पुस्तक समीक्षा : कर्णालीको उज्यालोसँग रमाउँदा

डिसी नेपाल
६ कार्तिक २०७८ ८:२३

नेपाली पर्वतीय विधामा कलम चलाएर आफ्नो आधिपत्य जमाउन सफल स्रष्टा हुन् प्रतीक ढकाल। सांस्कृतिक वैभवको उत्खनन गरिएको नियात्रा त्यो उज्यालो कर्णाली प्रतीक ढकालको बीसौं सन्तान भएर हालसालै बजारमा आएको छ।

नेपाली साहित्यमा यात्रासँग जोडिएका कृतिहरु प्रशस्तै छन् तर हाम्रै देशभित्रका कठिनाइ र तीसँग जुधेर जीवनयापन गरिरहेकाहरुको चित्र हाम्रा यात्राहरुमा अझै पनि स्पष्टसँग खुल्न सकेको छैन।

थोरै लेखकहरु मात्र त्यस्ता छन् जसले आन्तरिक पर्यटनमै आफूलाई केन्द्रिकृत गरेर कृतिहरु दिइरहेका छन्। तिनै थोरै प्रतिभाशाली लेखकहरुभित्र पर्न सफल लेखकको नाम हो प्रतीक ढकाल।

यो पुस्तक साँच्चै नै भन्नुपर्दा कर्णालीको इतिहास र संस्कृतिको खोज गरिएको कृति हो। यो पुस्तकको नामले तानेर नै म आकर्षित भएकी हुँ। किनकी हामीले सानैदेखि कर्णाली भनेको अन्धविश्वास, कुरीति, रोग, शोक, भोकमारी र अशिक्षा बोकेर पर कुनामा बस्ने एउटा अविकसित मुलुक भन्ने मात्र बुझेको हो। तर यो पुस्तकको नाम त्यो उज्यालो कर्णाली देखेपछि के रहेछ यो किताबभित्र भन्ने एक प्रकारको कौतुहल मेरो मनमा परिरह्यो।

स्कुल पढ्दा ताना शर्माद्वारा लेखिएको ‘घनघस्याको उकालो काट्ता’ लेख पढेको सम्झना सरसर दिमागमा आयो। त्यो बेलादेखि नै म कर्णालीको सेरोफेरो कस्तो होला भनेर सोचिरहन्थें।

ताना शर्माले लेखेको त्यो एउटा वाक्य मलाई आजसम्म याद छ : “प्रकृतिसित जुध्नु नै जीवनको रमाइलो हो भन्ने भावलाई ह्याकुलाले छोपेर नै म सुदुरपश्चिमको भ्रमणमा निक्लेको थिएँ।” त्यो पाठ पढेपछि नै मलाई कर्णाली कथाव्यथा बुझ्न मन लागेको हो।

अनुभूतिका तिब्रतम पराकम्पनले पाठकलाई हल्लाउन सक्ने उनी भन्छन् “मेरो देश लुकेको स्वर्ग हो। धर्तीमूनिको अभिलेख हो मेरो देश। यत्रो तपोभूमि, बुद्धभूमि, यत्रो आनन्दभूमि, समुद्रको सतहको गहिरो भाग, सबैभन्दा अग्लो हिमाल भएको देशको बारेमा लेख्छु भनेर म लागें।”

कुनै स्वर्गभन्दा कम छैन कर्णाली भन्दै उनी मुस्कुराउँछन्। सभ्यता र संस्कृतिको धनी कर्णालीको कथा उनी पाइला पाइलामा आँखाले नापिरहन्छन्। कति धेरै सचेत र शिक्षित छन् उनी।

एक ठाउँमा लेख्छन्ः “यहाँको स्कुलको बोर्डमा शुद्ध रुपमा मानक नेपाली शब्द ‘विद्यालय’ नै लेखेको देखियो। खुशी लाग्यो, नेपाली भाषाको उछित्तो काढ्दै ‘विदयालय’ लेख्न सिकाउने कम्पनीका मान्छेहरू यहाँ आइपुगेका रहेनछन्। भाषाका भाइरसहरूको पाइलो नपरेको पवित्र ठाउँ रहेछ यो। (पृ. २१)

सुदूरपश्चिमको यात्रामा उनका दुई सरकारी जागिरे महिला मित्र पनि सँगै छन्। लेखकले उनीहरूलाई भान्जी सम्बोधन गरेको मीठो सुनिन्छ। उनीहरू पनि श्रद्धापूर्वक मामा भन्छन्। यिनै भान्जीहरूसँग कुराकानी गर्ने क्रममा मामाको कुरा सुनेर रमाएकी भान्जीले मामाको सोच त पूरै उत्तरआधुनिक पो रहेछ भन्छिन्।

त्यो सुनेर उनी लेख्छन् : “ज्याक डेरिडाको नामै नसुनेकी उनले कति बुझेर उत्तरआधुनिकताको कुरा गरिन्। मैले चाहीँ धेरै बुझ्न नसकेको अवधारणा हो यो उत्तरआधुनिकतावाद। डा. गोविन्दराज भट्टराईको त्यत्रो विमर्शको ठेली पढेर पनि अझै धेरै कुरा बुझ्न बाँकी छ मलाई।” (पृ. ४८) जे भएपनि उत्तरआधुनिकताले नयाँ सोच र आविष्कारलाई प्रोत्साहित गरेको छ, सत्य हेर्ने विकल्प प्रस्तुत गरेको छ, अन्तरविषयकतालाई प्रोत्साहित गरेको छ।

हिजोका दिनमा हामीले कर्णालीप्रतिको दृष्टिकोण यो किताब पढेपछि पुरै बदलिन्छ। कर्णाली एउटा प्राकृतिक मधुशाला हो, त्यहाँ पुग्दा आँखाहरू लठ्ठिन्छन्, मन पनि त्यसरी नै रल्लिन्छ। त्यस्तो मादकताले भरिएको कर्णालीलाई प्रतीकले जसरी उज्यालो पारेका छन् त्यसलाई नै म उत्तरआधुनिक सोचले भरिएको सनसनीपूर्ण नियात्रा हो भन्छु।

घुम्दा घुम्दै उनी टक्क रोकिएर माटोको टीका लगाउँछन्। धर्ती मातालाई ढोग्छन्। प्रकृतिसँग एक्लै एक्लै गफ गर्छन्। आफ्नो देशप्रतिको माया धेरै छ उनको मनमा। घुम्दै जाँदा एक ठाउँमा हाम्रा मारिएका राजारानीको अनुहार काठमा कुँदिएको देख्ता उनी भन्छन्ः “मनको बाफ आँखामा आएर बगिरह्यो, म एकोहोरो भएर हेरिमात्र रहें, गला अवरुद्ध भयो।” त्यही बेलामा पर जङ्गलमा घाँस काट्ने दिदीबहिनीले गाएको गीत सुनेर उनी आफूलाई त्यै भाकामा डुबाउँछन्।

कर्णाली कर्णालीतिर, भेरी भेरीतिर
मु एल्को धुक्याको माण्ठ, क्वै नाइँ मेरातिर।
(अर्थ–म एक्लै दुखेको मान्छे … मसँग कोही छैन।)

हामी आ–आफ्नै मनका यात्री। तिनले देख्ने र मैले देख्ने दृश्यहरु फरक छन् एकै ठाउँमा उभिए पनि। धेरै कुरा बुझेर लेखिएको छ यो कृति। उनलाई थाहा छ, नेपालको जनसंख्यामा नेवारहरूको गरिबीको प्रतिशत १०.२५% मात्रै छ भन्ने कुरा।

गरिबी हटाउनका लागि भनेर स्वरोजगारसँग सम्बन्धित जति पनि कार्यक्रमहरु नेपालमा ल्याइएका छन् ती सबै नेवारको प्रवृत्तिबाट सिकिएका कार्यक्रमहरु हुन्। उनले नेवारी समुदायमाथि गरेको अध्ययनले देखाएको सत्यतथ्य–

-जुम्लाको वाणिज्य व्यापारको जगको ढुङ्गाको रूपमा उभिएका महान् व्यक्ति हुन् – भक्तबहादुर नगरकोटी ।
– ज्ञान बाँड्ने पेशाको रत्न पुस्तक भण्डार ।
– विचार भर्ने पेशाका निरञ्जन गोविन्द वैद्य ।
– भोक मार्ने पेशाको कृष्ण पाउरोटी भण्डार । (पृ.११२)

इतिहास शुन्यमा बन्दैन । त्यसलाई मान्छेले नै बनाउँछ । त्यसो गर्ने मान्छेको थातथलो हुन्छ, कर्मथलो हुन्छ। मान्छेले नै कर्म गर्छ। मान्छेले नै घटना र पात्रहरू सिर्जना गर्छ र मान्छेले नै इतिहासको चक्रलाई अगाडि बढाउँछ । त्यसैले भूगोल र इतिहासलाई राष्ट्रका आँखा मानिन्छन्। यो भूगोलमा आएर यसरी इतिहास बनाउनु चानचुने कुरो थिएन।

उनका कृतिहरूमा अर्घाखाँचीको कतै वर्णन नगरेको देखेर भान्जी दुःखी हुँदै सोध्छिन्, “सबै ठाउँ घुमेका मान्छेले अर्घाखाँची किन नलेखेको?” यसको उत्तर प्रतीकले हाँस्दै दिन्छन्। “यो मेरो जीवनमा घटेको सत्य घटना हो। आफ्नो मिल्ने साथी रामबहादुरले विवाहको खबर छोडेकोले जसरी पनि पुग्नैपर्ने भएर दुईजना अरु साथीहरु सहित जन्ती भेट्ने आशामा हामी अर्घाखाँची हिड्यौं।

जाँदा जाँदै बाटोमा रात पर्यो। जसरी भएपनि पुग्नैपर्ने भएकोले हामीहरू त्यो अन्धकार जङ्गलमा पर देखिएको उज्यालो पछ्याउँदै हिँडिरह्यौं। रातभर हिँड्दा पनि एकै ठाउँमा घुमिराखेको र अन्त्यमा गलेर लखतरान भएपछि हामीहरू तीनैजना बाटोमै खोलाको छेउमा सुत्यौं। बिहान बिउँझिएर यसो हेर्दा त चिहानमाथि सुतेका रहेछौं।”

यो पढ्दा त डरले मुटु नै सिरिङ्ग भयो एकपटक। सानोमा आमाले यस्तै राँकेभुतका कथा सुनाउँदा हामी साना केटाकेटी एउटै डल्लो परेर बेहोसीमै भुसुक्कै निदाएको सम्झना आयो मलाई। ती रामबहादुर थापालाई लेखकले कति मजाले सम्झेका छन्। रामबहादुर, राँकेभुत र अर्घाखाँची पाठकले कहिल्यै नबिर्सने नाम हुन् त्यो उज्यालो कर्णालीभित्र।

मलाई मनपर्ने यो किताबभित्रको गोप्य कुरा हजुरहरूलाई भन्छु है! हामी कर्णाली जाँदा कहाँ बस्ने, कुन होटल राम्रो भनेर खोज्नु पर्दैन। जहाँ रात बस्छन् लेखक, त्यो होटलको नाम पनि राखेका छन् उनले यो पुस्तकभित्रः

जुम्लाको काञ्जिरोवा होटल

गमगढीको चन्दननाथ होटल

राराताल छेउमै भिलेज हेरिटेज होटल

ताल्चामा वसन्त होटल

खलङ्गा बजारको रिग्मो होटल

मान्मको ह्वाइट गेष्टहाउस

उनले पुस्तकमा प्रयोग गरेका अप्ठ्यारा शब्दहरू मैले लेखेर राखेकी छु, साथै यी होटलका नाम पनि मैले डायरीमा नोट गरेकी छु किनभने मलाई कर्णाली जानु छ।

यस कृतिमा हामी त्यो कर्णालीको भ्रमण गर्छौं जुन कर्णालीको विकटता भन्दा त्यहाँको साँस्कृतिक सम्पन्नतासँग एकाकार हुन पुग्छौं। “कोही मर्दा समेत ‘सुर्जबाजा’ वा ‘आरतीबाजा’ बजाएर मृत्युलाई सम्मान गर्ने र घरबाट मृतकको लास निकाल्दा पनि ‘इन्द्रबार’ गाएर स्वर्गका राजा इन्द्रलाई समेत आज तिम्रो राज्यमा यहाँबाट कोही आउँदैछ है, याद गर्नू, राम्रो स्वागत गर्नू भनेर खबर पठाउने ठाउँ हो ‘कर्णाली’ नेपालमा अन्यत्र कतै छ यस्तो शानदार र समृद्ध संस्कृति?” (पृ. ८७)

उनी राराको पानी छोएर रारासँग विनम्र अनुरोध गर्छन्। “रारा, सक्छ्यौ भने यी कुपात्रहरुको दिमागमा पनि अलिकति जिम्मेवारीको चेतना भरिदेऊ न सुन्दरी! तिम्रो कञ्चन पानीमा नुहाएर फर्कनेहरु पनि कसरी यति विषालु बन्न सके? सगरमाथाको देशका मान्छेको बौद्धिक स्तर किन यति होचो भयो? यो सबै देखेर पनि किन चुपचाप छ्यौ रारा?” (पृ. ९२)

राराको छेउको बाक्लो वनजङ्गल बिक्री गर्दै गरेको सुनेर लेखक दुःखी हुँदै भन्छन्–“पोखरातिरका केही बल मिचाहाहरुले फेवाताल सिध्याएकै छन्। रारातिर पनि पसे त ? फेवाको रोग रारामा फैलन दिनुहुन्न। कर्णाली एउटा नदीमात्र होइन, सभ्यता नै हो। यसलाई कर्णाली वा सिञ्जा सभ्यता भनिन्छ ।” (पृ. १२३)

हाम्रा नेताहरुलाई अलिकति पढिदेउन भन्दै अनुरोध गर्ने लेखक किताबको नामसम्म भनिदिन्छन् यसरी –
“हेर, पैसा हातमा पर्दै गएपछि मान्छे कसरी सधैंभरि कम्युनिष्ट रहिरहन सक्तैन भन्ने थाहा पाउन मन छ भने पर्ल एस बकले लेखेको नोबेल पुरस्कार विजेता कृति ‘द गुड अर्थ’ पढ। अंग्र्रेजीमा पढ्न सक्तैनौ भने नेपालीमै पनि उपलब्ध छ। टीकाराम शर्माले गरेको अनुवाद ‘कल्याणी– धरती’ का नाममा। यो त तिम्रै कथा हो नि कामरेड पढ है।” (पृ. १३३)

भगवान् दत्तात्रेय र बाबा चन्दननाथ विराजमान हुनुभएको जुम्ला। कर्णाली प्राविधिक शिक्षालयले देशकै पहिलो र ठूलो हुने गर्व बोकेको। विश्वमा नै सर्वाधिक उचाइमा धान खेती हुने ठाउँ। जुम्लाको यो उज्यालोलाई, कर्णालीको यो प्रकाशलाई, महान् सिञ्जा साम्राज्यको यो आलोकलाई देशैभरि फैलाउन लेखक सम्पूर्ण नेपालीलाई विनम्र अनुरोध गर्छन्।

लेखक प्रतीक कर्णालीको बारेमा यसो भन्छन् –
“उहिले नै हामीले बालककालमा प्रयोग गरेको लालटिनको सिसा हो जुम्ला, पुछ्नु मात्रै पर्छ–उज्यालो र चम्किलो भैहाल्छ। यसका दागहरू नजाने खालका छैनन्। अलिकति महिला शिक्षा, अलिकति सशक्तिकरण, अलिकति दृष्टिकोणमा परिवर्तन, अलिकति भू –उपयोग र अलिकति सामाजिक विभेद हटाउन सके जुम्ला नेपालकै एक उदाहरणीय सुन्दर भूमिमा परिणत हुनेछ।”

साँच्चै नै, चार वर्ष लगाएर लेखेको यो पुस्तकले कर्णालीलाई छर्लङ्ग ऐना जस्तै देखाइदिएको छ । यति सुन्दर पुस्तकले पाठकलाई कर्णालीको यात्रा गराउने नै छ । प्रतीक ढकालको नियात्रा लेखनले निरन्तरता पाइरहोस्, हार्दिक शुभकामना।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *