तस्करी नियन्त्रणमा रुपन्देही प्रहरीको सक्रियता
काठमाडौं ।चाडपर्वको आगमनसँगै रुपन्देहीमा तस्करी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले विभिन्न प्रकारका सुरक्षा रणनीति अपनाएको देखिन्छ । तस्करीलाई सीमा क्षेत्रमा नै नियन्त्रण गर्ने पहिलो रणनीति रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । सीमा क्षेत्रबाट बजारसम्म आइपुगेको तस्करीलाई पनि बजार क्षेत्रमा खटिने सादा पोशाकका सुरक्षाकर्मीले नियन्त्रण गर्ने गरेको प्रहरीको दाबी छ । त्यसपछि प्रहरीले तस्करी सामान भण्डारण गरेर राखेका गोदाममा समेत छापा हान्ने काम गरेको जिल्ला प्रहरी कार्यालयको सूचना शाखाले जनाएको छ ।
तस्करी नियन्त्रणका लागि प्रहरीले निरन्तररूपमा तस्करी गर्ने पुराना तस्करको निगरानी गर्ने र तस्करी गरेको सूचना आउनासाथ नियन्त्रण गर्ने काम भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । प्रमुख प्रहरी उपरीक्षक केसीले भने, “चाडपर्वको समयमा हुने पेशेवर तस्करलाई निरुत्साहित गर्नका लागि नियन्त्रण भएको तस्करीका सामान, तस्करीमा प्रयोग भएका ढुवानीको साधन र संलग्न मानिसलाई समेत सख्त कारबाही गर्ने गरिएको छ ।
जिल्लाका सीमा क्षेत्रमा अहिले दैनिक सरदर रु १० लाख मूल्य बराबरको तस्करी सामान नियन्त्रण हुने गरेको बताउँदै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले भारतीय सुरक्षाकर्मीसँगको सहकार्यमा तस्करी नियन्त्रणलाई न्यूनीकरण गरिएको जनाएको छ ।
सीमा क्षेत्रका प्रहरी चौकीलाई विशेष गरेर रातको समयमा उच्च सतर्कतामा राखिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब निरीक्षक सत्यनारायण थापाले बताए । थापा भन्छन्, “हामी तस्करी हुने मुहानदेखि गोदामसम्म निगरानी बढाएका छौँ । जसका कारण तस्करहरू अहिले आत्तिएको अवस्था हो । रुपन्देहीमा विशेष गरेर भारतीय बजारबाट भन्सार छली कपडा, सुर्ती, जुत्ता चप्पल, छालाका सामान, खाद्यान्न, किराना तथा हार्डवेयरका सामान, मोटरपार्टस्, मेसिनेरी सामान अवैधरूपमा आउने गरेको भैरहवा भन्सार कार्यालयले जनाएको छ ।
Facebook Comment