वाग्मती सफाइ महाअभियान ४४१ औँ हप्तामा
काठमाडौं ।वाग्मती सफाइ महाअभियानको ४४१औँ हप्तामा सिनामङ्गल पुलमुनिको नदी किनार सफाइ गरी सात मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ ।
पशुपतिस्थित आर्यघाट र भष्मेश्वर घाटमा शव जलाएपछि वाग्मतीमा फालिएका बाँस एवं खट त्यस क्षेत्रमा धेरै भेटिएको अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिका सञ्चालक सदस्य डा माला खरेलले जानकारी दिए । नदी किनारमा नियमित फोहर पनि नउठाएको अवस्थामा भेटिएको थियो । आजको सफाइमा उठेको फोहर भने काठमाडौँ महानगरपालिकाको गाडीले व्यवस्थापन गरेको थियो।
सफाइमा मुख्य अभियानकर्मी एवं पूर्व मुख्यसचिव लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिनालगायत अभियानकर्मी गरी २०० भन्दा बढीको सहभागिता थियो । कोभिड सुरु भएपछि पहिलोपटक आज नेपाल प्रहरीको सानो समूह पनि सफाइमा सहभागी भएको थियो । विसं २०७६ चैतपछि कोरोना महामारीका कारण प्रहरीसहित नेपाली सेना र सशस्त्र प्रहरी सफाइमा सहभागी हुनसकेका थिएनन् । अर्को हप्तादेखि अरु सुरक्षा निकायलाई पनि सफाइका लागि बोलाउने विषयमा छलफल भइरहेको जनाइएको छ ।
यसैगरी आजै मनोहरा सफाइ तथा सम्पदा बचाउ नागरिक अभियानको नेतृत्वमा हुने मनोहरा सफाइको २४०औँ हप्तामा काठमाडौँ महानगरपालिका–३२ बालकुमारी पुल छेउको नरेफाँटमा सफा गरिएको छ । १०० अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट एक गाडी फोहर उठेको सफाइ संयोजक चन्द्र दङ्गालले जानकारी दिए।
विसं २०७० जेठ ५ गतेदेखि महाअभियान सुरु भएको हो । त्यसदिनदेखि प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा वाग्मती सफाइ हुँदै आएको छ । महाअभियान सुरु भएदेखि प्रत्येक हप्ता शनिबार चाडबाड, जाडो, गर्मी प्राकृतिक विपद्मा पनि महाअभियान रोकिएको छैन ।
Facebook Comment