प्रशासन राम्रो भए, विद्यालय सुध्रिन्छ
तुलसीपुर ।सुनसान विद्यालयमा अहिले भरिभराउ विद्यार्थी हुनुको एउटै कारण, ‘प्रशासन सुधार’ विद्यालयको प्रभावकारी व्यवस्थापन भए अभिभावक र विद्यार्थीको आकर्षण बढ्ने प्रअहरुको अनुभव छ । “हामीले गाभिएका विद्यालयलाई अरु केही गरेको होइन, व्यवस्थापनमात्रै सुधार गरेका हौँ”, रझेनाका प्रअ उद्धव न्यौपानेले भन्नुभयो, “हाम्रो जिम्मामा आएपछि शिक्षकलाई समयमै विद्यालय आउने, नियमित पढाउने, विद्यार्थीलाई पनि अनुशासित गराउने काम गर्यौं । यसकै नतिजा हो, विद्यालय सुधार भएको ।”
आफूहरुले पहिले आधारभूत विद्यालय मसिनाका शिक्षकलाई समेत रझेना ल्याएको उनले बताए। अहिले ती शिक्षक नै उत्साहित भएको न्यौपानेको अनुभव छ । “हामीले मसिनाबाट ल्याएर रझेना अध्यापन गराउन लगाएका शिक्षक पनि निकै उत्साहित हुनुभएको छ”, उनले भने, “अहिले त अङ्ग्रेजी माध्यमबाट पठनपाठन गराइरहनुभएको छ, नियमित गृहकार्य दिनुहुन्छ, अनि सबै राम्रो भयो ।”
नगरको अर्को पेचिलो नीति हो, शिक्षक, व्यवस्थापन समितिका सदस्यले अनिवार्य आफ्ना बालबच्चा सामुदायिक विद्यालयमा पढाउनुपर्ने । आफू सामुदायिक विद्यालय पढाउने, छोराछोरी बोर्डिङ पठाउने । यो गलत मनोदशा तोड्न रझेना माविले भूमिका खेलेको छ । उक्त विद्यालयका सबै शिक्षक तथा व्यवस्थापन समितिले अनिवार्य सामुदायिक विद्यालयमै बाबुनानी पढाउनुपर्छ । सोहीअनुसार कार्यान्वयन भयो । यसले सबै विद्यार्थीलाई आफ्ना सन्तान सरह ठान्ने बनाएको प्रअ न्यौपानेको अनुभव छ ।
विद्यालय शिक्षालाई प्रभावकारी बनाउन व्यवस्थापन समितिको पनि उत्तिकै भूमिका हुन्छ भने नियमक निकायको अनुगमन पनि प्रभावकारी भए सामुदायिक विद्यालय सुधार हुने प्रअहरुको अनुभव छ । जुन विद्यालयमा शिक्षक मात्र होइन, व्यवस्थापन समिति पनि क्रियाशील हुन्छ, त्यो विद्यालय पक्कै पनि राम्रो हुन्छ । त्यहाँका विद्यार्थीको भविष्य उज्ज्वल हुन्छ ।
Facebook Comment