संस्मरण : रामदाइको टेलरिङ पसल
“रामदाइ ! रामदाइ ! रामदाइ हुनुहुन्छ ?”
“हुनुहुन्छ, माथि आउनुस्”
म र युगेश (युगेश जोशी) रामदाइको टेलरिङ पसलमा आएका थियौँ। रामदाइको टेलरिङ पसल पाटनमा प्रख्यात थियो उहिले। पाटन महापालको प्रसिद्ध कलात्मक आँखीझ्याल भएको घर पछाडिको चोकमा वहाँको टेलरिङ्ग पसल थियो, एक तल्लामाथि।
“रामदाइ मेरो पाइन्ट सकियो ?”
“सकिनै लाग्यो काजी” सदा झैं रामदाइको तयारी जवाफ आयो ।
“अस्ति पनि यस्तै भन्नुभयो”
“अस्ति तपाईंको काम थाल्नै लागेको थिएँ, हतारको सूटको काम आयो । विवाहको सूट, नगरे विवाह नै रोकिन्छ भनेपछि त्यतै लागेँ”
“आज नि?”
“आज काजीको काम थाल्नै लागेको थिएँ, बिजुुली गयो”
“ पाइन्ट सिलाउन किन बिजुुली चाहिन्छ ?”
“पाइन्टको कपडा काट्न पहिले इस्त्री लगाउनु पर्छ, अनि बल्ल कपडा मिलाएर काट्न सकिन्छ“ मेरो कुरा बीचमै काटेर, मेरो कुरा राख्नै नपाउँदै उनले जवाफ दिए।
“अहिले त बिजुली छ, खोइ त थाल्नु भएको !”
“भर्खर बिजुली आयो, अब थाल्छु”
“अस्ति पनि यस्तै भन्नुभयो, बहाना बनाउनु भयो। तीन दिनमा सिलाई दिन्छु भनेर आज तीन हप्ता भैसक्यो, थाल्नु नै भएको छैन”
“भोलि पक्का सकाई दिन्छु, ढुक्क हुनुस्”
यति भन्दै उनले दराजबाट एक डुङ्गुर कपडा निकालेर भूइँको टाटमाथि पहाड नै बनाए।
“बरु, यसमध्ये तपाईंको कपडा कुन हो खोज्नुस् त।”
“मेरो कपडा त थाहा रहेनछ तपाईंलाई, कसरी भोलि सक्छु भन्नुहुन्छ ?” दिक्क मान्दै भनें।
“रासबाट आफ्नोे कपडा निकाल्नुस्, म धरोधर्म भोलि तयार पारिदिन्छु–कस्सम” फेरि उनले कसम खाए।
“रामदाइ! आज म पाइन्ट नलिई जाँदै जान्न – एक दुई तीन जान्न। जति कुर्न परे पनि कुरौँला“ म र युगेश त्यहीँ बिछ्याइएको लम्पटमा ढुकुमुक्क बस्यौँ।
“सत्ये ! भोलि जसरी भए पनि सकिदिन्छु“
“हैन! हामी पाइन्ट नलिई डेग चल्दैनौँ रामदाइ” हामी टसमस भएनौँ।
“ ल ! ल ! पहिला आफ्नो कपडा त निकाल्नुस् यो रासबाट” हाम्रो अनशनको सामु उनको केही लागेन।
हामीले खोतल खातल गरेर आफ्नो कपडा निकाल्यौँ र उनलाई दियौँ। अनि, फेरि अनशनमा नै बस्यौँ, अनशनमा नै जुट्यौँ।
“म अहिले नै थाल्छु, पाइन्टमा ‘बक्रम र जीप्पर’ पनि ’अस्सल’ लगाई दिन्छु। असल बक्रम र जीपर अहिल्यै तेलालसाहू कहाँबाट ल्याइदिन्छु” यति भन्दै रामदाइ बजार जान तयार भए।
“अस्तिजस्तै बाहिर गएर खोप्पी खेलेर बस्ने हैन है रामदाइ आज।”
“तपाईंको कसम खेल्दिन” यति भन्दै राम दाइ निस्किए। हामी उनलाई कुरेर बस्यौँ। ग्राहकलाई कुराउने, अझ झुलाउनु झुलाउने यिनको विशेषता थियो। रामदाइ जवान नै थिए, हामीभन्दा मात्र यस्तै पाँच छ वर्ष जेठा होलान्। त्यसैले कहिलेकाहीँ खोपी खेल्ने रहर हुँदो हो।
“को आएको थियोे भनेर भन्दिउँ रामदाइलाई ?” ठिटीहरूको नाम जान्ने दाउ लगायौँ हामीले तर त्यसले काम गरेन। उनीहरू केही जवाफ नदिई फर्किए। उनीहरूलाई रामदाइ र हाम्रो भर लागेन जस्तो छ।
“माथि रामदाइ हुनुहुन्छ?” कसैले तलबाट सुरिलो स्वरमा सोध्यो। यसो तल हेरेको दुईजना ठिटीहरू रहेछन्। भर्खर भर्खर चल्न थालेको नयाँ फेसन ’बेली बटम’ पाइन्ट, त्यसमा पनि ३६ इन्च मोहडावाला पाइन्ट चिटिक्क सिलाउन जान्ने टेलर मध्ये यी रामदाइ एक थिए पाटनमा।
यिनको अर्को विशेषता भनेको यी लेडिज र जेन्टस् दुबैखाले पाइन्ट र कमिज सिलाउन नीपूण थिए। यिनको ज्याला पनि खासै महँगो थिएन, त्यसैले यिनी पाटनमा चलेका सुजिकार थिए। यहाँ ठिटीहरू पनि आउने भएकोले ठिटाहरूको थप रोजाइमा परेका थिए रामदाइ।
“रामदाइ बाहिर जानुभएको छ, अहिल्यै आउनु हुन्छ”
“ए”
“माथि आएर कुरुन्जेल आइपुग्नु हुन्छ” हामीले निम्तो दियौँ। तर उनीहरू फर्कन खोजे।
“को आएको थियोे भनेर भन्दिउँ रामदाइलाई ?”
ठिटीहरूको नाम जान्ने दाउ लगायौँ हामीले तर त्यसले काम गरेन। उनीहरू केही जवाफ नदिई फर्किए। उनीहरूलाई रामदाइ र हाम्रो भर लागेन जस्तो छ।
मलाई पनि रामदाइको भर लागेन। तेलालसाहू (शायद उहाँको नाम तेजलाल हुनुपर्छ)को पसल त महारानी पोखरी छेउको ठूलो घण्ट तल छ। त्यहाँबाट यहाँ आउन–जान पन्ध्र मिनेट भए काफी हुन्छ। यिनी गएको त पाउने एक घण्टा भइसक्यो, अहिलेसम्म अत्तोपत्तो छैन।
“हैन युगेश, कतै रामदाइ सँगैको ’हौस’मा गएर चिया खाँदै कसैसँग गफ्फिएर त बसेनन्?”
“केही भर छैन यिनको, आज पनि धोका दिए यिनले। अब फर्किने पो हो कि? कुरेर फुल पार्लाजस्तो छैन, काम बन्ला जस्तो छैन” युगेशले आश मारे।
“यसो झ्यालबाट हेरौँ न, कतै आउँदै गरेका पो छन् कि ?” थोरै आश जगाउन खोजेँ मैले।
हामीले यसो बाहिर हेरेको हाम्रा साथी जोन चोकतिर आउँदै गरेको देख्यौँ। जोन र म स्कूलमा एउटै कक्षाका साथी। उसको खास नाम चाहिँ सागर हो, अलि वेस्टर्न मुभीको हिरोजस्तो देखिने भएर उनको नाम जोन राखेका थिए साथीहरूले । उसको घर त्यहाँ सँगैको अर्को चोकमा थियो।
“तिमीहरू के गरिराखेका त्यहाँ ?” जोनले सोध्यो ।
“ के गर्नु, रामदाइलाई कुरेर बसेको ।”
“रामदाइलाई त मैले एकजना साथीसँग पाटन ढोकाको बसमा भेटेको थिएँ । उनीहरू त दशरथ रङ्गशालामा फुटबल हेर्न जान लागेको भन्थे त !” उसले एकै सासमा भन्यो।
युगेश र म ट्वाँ पर्यौँ। रामदाइले आज पनि छक्काए । अब भने उनले अर्कोपटक पनि छकाउँदैनन् भन्ने कुनै ग्यारेन्टी भएन। अब उनले पार नलगाउने भन्ने बुझियो। अब अन्तिम उपाय अपनाउने विचारतिर लाग्यौँ अनि हामीले आफ्नो कपडा टिप्यौँ र फर्कियौँ।
आज रामदाइले बोर गरे, कुरेपछि पक्कै पाइन्ट सिलाइ दिन्छन् भन्ने ठूलो आश थियो, विश्वास थियो। कान छोप्ने जुल्फी, बोकाको जस्तो लामकाने कल्लरको कमिच, माथि टाइट र तल ३६ इन्चको मोहडावाला पाइन्ट अनि बक्सिङ ग्लोब जस्तो ग्वाँक्क परेको चार इन्च हिल भएको लोकल नकबहिलका सार्कीदाइले बनाएको जुत्ता लगाएर चिटिक्क परेर क्याम्पस जाने कत्रो धोको थियो सब भताभुङ्ग भयो। रामदाइले विश्वासघात गरे।
यस्तो अनुभव तपाईँको पनि छ होला हैन त? रामदाइको ठाउँमा कान्छादाइ होला, माहिला गुरुजु होला, हर्खबहादुर होला, रशिद मास्टर होला तर अनुभव उस्तै उस्तै होला । हैन त साथीहरू? मखुला पासा?
साक्रमेन्टो, सेप्टेम्बर १८, २०२१
Facebook Comment