अब किसानका समस्या हल हुन्छन्ः कृषिमन्त्री रायमाझी
काठमाडौं । लुम्बिनी प्रदेशका कृषि, खाद्य तथा भूमि व्यवस्थामन्त्री सुमन शर्मा रायमाझीले किसानका समस्या समाधानका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा मन्त्री रायमाझीले आफू बिनाविभागीय मन्त्री हुँदा प्रदेशका विभिन्न जिल्लामा कृषकसँग छलफल गरी समस्या पहिचान गरेको जनाउँदै ती समस्या समाधानका लागि पहल गर्ने उल्लेख गरे ।
उनले सरकारले कृषिमैत्री बजेटको व्यवस्था गरेको बताउँदै हेफरलगायत सङ्घसंस्थासँग सहकार्य गर्दै अगाडि बढ्ने धारणा राखे । कार्यक्रममा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सचेतक निर्मला क्षेत्रीले प्रदेशमा ७० प्रतिशत जनसङ्ख्या कृषिमा आधारित रहेको बताउँदै कृषिबाट आत्मनिर्भर बन्नका लागि प्रदेश सरकारले कृषिमैत्री बजेट ल्याएको दाबी गरे । हेफर इन्टरनेशनल नेपालका वरिष्ठ उपाध्यक्ष डा महेन्द्र लोहनीले कृषको आयआर्जन वृद्धि गर्न दुग्ध तथा मासु तथा अन्य कृषिजन्य वस्तुको उत्पादन र बजारीकरणका लागि सहयोग गर्दै आएको बताए ।
हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक डा तीर्थराज रेग्मीले हेफरको कार्यक्रमबाट नेपालमा करिब तीन लाख परिवार लाभाविन्त भएको दाबी गरे । नेपाल पत्रकार महासङ्घ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले सरकारबाट आउने कृषि अनुदान वास्तविक किसानसम्म पुग्न नसकेकाले सरकारले त्यसतर्फ ध्यान दिनुपर्ने सुझाव दिए ।
Facebook Comment