अनायोजित : प्रेम र प्रकृतिको कथा
लमजुङको राइनास नगरपालिकामा जन्मि हुर्केकी प्रतिभाशाली अनिता पन्थी आँखामा ठूला ठूला सपना बोकेर यस कोलाहलमा सरिक हुन आउँछिन्। अनेक गतिविधिसँग लड्दै, अनेक दुःख कष्टको सामना गर्दै, काठमाडौंमा बसेर त्रिभुवन विश्वविद्यालयबाट नेपाली भाषामा एम.ए. गर्न उनी सफल पनि हुन्छिन्।
अथक मिहिनेत र लगनशीलताले उनी समय सँगसँगै परिपक्व र आफ्नो क्षेत्रमा पोख्त हुँदै गइन्। यति कम उमेरमै नेपाली साहित्यमा अत्यन्तै धेरै योगदान पुर्याउने उनलाई नेपाली साहित्यको होनहार प्रतिभा मानिन्छ। सिद्धहस्त लेखक पन्थीको अनेकौं साहित्यिक रचना भए पनि कृतिकै रूपमा भने ‘नगेन्द्र शर्माको जीवनी र कृतित्व’ पछिको दोस्रो उपन्यासको रूपमा ‘अनायोजित’ नामक कृति पाठकहरू माझ आएको छ।
जीवन जगत्ले उत्पन्न गरेको आश्चर्य, हर्ष, प्रेम, पीडा, आनन्द र एकान्तिकता बोकेर हिँडिरहेकी अनिताले एक चौतारीमा बिसाएर लेखेको यस कृतिलाई डाक्टर गोविन्दराज भट्टराईले एक अत्यन्तै सफल उपन्यासको रूपमा दर्ता गरिसकेका छन्। अनायोजितले सामाजिक पाटाबाट भन्दा पनि प्राकृतिक पाटाबाट मानव समाजलाई चिहाउन खोजेको छ।
यो उपन्यासमा वास्तवमा यथार्थवाद, सामाजिकता, बढ्दो पर्यावरणीय सङ्कट, पुरुषत्व र नारीत्वमा चलिआएका सामाजिक व्यवहारहरू, लैङ्गिक गतिशिलता, प्रेम, बिछोड, ईष्र्या, आदि पाटोलाई समेटिएको छ।
जीवनका उकाली ओराली चढ्दै जाँदा थुप्रै संजोगहरु आइपर्छन्। उन्नति भन्ने एउटी तरुणी केटीसँग म पात्रको भेट हुन्छ। यिनीहरुको सम्बन्ध सानो गफबाट शुरु हुन्छ तर पछि यस्तो गहिरो र पवित्र सम्बन्ध स्थापित हुन्छ जो यौन र विलासिता जस्ता तुच्छ तत्वभन्दा धेरै माथि हुन्छ।
यी दुई पात्रबिचका संवाद एकदम मन छुने खालका हुन्छन् र ती संवादबाट वर्तमान, भुतमा दबेका कहानीहरूको उद्गम हुन्छ। जीवनका पृष्टभूमिहरू साटासाट हुन्छन्।
अनायोजितले उठाएको विषयवस्तु सामान्य किताबहरु भन्दा फरक छ। उच्च किसिमको शास्त्रीय उपन्यास होइन यो। युवाहरूको प्रेमलाई व्यक्त गर्ने काव्यिक रचना भने पक्कै हो। माया, प्रेमका कुरालाई जोड्दै अनेक विम्बहरूद्वारा पर्यावरण, आधुनिकिकरण र यसमा मानव निर्भरता जस्तो पाटोको उचित वर्णन गरेको पाइन्छ।
१४९ पन्नाको यो उपन्यासमा दुई थरिको रसको उत्कर्ष पाइन्छ। उपन्यासको पहिलो भाग श्रृंगार रसले भरिएको छ र दोश्रो भाग भने करुण रसले गर्दा पीडाले भरिपूर्ण छ। शृंगार रसलाई नै जोड दिनका लागि यौनका दृश्य समेत कलात्मक ढङ्गले यसमा समावेश गरिएको छ।
उपन्यासमा साहित्यिक अलङ्कारको पनि राम्रो प्रयोग भएको पाइन्छ। अशुद्ध शब्दहरु धेरै छन् तर परिष्कृत भाषा शैलीले त्यतातिरको गल्तीलाई लुकाइदिएको छ। भाषामा राम्रो पकड भएकी शब्दशिल्पी अनिताको प्रतिभाको यहाँ उच्च प्रस्फुटन भएको छ।
फरक आयामभित्र फुल्दो रहेछ जीवन, फरक दृष्टिकोणसँगै रम्दो रहेछ जीवन। भौतिक सुखमा मात्र आनन्द महसुस गर्दैन रहेछ जीवन। अध्यात्म र साहित्यको मिलन भएपछि एउटा चमत्कार हुन्छ जुन चमत्कारले मान्छेलाई परिवर्तनशील बनाउँछ।
यस्तै अध्यात्मको कुरा अनायोजितले पनि गर्छ। “हामीले जन्मिँदा के नै ल्याएका थियौं र? आज आएर हामीले जति पनि कुरा आफ्नो भन्ठानेका छौं ती सबै यहींका हुन्, यहीं प्राप्त गरेका हौं र यहीं नै छोडेर जानुपर्छ। हाम्रा सम्पूर्ण सम्बन्धहरु यहीं जोडिएका हुन्।
यसर्थ एकदिन ती सबैलाई भुलेर हरेक व्यक्ति एक्लै एक्लै जानेछ तर थाहा छैन जाने कहाँ हो?” (पृ. ४४) “उद्यानमा भमराहरु निसन्देह फूल चुमिरहेका थिए। उस्तै निसङ्कोच थिए सुभाषित पुष्पहरु। भगवान्को मूर्तिमा चोखो मानेर तिनै पुष्पहरु चढाइएका छन्, सम्मानको खातिर महात्मादेखि सामान्य व्यक्ति जो कसैको गलामा टाँगिएका छन्, उही बगानका फूलहरु। न फूल अशुद्ध थियो न त भमरो नै।
न त भमरो दोषी थियो न त फूल नै। ऊ फुल्नु थियो फुलिदियो, कसैले रसपान गर्नु थियो, गरिदियो। हामी पनि के प्रकृतिकै उपज होइनौं? जस्तो कि फूल…। परन्तु शुद्धताको प्रश्न किन उठाइन्छ यता? फूल र मानवमा कुन भेद थियो र भेद गराइयो? प्रकृतिका हरेक विषय के सहज स्वभाविक छैनन् ? जसरी फूलहरु…।” (पृ. ५३)
एक्काइसौं शताब्दीको विकास र आधुनिकिकरणले हामी सबैलाई रोगी बनाएको छ। सानोभन्दा सानो काम पनि हामी आफैं गर्न असमर्थ भएका छौं। हातहातमा हुने मोबाइलको सहायताविना हामी एक पाइला पनि अघि बढ्न सक्दैनौं। सबैथोक अटोमेटेड भएकै कारण हामी दिनानुदिन अल्छी र परनिर्भर हुँदै गएका छौं।
पर्यावरणीय दृष्टिले पनि हाम्रो अटोमेटेड लाइफस्टाइलले हामीलाई मात्र नभइ सम्पूर्ण इको सिस्टमलाई नै हानि पुर्याएको छ। यसबारे हामी अनविज्ञ छैनौं, केवल यसलाई बेवास्ता गरिरहेका छौं।
“यन्त्रको परनिर्भरतामा आत्मविश्वास पनि गुमाइसकेका छौं।” (पृ. ७८) मान्छेहरू जब शक्तिहीन, असहाय हुँदै जान्छन् तब यन्त्रको हुङ्कार शुरु हुन थाल्छ।” (पृ. ७९) यही विषयतर्फ ध्यानाकर्षण गर्दा कथामा एउटा रोमान्चक मोड आउँछ र शिशिफसकै जस्तो अभिशापबाट मुक्तिको लागि एक पात्र कठोर परिश्रममा बाँधिन पुग्छ।
उपन्यासको म पात्र प्रयासको चरित्र चित्रण गर्ने हो भने ऊ अलि धेरै भावुक देखिन्छ। सानो–सानो कुराले असर गर्ने उसलाई उन्नति अरु कसैसँग भेटेको पनि मन पर्दैन। “मलाई उनको समीपमा रहेको कुनै पनि व्यक्ति बिलकुल मन पर्दैन। फिटिक्कै…। स्वीकार्य छैन मलाई, यतिसम्म कि उनका मित्रजनसँगको उठ, बस, आवत, जावत र निकटतामा पनि ईष्र्या जागेर आउँछ।” (पृ.३५)
उसमा प्रकृतिप्रेमको भावना पनि ओतप्रोत भएको पाइन्छ। उन्नतिकै सल्लाहमा गाउँबाट शहर आएको ऊ हरेक कुरालाई आफ्नो गाउँसँग तुलना गर्छ। शहरको आधुनिकिकरणमा ऊ आफ्नो गाउँको जस्तो प्रकृतिक सुन्दरतालाई खोज्छ र निश्चय नै उसले त्यो पाउँदैन र दुःखी हुन्छ। “शीतलताको अनुभूति गराउने यो शहरमा कुनै वृक्ष छैन।” (पृ.४३)
उन्नतिले अथ्र्याएझैं प्रयास एक प्रयासशील व्यक्ति हो। “कस्तो अर्थपूर्ण, गहन…नामकरण गरिएको। कुनै पनि कार्य सिद्धि नहुन्जेल भिडिरहने प्रयासशील व्यक्तिहरु बडो पौरखी हुन्छन् रे! जीवनमा प्रगति गर्नेहरु तिनै हुन्। आफ्नो सम्बोधित नामलाई अर्थपूर्ण बनाउँदै जानू होला…।” (पृ.१९)
दृढ सङ्कल्प र प्रतिज्ञा लिएर ऊ आफ्नो नामलाई अर्थपूर्ण बनाउँदै चिहानडाँडा खन्न जान्छ। धैर्यवान् प्रयासको भूमिका त्यहीं सकिन्छ।
उन्नति अलि बढी गम्भीर र आध्यात्मिक किसिमकी पात्र हो। ऊ धेरै नै साहित्यिक ढंगले प्रस्तुत भएकी छ। पुरुषहरुको सन्देहशील स्वाभावलाई औंल्याउँदै ऊ एउटी सशक्त नारीको रूपमा देखिएकी छ।
उन्नति र प्रयासबिच केही क्रान्तिकारी र दार्शनिक संवाद पनि भएको पाइन्छ। “मलाई थाहा छ तिमी धेरै शंकालु पनि छौ । फेरि प्रस्ट हुन चाहन्छु, तिमीले भौतिक प्रेमलाई काम वासनासँग जोडेर, मलाई पतीत भ्रष्ट युवतिको संज्ञा दिन पनि सक्छौ। यस विषयमा पनि तिमीलाई स्वतन्त्रता दिन्छु।” (पृ. ३९) आफ्नो नामको अर्थ बताएँ जस्तै प्रयासले पनि उन्नतिको अर्थ दिन्छ : विकास, समृद्धि, प्रगति, परिवर्तन, अभिवृद्धि, आदिलाई उन्नतिको पर्याय मानेर। उन्नती प्रयास भन्दा अलि बढी नै परिपक्व भएको मैले आभाष गरें। अहिलेको जस्तो देखावटी मायामा रत्तिभर पनि विश्वास नगर्ने उनी भन्छिन्, “म नाटक अलिकति पनि मन पराउँदिनँ। बस्, म यथार्थ चाहन्छु बनावटी होइन ।” (पृ. ५२)
एक ठाउँमा प्रयास र स्काभेटरबिच संवाद पनि भएको पाइन्छ। स्काभेटरले विकासको र प्रयासले विनाशको चर्चा गर्दै विकासको अन्तिम विन्दु नै विनाश हो भन्नेतर्फ कथा अगाडि बढेको छ। “कमिलालाई पखेटा लाग्नु भनेको उसको सम्पूर्ण वृद्धि विकास र उपलब्धीको अन्तिम सूचक थियो ।” (पृ. ८२) “मान्छे चेतना र हृदयले सञ्चालित हुनुपर्ने होइन ?
आजका सबै मानिस चेतना गुमाएका एक अनौठा प्राणी स्काभेटर जस्तै भएका छन् ।” (पृ. ८९) “जल्दोबल्दो तरुणावस्थामै सामान्य खन्ने खोस्रिने काममा पनि किन हामीलाई निष्कृय र बेकम्मा बनाउन चाहन्छन् यी यन्त्रहरू ?” (पृ. ८६) “यन्त्रको जन्म भएसँगै उनीहरुले शासन गर्दै आए र भोलिका दिन पनि यसरी नै शासन गर्दै जालान्। विगत जस्तै भयो, आज तेस्तै छ, अनागत कसरी अछुतो होला? यन्त्रहरुले आफ्नो पकड क्षेत्र जमाइसकेका छन् जहाँ तहीं ।” (पृ. ८७)
प्रेमकै आडमा कथा बगेको छ। प्रयास र उसकी प्रेमिका उन्नतिको सेरोफेरोमा कथा घुमिरन्छ। उनीहरूको चिनारी, प्रेम र त्यस सम्बन्धमा उब्जने जटिलता र यसले लिने अप्रत्यासित मोडहरुमा नै उपन्यास अड्केको छ। बेलाबेला बिचबिचमा प्रकृति र यन्त्रको कुरा पनि जोडिएको छ। बेलाबेला पात्रहरू स्वतन्त्र हुन्छन्।
लेखकले पात्रलाई औपचारिकताले बाँध्न खोजेकी छन् धेरै ठाउँमा जसले पात्रबिचको संवाद अलि अपाच्य लाग्दछ तर पात्रलाई गतिशील र परिवर्तनशील राख्न सक्नु उपन्यासकारको उत्कृष्ट खुबी हो। प्रयास बेलाबेला प्रेमीबाट पागलप्रेमी हुन्छ र आफूलाई महाभारतको भीष्मको नयाँ संस्करण बताउँदै कथा सकिन्छ।
कथाको माग नै त्यस्तै हुन्छ, सायद यसैलाई क्लाइमेक्स भनिन्छ। “जब–जब अविश्वास र अभिघातले यो धर्ती अशान्त हुन थाल्छ तब तब भीष्महरु त्याग, निष्ठा र समर्पणको पाठ सिकाउन जन्म लिने गर्छन्। यसर्थ मैले भन्नै पर्ने हुन्छ, म भीष्मको नयाँ संस्करण हुँ ।” (पृ. १४६)
वि.सं. २०७८ साल, असोजमा ओरिएन्टल पब्लिकेशनले निकालेको उक्त कृति पढिसक्दा पर्यावरणप्रतिको कर्तव्यबोधले सताउँछ । साहित्यको सिर्जना र जगेर्नामा नै अनवरत रुपमा लागिरहने उक्त साहित्यकारले यस कृति निर्माणमा कति मिहिनेत गरिन् भने कुरा प्रष्टै थाहा हुन्छ।
एक समर्पित साहित्यकारको छाप छोड्न सफल लेखिका अनिता पन्थीलाई आफ्नो बेन्चमार्क आफैं तोक्दै र प्राप्त गर्दै अघि बढ्न धेरै धेरै शुभकामना व्यक्त गर्दछु ।
Facebook Comment