कविता : कहर
मेरो नजिक नआउनु है
महामारीले छोएको छ
मलाई हेरि नरुनु है
मेरै आँसुले आँखा धोएको छ
मसँग कुरा गर्ने हिम्मत
कोही पनि नगर्नु है
मेरो श्वासमा आजभोलि
डरत्रास घुमेको छ
मेरो मुटु नछाम्न्नु कोही
सुस्त – सुस्त धड्केको छ
धड्कनको यही गतिमा
आशाहरु अड्केको छ
वरिपरि आएर मनमा डर
नलिनु है
केही भयो भने
मलाई दोष पनि नदिनु है
दुःख सुख पोख्नलाई नी
मेरो नजिक नआउनु है
दुःख सुख पोख्ने आवाज
परिबन्दमा परेको छ
शरीरभरी महामारीको
कहरै – कहर ढलेको छ।।
प्रतिक्रिया
Facebook Comment