रुसमा कोरोनाका कारण एकैदिनमा अहिलेसम्मकै धेरैको मृत्यु
काठमाडौं । रुसमा कोरोनाभाइरसका कारण एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु भएको छ । सरकारी अधिकारीहरूले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा कोरोनाका कारण ८९५ जनाको मृत्यु भएको छ ।
यो सङ्ख्या रुसमा कोरोनाभाइरसको महामारी सुरु भएदेखिकै अहिलेसम्मकै सबैभन्दा धेरै भएको सरकारी अधिकारीहरूले बताएका छन् ।उनीहरूका अनुसार रुसमा कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कूल सङ्ख्या दुई लाख ११ हजार ६९६ पुगेको छ । त्यसैगरी पछिल्लो एक दिनमा २५ हजार ११० जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन् । योसँगै कूल सङ्क्रमितहरूको सङ्ख्या ७६ लाख ३७ हजार ४२७ पुगेको छ ।
अधिकारीहरूका अनुसार रुसमा अहिलेसम्म भाइरसबाट सङ्क्रमित भएर पनि अहिले सङ्क्रमणमुक्त भइसकेकाहरूको सङ्ख्या ६७ लाख ५९ हजार ५९ रहेको छ । तीमध्ये १८ हजार ५६८ जना पछिल्लो एक दिनमा सङ्क्रमणमुक्त भएका हुन् । रुसमा अहिले पनि दैनिक नयाँ सङ्क्रमितहरूको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाहरूको सङ्ख्या कम भएको छ । त्यसैले सक्रिय सङ्क्रमितहरूको सङ्ख्यामा वृद्धि हुँदै गएको छ ।
नयाँ सङ्क्रमितहरूको सङ्ख्या केन्द्रीय राजधानी मस्कोमा बढेको पनि अधिकारीहरूले जनाएका छन् । सङ्क्रमित र मृतकहरूको सङ्ख्या बढ्दै गएपछि रुसमा फेरी कोरोनाभाइरसको महामारीले पार्ने चिन्ता थपिएको छ ।
Facebook Comment