गण्डकी प्रदेशको समृद्धिमा पर्यटन र ऊर्जा प्रमुख आधार : मुख्यमन्त्री गुरुङ

डिसी नेपाल
१६ मंसिर २०७५ ०:५९

बेनी ।  गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीशुब्बा गुरुङले प्रदेशको विकास र समृद्धिमा पर्यटन र ऊर्जा क्षेत्र प्रमुख आधार भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शनिबार म्याग्दी सदरमुकाम बेनीमा सम्बोधन गर्दै  मुख्यमन्त्री गुरुङले यस्तो बताएका हुन् ।

नेकपाका प्रदेश इन्चार्जसमेत रहेका मुख्यमन्त्री गुरुङले गरीबी निवारण, रोजगारीको सम्भावना सिजर्ना गर्दै आर्थिक समृद्धि हासिल गर्न पर्यटन क्षेत्र महत्वपूर्ण आधार भएको बताए। “मुलुकमै पर्यटनको राजधानी पोखरा हो, गण्डकी प्रदेशका हरेक जिल्लामा रहेको पर्यटन विकासको अथाह सम्भावना उजागर गर्न सरकार लागिपरेको छ”, गुरुङले भने ।

गण्डकी प्रदेशभित्र यो वर्ष ३०० पर्यटकीय गाउँमा घरबास सञ्चालन गर्ने योजना रहेको उनले बताए । यहाँका प्राकृतिक, धार्मिक र ऐतिहासिक महत्वको पर्यटन विकाससँगै खेलकूद पर्यटनको विकासका लागि समेत प्रदेश सरकारले गृहकार्य गरिरहेको उनको भनाइ थियो । पोखरामा अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशाला निर्माण, अन्तर्राष्ट्रिय विमानस्थल, पृथ्वी राजमार्ग र सिद्धार्थ राजमार्गलाई व्यवस्थित बनाउँदै मध्यपहाडी लोकमार्ग र कालीगण्डकी करिडोरको कामलाई पूर्णता दिन सके यस क्षेत्रमा आर्थिक कारोबार ह्वात्तै बढ्ने उनले जानकारी गराए ।

उनले गण्डकी प्रदेशमा १४ प्रतिशत नागरिक विद्युत् र नौ प्रतिशत नागरिक शुद्ध खानेपानी उपभोगबाट बञ्चित हुनुपरेको बताउँदै त्यसतर्फ प्रदेश सरकारले आवश्यक काम अघि बढाएको जानकारी दिए। जलस्रोतमार्फत १० हजार मेगावाट बढी र वायु र सौर्य ऊर्जाबाट मुस्ताङमा पाँच हजार मेगावाट बढी विद्युत् उत्पादनको सम्भावना रहेको भन्दै मुख्यमन्त्री गुरुङले हिमाल, पहाड र तराई क्षेत्र समेटिएको गण्डकी प्रदेशलाई विकास र समृद्धिको यात्राबाट रोकिने कुनै कारण नभएको उल्लेख गरे।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *