जनगणनामा तीन हजार परिवार बढे
काठमाडौँ । घर तथा घरपरिवार सूचीकरणमा तीन हजार बढी परिवार थपिएका छन् ।
राष्ट्रिय जनगणना २०७८ को पहिलो चरण अन्र्तगत जिल्लामा प्रारम्भिक प्रतिवेदनअनुसार ४८ हजार ८६७ घरधुरी अनलाइनमा दर्ता भएका बैतडी जिल्ला जनगणना कार्यालयले जनाएको छ । विसं २०६८ को जनगणनामा यहाँ ४५ हजार परिवार थियो ।
केन्द्रीय तथ्याङ्क विभागले जिल्लामा ५० हजार परिवार रहेको हुनसक्ने अनुमान गरेको र त्यसैको हाराहारीमा परिवार सङ्ख्या पुग्ने जिल्ला जनगणना अधिकारी सुरेन्द्रप्रसाद पन्तले जानकारी दिए । भदौ ३० गतेदेखि असोज १८ सम्म सञ्चालन भएको जनगणनाको पहिलो चरणअन्तर्गत सुपरीवेक्षकहरु खटाएर घरपरिवारको सूचीकरण गरिएको थियो । जिल्लामा घरपरिवार सूचीकरणका लागि ८० सुपरीवेक्षक परिचालित थिए । मूल जनगणना कार्तिक २५ देखि मङ्सिर ९ गतेसम्म सञ्चालन हुने कार्यालयले जनाएको छ । यसका लागि ३१५ गणक खटाइने तयारी भएको छ । विसं २०६८ को जनगणनाअनुसार जिल्लाकोे जनसङ्ख्या दुई लाख ५० हजार ८९८ रहेकामा ४५ हजार परिवार सङख्या पुगेको थियो ।
Facebook Comment