काष्ठमण्डप पुनःनिर्माण कात्तिक मसान्तसम्म सम्पन्न हुने
काठमाडौं । ऐतिहासिक काष्ठमण्डपको पुनःनिर्माण यही कात्तिक महिनासम्म पूरा हुने भएको छ ।
दसैँअघि नै सक्ने लक्ष्य राखिए पनि अझै केही काम बाँकी रहेकाले ढिलाइ भएको थियो । अब जस्तोसुकै अवस्था आए पनि यही कात्तिक मसान्तसम्म भने सबै काम सम्पन्न गर्ने निर्माण समितिले जनाएको छ ।
सो सम्पदाको अहिले ९८ प्रतिशत काम सम्पन्न भएको छ । यही महिनाको अन्त्यसम्ममा काम सम्पन्न गर्ने निर्माण समितिको योजना छ । काष्ठमण्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यका अनुसार थोरै काम मात्र बाँकी रहेको छ । “केही अवरोध नआए ढुक्कसँग यही कात्तिक महिनाभित्र काम सम्पन्न हुन्छ”, उनले भने ।
विसं २०७२ को वैशाख १२ गते आएको भूकम्पले काष्ठमण्डप पूर्णरूपमा क्षति भएको थियो । उक्त सम्पदा पुनःनिर्माणका लागि काठमाडौँ महानगरपालिकाले आर्थिक सहयोग गरेको छ । पुनःनिर्माणको काम २०७५ को वैशाखदेखि सुरु गरिएको हो । निर्माणका लागि कामपाले हालसम्ममा रु ११ करोड ५० लाख दिइसकेको छ ।
पुनःनिर्मित उक्त ऐतिहासिक सम्पदामा गत साउन दोस्रो साता मूल गजुर भित्र्याइएको थियो । काष्ठमण्डपसँगैको श्रीखण्डतरुमूल महाविहारभित्र तीन दिनसम्म गुप्त तान्त्रिक पूजा गरी उक्त गजुरलाई भित्र्याइएको हो । गजुरलाई काष्ठमण्डपभित्र बिसाइसकेपछि सिँख्वःमूबहाःया पण्डित प्रा यज्ञमानपति बज्राचार्यको नेतृत्वमा सोही बहालका गुर्जुबाट चर्या नृत्यसहित प्रतिस्थापन पूजा गरिएको थियो ।
उक्त सम्पदा पुनःनिर्मणका लागि जम्मा १७ हजार ५८ क्युबिक फिट काठ प्रयोग भएको छ । प्रयोग भएका काठमध्ये केही यसअघिकै पुराना काठको प्रयोग भए पनि नयाँ केही काठ भने टिम्बर कर्पोरेसन अफ नेपालसँग लिखित सम्झौता गरी ल्याइएको हो ।
पुनःनिर्माण सुुरु भएको तीन वर्षमा सबै काम सक्ने भनिए पनि पटकपटक आएको कारोना महामारीका कारण कहिले निर्माण सामग्री लयाउन समस्या त कहिले कमदारको अभावले गर्दा निर्धारित समयमा पूरा गर्न नसकेको समितिको भनाइ छ । रासस
Facebook Comment