साहित्यकार चारुशीलाको देश फर्कने अठोट

डिसी नेपाल
१६ असोज २०७८ ६:५८

“सुन्दर सुुसम्पन्न देव प्रतिष्ठित
गृह थिएन त्यो मन्दिर थियो
विष्णुसँग त्यहाँ लक्ष्मीको
स्नेहपूर्वक आनन्दले बास थियो……
कसैलाई थाहै नदिई विष्णु अचानक
चपचाप सुटुक्क वैकुण्ठ जानु भयो
विष्णु गएपछि लक्ष्मी किन बस्नु हुन्थ्यो
लक्ष्मी पनि अव जान हतारिनु भयो………

विस्तारै लक्ष्मी पनि बैकुण्ठ जानुभयो
देख्तादेख्तै सव शुन्यका डुब्यो
सम्पूर्णको मन वेदनाले ग्रस्त भयो
हरे त्यो सुन्दर गृह मन्दिर कहाँ पुग्यो”

कवयित्री चारुशीला मिश्रले सेप्टेम्बर १२ का दिन आफ्नो हालको निवास भर्जिनिया राज्यको सेन्टरभिलमा बीसजना जति मित्रहरु निम्त्याउनु भयो। उद्देश्य थियो, अप्रेल १४, २०२० मा दिवंगत हुनु भएका भियना निवासी डा.विष्णु परिभल र जुन २, २०२१ मा दिगम्बत हुन भएकी उहाँकी धर्मपत्नी डा.प्रमिला पौडेलको शोकसभा मनाउनु।

पौडेल दम्पतिका बारेमा यथार्थ चित्रण गरी ४६ हरपको कविता सुनाई उहाँहरुका छोरा प्रणय र छोरी प्रणितालाई दिदा उनीहरु मात्र होइन, उपस्थित सबै भाव विभोर भएको त्यहाँ उपस्थित बिना पोख्रेलले मलाई सुनाइन् । छोरी प्रमदाचाहिँ अनुपस्थित थिइन्।

पौडेल दम्पतिलाई सम्झनेहरु नेपालभन्दा अमेरिकामा धेरै रहेछन्। हामी १९९९ मा नेपाल फर्कनु आगाडि म्याकलेनमा वस्ता उहाँहरुको घर भियना १०–१५ मिनेट टाढामात्र थियो। हाम्रो बाक्लै आवत जावत थियो। हप्तामा एकपल्ट भागवत गीता अध्ययन र छलफलमा हामी पनि संलग्न हुन्थ्यौं।

अरुको मात्र कुरा होइन मेरै छोराहरु पनि नेपाली पढ्न अनकनाउँछन्। एक प्रकारले विचार गर्ने हो भने अमेरिकामा सन्तान बसाउनु र अमेरिकी भाषा संस्कार नसिकुन वा नेपाली नै रहुन भनेर पनि हुँदैन। जुन देशमा बस्ने त्यही देशको भाषा संस्कृति पटक्कै पालना नगरे एक्लो ढेडु भै बस्नुपर्ने हुन्छ।

उहाँहरु चिनमायानन्द सरस्वतीले १९५३ मा बम्बई भारतमा स्थापन गरी संसारमा फैलाएको चिनमाया मिसनका पुरै लाग्नु भएको थियो। यो मिशनको उद्देश्य बेदान्तिक शिक्षा भागवत गीताको अध्ययन, हिन्दूधर्मको अध्यात्मिकता र खुसी जीवन पुनरुत्थान गर्नु रहेको छ । जागिरबाट निवृत्त व्यक्तिहरुका लागि यस्तो कार्य राम्रो हो।

त्यसो त परिमल सर म बि.ए. पढ्दा धनकुटा डिग्री कलेजको प्रिन्सिपल हुनु हुन्थ्यो। सरकै प्रयासबाट हाम्रो कलेजले पहिलोपल्ट महिला प्राध्यापक पाएको थियो काठमान्डूकी विमला गुरुवाचार्य। उहाँले पढाउने विषय इतिहासमा आईएमा धेरै विद्यार्थी भएपनि वि.ए.मा म र मेरी मितिनी विमला श्रेष्ठ मात्र थियौं।

विमला मिससँग हाम्रो सुमधुर सम्बन्ध रह्यो। धनकुटेहरु अलिक रुढीवादी पिछडिएको मानसिकता भएर होला परिमल सरले महिला विद्यार्थीलाई पछाडिबाट ढाप मारेको चर्चाको विषय बनेको थियो। तर सबै विद्यार्थी महिला न पुरुष सरसँग खुसी थियौं। पौडेल दम्पत्तिको आत्माले शान्ति पाओस्।

उहाँहरुको बारेमा यति मार्मिक कविता लेख्ने कवयित्री चारुशिला मिश्रका घरमा केही महिना अगाडि म पनि पुगेकी थिएँ। उहाँले आफ्नो एक प्रकाशित किताब दिनुभयो। किताबको पछाडि हेरेँ। उहाँका पाँचओटा कविता संग्रह दुई लेख संग्रह र एक यात्रावृतान्त प्रकृतिक भइसकेका र ‘अन्तरंग कथा व्यथा’–जीवनी परक प्रकाशोन्मुख रहेछन्।

कोभिड महामारी सुरु हुनु अगाडि नै अमेरिकामा आफ्नो पनाति जन्मेको खुसीले उसको मुख हेर्न आउनु भएकी साहित्कार चारुशीला मिश्र अहिले बयानब्बे (९२) वर्ष हुनु भयो। उहाँका उमेरका प्रायः व्यक्तिहरु कोही बिर्सने रोग लागेका र कोही अरु प्रकारका अशक्तताबाट आक्रान्त भएको समाचार सुनिन्छ।

तर चारुशीलाजीको अलिअलि घुँडाको समस्या बाहेक दिमाग तगडा र ताजै देखिन्छ। आफ्ना चार पुस्ते सन्तान अमेरिकामै बस्ने भए पनि उहाँलाई नेपाल फर्कने प्रवल इच्छा रहेछ र चाडै फर्कँदै हुनुहुन्छ। २०२९ सालदेखि प्रकाशित कवयित्रीको २०६१ मा छापिएको ‘भावाञ्जली’ कविता संग्रहको एउटा कविताको एक अंश :

सन्तानको सुख समृद्धि हेर्न
बाँचेका असंख्य मातृत्वमा
निराशाको उर्लदो छाल छ
अनन्त आँशुको उपहार छ
नचाहे नफर्के हुन्छ सपूत
यहाँ आमाको रित्तो काख छ ।

राणाकालीन नाम चलेका कविराज विश्वनाथ रिमालकी छोरी त्यस्तै नामी विश्वराज मिश्रका छोरा केशरराज मिश्रसँग विवाह भएकी भए पनि चारुशीलाले अंगुरबाबा जोशीजस्तो औपचारिक शिक्षा प्राप्त गर्न सक्नु भएको रहनेछ। स्वःअध्ययनमात्र गरेको भए पनि उहाँका कविता एकदम शिक्षित व्यक्तिका जस्ता छन्। उहाँको गहिरो उर्जाश्रोत जे भए पनि एउटा अर्को कविताको छ हरप यस्तो छ :
महलको रहनमा कुकुर हाँसे

नजिकै छाप्रोभित्र अशक्त बुढो करायो
आमा सितै च्याँट्ठिएर
एक बालक रोयो
त्यहाँ निभेषमै एक चिता जल्यो
भरखरै जन्मेको एक कवि मर्‍ याे ।

मलाई लाग्दथ्यो मोफसलका महिलामात्र कवि साहित्यकार लुकेर बसेका होलान् । मौका नपाएका प्रकाशित नभएका होलान्। चारुशीला मिश्र काठमान्डूको मुटु नक्सालमै जन्मनु भएकी एक सम्भ्रान्त परिवारमा र विवाह पनि कुपण्डोलका सम्भ्रान्त परिवारमा भएको भएता पनि पढ्न नपाएको र प्रकाशित साहित्यकार हुँदा पनि प्रचारप्रसार नभएकोमा मलाई दुःख लाग्यो।

राष्ट्रिय महिला आयोग कि प्रथम अध्यक्ष र महिलामन्त्री समेत भैसकेकी मैले पनि दोष पन्छाउन मिल्दैन। तर पनि राजकीय प्रज्ञा प्रतिष्ठानको विशेष जिम्मेवारी हो यस्ता साहित्यकारबारे खोजी गर्ने। पुरुष कवि लेखक भए एउटा किताब प्रकाशित भए पनि भरमार प्रचारप्रसार हुन्छ। मिश्रजी महिला भएकाले सायद त्यसो हुन सकेन। त्यसमा पनि उहाँका सन्तान सबै अमेरिका र दोस्रो पुस्तादेखि नेपाली भाषा पनि बिर्सँदै गएका होलान्।

शोक सभा मिश्रजीको निवासमा

यो समस्या चारुशीलाजीको मात्र होइन। अब एक दशकभित्र विदेशिएका नेपाली सन्ततिले नेपालीत्व वा भाषा साहित्य प्रायजसले कम बुझ्दै जाने अवस्था हुन सक्तछ। अरुको मात्र कुरा होइन मेरै छोराहरु पनि नेपाली पढ्न अनकनाउँछन्।

एक प्रकारले विचार गर्ने हो भने अमेरिकामा सन्तान बसाउनु र अमेरिकी भाषा संस्कार नसिकुन वा नेपाली नै रहुन भनेर पनि हुँदैन। जुन देशमा बस्ने त्यही देशको भाषा संस्कृति पटक्कै पालना नगरे एक्लो ढेडु भै बस्नुपर्ने हुन्छ।

बुढो पिढी पनि भरखरको सँग आत्मसात गरी एक त सन्तानसँग बस्ने मानसिकता बनाउनु पर्यो कि त आफ्नो नेपाल बस्ने निर्णयलाई आम जोरीपारीले ‘कठैवरा’ सबैले छोडे नभनिने गरी नेपालमै जमेर बस्नु पर्‍याे। मैले उपयुक्त कुरा आफूलाई पनि भनेको हो। अतः बयानब्बे वर्षिय चारुशीला मिश्रको नेपाल फर्कने निर्णयलाई म स्वागत गर्दछु। तथापि उहाँको अर्को कविताले मलाई छटपटी पनि गराउँछ

सम्झनाको झिनू वत्ति बालेर
आशाको तेल थप्तै
जीर्ण बसेकी छु
म एक कुनामा
फकिर्ने प्रयासमा
तिनीहरु फर्कदैनन भनेर
नसुनाई देओ कसैले यहाँ
तिनीहरुले माया मारिसके भनेर…….

विन्ति छ नभन कसैले मलाई
अब तिनीहरु त विदेशिए भनेर
मर्दैन आमाको माया
दिनरात र वर्षमा गनेर

जे भए पनि चारुशीला मिश्रजीको नेपाल बसाइ सुखद रहोस भन्ने शुभकामना छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *