पाँचथर बस दुर्घटनाः मृत्यु हुनेको संख्या चार पुग्यो, थप उपचार पर्खिंदै घाइतेहरू

डिसी नेपाल
८ कार्तिक २०७८ १७:००

पाँचथर । फिदिम नगरपालिका–४ सरखण्डेमा आज दिउँसो भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या चार पुगेको छ । दुर्घटनामा घाइते भई उपचारका लागि अस्पताल ल्याइएका चार जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

जसमध्ये तीन जनाको सनाखत भएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका अनुसार दुर्घटनामा घाइते भएका मोरङ लेटाङ नगरपालिका–६ का ७ वर्षीय प्रज्ज्वल मगरको फिदिमको पाथीभरा अस्पतालमा, इलामकी ३४ वर्षीया प्रमिला देवानको पाँचथर जिल्ला अस्पतालमा तथा उनकै सात महिने छोरा निश्चल देवानको समर्पित अस्पताल फिदिममा उपचारका क्रममा मृत्यु भएको हो ।

समर्पित अस्पतालमै मृत्यु भएका एक महिलाको पहिचान हुन नसकेको कार्यालयले जनाएको छ । दुर्घटनामा थप ६१ जना घाइते छन् । घाइतेमध्ये हालसम्म ११ जनालाई थप उपचारका लागि तराईका सुविधासम्पन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ । अन्य घाइतेहरूलाई समेत उपचारका लागि जिल्ला बाहिर पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

फिदिम नगरपालिका–४ शिवादोभानबाट झापाका लागि हिँडेको को१ख ३८६५ नम्बरको बस फिदिम नगरपालिका–४ सरखण्डेमा सोमबार दिउँसो दुर्घटनामा परेको हो । अर्को सवारी साधानलाई उछिन्ने क्रममा बस सडकबाट करिब २० मिटर तल सडकमै खसेको थियो ।

थप उपचार पर्खिंदै घाइतेहरू
दुर्घटनाका यात्रु तीन घण्टादेखि थप उपचारको प्रतीक्षामा छन् । जिल्ला अस्पतालसहित अन्य दुई निजी अस्पतालमा पुर्‍याइएका घाइतेहरूमा रहेको चोट पटकको पूर्ण परीक्षण तथा उपचार हुन सकिरहेको छैन ।

तीनवटै अस्पतालका स्वास्थ्यकर्मीहरू घाइतेहरूको उपचारमा जुटे पनि अधिकांश घाइतेहरूको अवस्था गम्भीर हुनाले उपचार हुन सकिरहेको छैन । अधिकांश घाइतेहरू रगतपच्छे छन् । जिल्ला अस्पतालमा बेड खाली नभएपछि वैकल्पिक व्यवस्थापन गरेरसमेत स्वास्थ्यकर्मीहरू घाइतेको उपचारमा जुटेका छन् ।

तर, अधिकांश घाइतेहरूलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लैजानु पर्ने अवस्था देखिएको छ । कतिपय घाइते बोल्न नसक्ने अवस्थाका छन् भने केही बालबालिकासमेत छन् ।

स्वास्थ्यकर्मीहरूका अनुसार घाइतेहरूलाई बाहिर जिल्लाका अस्पतालमा रिफर गर्न एम्बुलेन्ससमेत अभाव भएको छ । घाइतेहरूको उपचारका लागि हेलिकप्टरको प्रवन्ध गरिएको बताइए पनि हालसम्म हेलिकप्टर आइसकेको छैन । दुर्घटनामा थप ६१ जना घाइते छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *