कपिलवस्तुका प्रहरी प्रमुख एसपी कार्की प्रदेशकै उत्कृष्ट प्रहरी, मुख्यमन्त्रीबाट सम्मानित
काठमाडौं । ६६औं प्रहरी दिवसका अवसरमा कपिलवस्तु प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्की सम्मानित भएका छन् ।
लुम्बिनी प्रदेशका १२ जिल्लामध्ये चालु आर्थिक वर्षमा सबैभन्दा बढी फरार प्रतिवादी पक्राउ गर्न सफल भन्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले एसपी कार्कीलाई प्रशंसा पत्रसहित सम्मान गरेका हुन् । कार्कीको सम्मानमा मुख्यमन्त्री केसीले प्रदेश राजधानीबाट पठाएको प्रशंसापत्र बुधबार प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डेले प्रदान गरे ।
एसपी कार्की यसअघी गण्डकी प्रदेशमा कार्यरत छँदा पनि उत्कृष्ट प्रहरीको सम्मान पाएका थिए ।
प्रहरी दिवस समारोहमा जिल्लामा उत्कृष्ट कार्य गर्ने २ प्रहरी निरीक्षक, १ प्रहरी नायब निरीक्षक, १ प्रहरी सहायक निरीक्षक र २ प्रहरी हवल्दार गरी ६ जना प्रहरी कर्मचारीलाई पुरस्कारसहित कदरपत्र प्रदान गरिएको थियो ।
प्रहरी दिवसमा जिल्ला प्रहरी कार्यालयले विविध खेलकुद प्रतियोगिता, लामो दौड प्रतियोगिता, बजार सरसफाई र बृहद रक्तदान कार्यक्रमसमेतको आयोजना गरेको थियो । लामो दौड तथा विभिन्न खेल प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय स्थान हासिल गरेका प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।
Facebook Comment