पहिलो पटक मनाइयो राजा हिलिहाङको जन्मोत्सव

डिसी नेपाल
१९ कार्तिक २०७८ १८:२९

काठमाडौं ।नेपाल एकीकरणपूर्व तत्कालीन विजयपुर राज्यअन्तर्गत पर्ने याङवरक थुम (जिल्ला)का अन्तिम राजा हाङ हिलिहाङ योङहाङको पहिलो पटक जन्मोत्सव मनाइएको छ ।

राजा हिलिहाङको २९५औं जन्मजयन्तीका अवसरमा बिहीबार पाँचथरको हिलिहाङ गाउँपालिका–४ स्थित ऐतिहासिक हिलिहाङ दरबारको भग्नावशेष क्षेत्रमा कार्यक्रमको आयोजना गरी जन्मोत्सव मनाइएको हो । राजा हिलिहाङको जन्मोत्सवका अवसरमा उक्त क्षेत्रमा स्थापित प्रतिमामा माल्यार्पण गरिनुका साथै उनको योगदानको चर्चा गरिएको थियो ।

नेपाल एकीकरणका लागि अगाडि बढेको गोरखाली फौजसँग १७ पटकसम्म अपराजित याङवरक थुमका राजा हिलिहाङले वि.सं. १८३१ मा आफ्नो राज्यलाई स्वशासनको अधिकार सहित नेपालको मातहतमा राख्न सम्झौता (लालमोहर) गरेका थिए । हिलिहाङको योगदानकै कारण एकीकरण अभियान सफल भएको र नेपालको अहिलेको स्वरूप कायम भएको भन्दै जन्मजयन्तीका अवसरमा राजा हिलिहाङको जन्मोत्सवलाई पर्वका रूपमा मनाउन तथा राष्ट्रिय विभूति घोषणा गर्न यहाँका सरोकारवालाले मागसमेत गरेका छन् ।

हिलिहाङ गाउँपालिका र हिलिहाङ फाउन्डेसनले विगत पाँच वर्षदेखि भग्नावशेषमा परिणत दरबार क्षेत्रको संरक्षण, इतिहासको खोजी तथा हिलिहाङको पहिचान झल्कने संरचना निर्माण गर्दै आएका छन् । यस क्रममा दरबार क्षेत्रमा राजा हिलिहाङको सालिक निर्माण गरिएको छ भने मेची राजमार्गबाट दरबार क्षेत्र प्रवेश गर्ने स्थानमा प्रवेशद्वार र सोको माथि सालिक निर्माण कार्य अन्तिम चरणमा पुगेको छ ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *