राति ९ बजेसम्म मात्र देउसी-भैलो खेल्न पाइने
काठमाडौं ।जिल्ला प्रशासन कार्यालय काठमाडौंले राती ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने सूचना जारी गरेको छ ।
प्रशासन कार्यालय काठमाडौँले आज सूचना जारी गर्दै कोभिड–१९ सङ्क्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दै देउसी खेल्न पाइने सूचना जारी गरेको हो ।पटाका, आतसवाजीजस्ता विस्फोटक एवं प्रज्वलनशील पदार्थ उत्पादन, ओसारपसार, विक्री वितरण तथा प्रयोग नगर्नसमेत प्रशासनले निर्देशन दिएको छ ।
देउसी भैलो खेल्दा राती ९ बजेसम्म मात्र सभ्य एवं शान्तिपूर्णरुपमा गर्ने र यस्ता कार्यक्रम गर्दा शान्तिपूर्णरुपमा गर्न भनेको प्रशासनले कोभिड–१९ को जोखिम कायमै रहेकाले स्वास्थ्य मापदण्ड पालना गर्नसमेत आग्रह गरेको छ । चाडपर्वका समयमा मादक पदार्थ सेवन गरी सार्वजनिक शान्ति र सुरक्षालाई असर पर्ने गरी सार्वजनिकस्थलमा होहल्ला गर्ने एवं झैझगडा गर्ने कार्यमा रोक लगाइएको प्रशासनले जनाएको छ ।
मठमन्दिर, गुम्बालगायतका धार्मिकस्थलमा अनावश्यक भीडभाड हुन नदिइ स्वास्थ्य मापदण्ड पूर्ण पालना गरी पूजापाठलगायतका अन्य क्रियाकलाप सञ्चालन गर्न पनि अपिल गरिएको छ ।
Facebook Comment