर मर्नेहरूमध्ये धेरैजसो झारफुकमा विश्वास गर्ने र उपचार गर्न ढिला ल्याउने छन्।
Facebook Comment