ज्येष्ठ नागरिक आवास गृह अलपत्र

डिसी नेपाल
१९ असोज २०७८ १७:४५

काठमाडौं।  सर्लाहीको मलङ्गवा नगरपालिका–४ मा निर्माणाधीन ज्येष्ठ नागरिक आवास गृह अलपत्र परेको छ । सङ्घीय सरकारको रु एक करोड २५ लाखको लागत अनुमानमा निर्माण सुरु भएको सो गृह बजेट अभाव, कोरोना महामारी र वर्षाको बाहना बनाउँदै निर्माण कार्य बीचैमा छोडेर निर्माण व्यवसायी सम्पर्कविहीन भएपछि अलपत्र परेको हो ।

सङ्घीय सरकारको लगानीमा सहरी विकास तथा भवन कार्यालय जनकपुरको निगरानीमा रुपा कन्सट्रक्सन प्रालि जनकपुरले निर्माणका लागि ठेक्का सकारेको थियो । सो १४ कोठे भवन, शौचालय तथा मेस घरसमेत निर्माण गर्ने भनी ठेक्का भएको थियो । स्थानीय ज्येष्ठ नागरिकहरुलाई धेरै राहत पुग्ने थियो तर समय छ, समय छ भन्दै ठेकेदारले काममा ढिला गरेको स्थानीयवासी शिवशङ्कर यादवले बताए । बजेट अभावका कारण निर्माण कार्य सम्पन्न नभएको र नगरपालिकाले पहल गरेर रु ४०÷४५ लाख बजेट व्यवस्था गरेको साथै बजेट व्यवस्थापनका लागि पहल भइरहेको मलङ्गवा नगरपालिका–४ का वडाध्यक्ष रवीन्द्र रायले बताए ।

असार मसान्तसम्ममा काम सक्नुपर्ने भनी ठेक्का लागेको भए पनि सङ्घीय सरकारले आवश्यक बजेटको व्यवस्था नगरेका कारण सो गृहको निर्माण कार्य सम्पन्न नभएको सहरी विकास तथा भवन कार्यालय जनकपुरका डि.इं विनोदकुमार यादवले बताए । भवनको बाहिरी संरचना निर्माण अन्तिम चरणमा भए पनि प्लाष्टर गर्ने काम, झ्याल ढोका लगाउने र वरिपरि पर्खाल लगाउने लगायतका भित्री धेरै काम बाँकी रहेको छ । नजिकै पोखरी रहेको र भवनको वरिपरि पर्खालसमेत निर्माण नहुँदा भवन निर्माण सम्पन्न भए पनि जोखिमपूर्ण रहेको स्थानीयवासी कृष्ण महतोको भनाइ छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *