पुस्तक समीक्षा :प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भएपनि बाँदरको हातमा नरिवल

डिसी नेपाल
२० कार्तिक २०७८ ७:४१

‘नेपालका लागि शान्ति र समृद्धि ‘आकाशको फल आँखा तरी मर’ नै भयो। प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र जे भएपनि ‘बाँदरको हातमा नरिवल’ भएको इतिहास साँक्षी छ।’ यी दुई वाक्य प्राध्यापक डाक्टर तीर्थप्रसाद मिश्रले लेखेको ‘आखिर दोषी को?’ नामक पुस्तकबाट लिइएको हो।

प्रध्यापक मिश्रले उक्त पुस्तकमा समावेश गरेको २१ वटा इतिहासलाई आधार मानेर लेखिएका लेखहरुले नेपाल किन सकसै सकसको जीवन जीउन बाध्य छ भन्ने कुरालाई प्रमाणित गर्ने प्रयास गरेको छ। नेपालको इतिहासलाई विभिन्न पाटाबाट केस्राकेस्रा गरेर उदार्दै कहिले स्तुतिगानको इतिहास त कहिले दोषारोपणको प्रतिस्पर्धाले इतिहासमा परेको प्रभावलाई सप्रमाण उल्लेख गरिएको देखिन्छ।

नेपालको राजनीतिमा महिलाले पारेको प्रभावदेखि उपन्यासबाटै इतिहास खोतल्न गरिएका प्रसंगहरुलाई सविस्तार बर्णन गरिएको छ। कोरोनाको कहरका बेला लेखिएका विभिन्न लेखहरुको संगालोको रुपमा आएको पुस्तकमा कोरोनाकै बेला भएका वेथितीहरुलाई सुक्ष्म रुपमा केलाएर यसमा पनि राजनीतिक इच्छा शक्तिको कमजोरी, लापरवाहीले हामीले के कस्ता समस्याहरु भोग्नु परिरहेको छ? भन्ने विषयलाई बढी चित्रण गर्ने प्रयास गरिएको छ।

नेपालीहरुले धेरै उखान तुक्का बनाएका छन्। उखाने प्रधानमन्त्री भनेर नाम कमाएका केपी शर्मा ओलीको प्रसंग झिकेर प्रध्यापक मिश्रले आफै धेरै उखान तुक्काहरु प्रयोग गरेर एउटा लेख नै पूरा गरेका छन्। जसमा भिनएको छ, ‘राजनीतिक पार्टीका मुखियाहरुले ‘तैँ बाहुन मै बाहुन घरका पैसा कतै नजाउन’ भन्ने नीति लिएको भनेर व्यङ्ग्य गरेको पाइन्छ। अर्थात नेपालका सबै नेताहरुले मिलिजुली भ्रष्टचार गरे। नेपालको यो स्थिति आउनुमा सबैको मिलिभगत छ भन्ने देखिन्छ।

नेपालको राजनीतिमा महिलाले पारेको प्रभावदेखि उपन्यासबाटै इतिहास खोतल्न गरिएका प्रसंगहरुलाई सविस्तार बर्णन गरिएको छ। कोरोनाको कहरका बेला लेखिएका विभिन्न लेखहरुको संगालोको रुपमा आएको पुस्तकमा कोरोनाकै बेला भएका वेथितीहरुलाई सुक्ष्म रुपमा केलाएर यसमा पनि राजनीतिक इच्छा शक्तिको कमजोरी, लापरवाहीले हामीले के कस्ता समस्याहरु भोग्नु परिरहेको छ? भन्ने विषयलाई बढी चित्रण गर्ने प्रयास गरिएको छ।

उनले सोही लेखमा अहिले खुबै चर्चामा रहेका पूर्व राजा ज्ञानेन्द्रका बारेमा समेत यसरी उल्लेख गरेका छन, ‘राजा ज्ञानेन्द्रको गति ‘म ताक्छु मुढो बञ्चरो ताक्छ घुँडो’ जस्तै भयो। उनैको कार्यले उनी आफू त गएगए नेपालबाट राजसंस्थालाई पनि लिएर गए।’ ‘न रहे बाँस न बजे बाँसुरी’ भयो। यस्तो विचारले नेपालमा राजसंस्थालाई फाल्नुमा राजा ज्ञानेन्द्र नै दोषी रहेको मिश्रको तर्क देखिन्छ।

तर, मिश्रले राजालाई मात्र होइन नेताहरुलाई समेत उखानकै आधारमा मूल्याङ्कन गरेको पाइन्छ। उनले लेखेको एउटा प्रसङ्ग यस्तो छ, ‘काले काले मिलेर खाउँ भाले’ तर्फ नेता गए। जनता चाँही अमिलो चामल खाएर ‘हिस्स बुढी हरियो दाँत’ भए। ’ यी भनाइहरुले नेपालको अहिलेको नेता र जनताको सटिक विश्लेषण भएको देखिन्छ।

हुनत मिश्रले उखानबाटै यस्तो हुँदाहुँदै पनि नागरिकहरुले भने प्रत्येक निर्वाचनमा ‘अड्को पड्को तेलको धुप’ भन्दै तिनै नेतालाई विश्वास गरिरहेको आरोप लगाएका छन्। उनले थपेका छन्, ‘तँ आइस मोही लिएर जा, गोठाला पठा दुध दिउँला’ भन्दै रहे, हामी पत्याउँदै गयौं।’ हामी नेपालीहरुले मिश्रले भनेजस्तै नेताहरु धुर्तभए भन्ने थाहा पाउँदा पाउँदै पत्याउने क्रम भने छोडेका छैनौं। बर्तमानमा हाम्रो अवस्थाको सही विश्लेषण भएको छ।

हामीले ‘बाबु दुष्ट र नेता इष्ट’ हुँदैन भन्ने हेक्का राख्न नसक्दा नै यो हालत भएको उनको विचार रहेको छ। नेताहरुले ‘खोला तर्यो लठ्ठी विर्सियो’ जस्तै गरिरहेका छन्। यस्तो अवस्थामा जनता सजक हुनु पर्नेमा हामी फेसबुके नशामा तृप्त भएको आरोप अति पो भयो कि भन्ने लेखमा उल्लेख गरेका छन्।

मिश्रले फेसवुकको नशा त राजनीति, मदिरा र धुम्रपान गर्नेभन्दा पनि कडा भएको उल्लेख गरेका छन्। सामाजिक सञ्जाल हेर्दा नेताहरुले आफ्नै हिजोको सहकर्मिहरुको अति अमर्यादित शब्दहरु प्रयोग गरी भत्सर्ना र खेदो गरेको देख्दा नेपालका नेता शब्दमा नै विचलन भएझैं देखिन्छन् भनेका छन्।

मिश्रले विक्रम सम्बत २०४६ देखि २०७७ सम्म नै नेपालको राजनीतिमा मठाधिस भई हालिमुहाली गर्ने तिनै म्याद गुज्रिएका नेताहरु जसले देशको चिन्ताभन्दा आफ्नो पार्टीको र आफ्नो पार्टीको भन्दा स्वयं आफ्नो स्वार्थमा रुमलिएको उल्लेख गरेका छन्।

सतिले सरापेको देशको रुपमा चिनिएको नेपालमा राजा महाराजा र प्रधानमन्त्रीहरुको प्रशस्ती गाउनलाई नै ठूलो काम हो भन्ने केही बौद्धिक बर्गले गरेकाले हामीले पढ्ने इतिहासमा समेत कसैकसैलाई अतिरञ्जीत गरेर प्रशंसा गरिएको मिश्रले टिप्पणी गरेका छन्।

नेपालको पहिलो प्रमाणिक राजा मानदेवका बारेमा लेखिएको चाँगुनारायणमा भेटिएको शिलालेखमा समेत उनलाई पराक्रमी, धैर्यवान, सहनशील दुनियाँलाई प्रेम गर्ने कामदेव जस्ता भनेर बर्णन गरिएको छ। यो नै चाकरी गर्न लेखिएको हो भन्ने दावी मिश्रको छ। त्यसैगरी पृथ्वीनारायण शाह समकालिन कवि ललिताबल्लभले पृथ्वीन्द्र वर्णोदय र भक्त विजय जस्ता काव्यहरुमा पृथ्वी नारायण शाहको भएभन्दा बढी प्रशस्ती गाएका छन्।

पछिल्ला शाह वंशीय राजाहरुले समेत आफूलाई राम्रो पराक्रमी, जनताको पिरमार्का बुझ्ने भन्ने विशेषताहरु जोडेर भए नभएको लेख्न लागएका धेरै उदाहरणहरु मिश्रले आफ्नो पुस्तकमा प्रमाण सहित प्रस्तुत गरेका छन्। २०४७ साल पछिका राजनीतिक पार्टीका नेताहरुको पक्षमा प्रशंसा गरेर लेख, पुस्तकहरु प्रकाशन गर्ने, सके उनीहरुकै जीवनमा आधारित भएर एम.ए.को थेसिस लेख्ने, अझ सकिए विद्यावारिधीकै शीर्षक उनीहरुकै विषयमा बनाएर पार्टी र नेता जनिक हुन खोज्ने होडबाजी चलेको कुरा लेख्न मिश्रले छोडेका छैनन्। मिश्रले गुनगान गाउनेकै बढी सम्झना गर्ने र अवसर दिने राजा र नेताहरुको बानिले गर्दा नेपाल पटक पटक सकसमा परेको देखिएको छ।

लिच्छवीहरुले किराँतलाई ‘सठ’ भन्नु। बहुदलबादीहरुले राणा शासनको विरुद्ध अहिलेसमेत जथाभावी भनी रहने चलन रहेको बताएका छन् । यस्तै पञ्चायती पक्षधरले बहुदलीय व्यवस्थाको र बहुदलीय व्यवस्था पक्षधरहरुले पञ्चायतका विभिन्न नकारात्मक उदाहरणहरु दिएर विरोध गर्ने चलन छ ।

त्यसरीनै अहिले राजनीतिक पार्टी पार्टीबीच र एउटै पार्टीका पनि गुट र उपगुटबीच एकअर्कालाई तथानाम गाली गर्ने प्रचलन बढेको छ। यसलेगर्दा नेता हुनका लागि अरुलाई लागि गर्ने सीप हुनपर्दछ भने जसरी स्वयं नेताहरु नै परिशिक्षित भएका हुन् की भन्ने अनुभुति भएको मिश्रको ठम्याई छ।

प्राध्यापक मिश्रले लेखेको २३२ पृष्ठको पुस्तकको प्रकाशकका रुपमा निकिता मिश्र पाण्डेय रहेकी छिन्। लेखक प्राध्यापक डाक्टर तीर्थप्रसाद मिश्रले त्रिभुवन विश्वविद्यालयमा ४१ बर्ष प्रध्यापन पेशा अंगाल्दा एसियाली अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकदेखि त्रिभुवन विश्वविद्यालयको इतिहास विभागको विभागीय प्रमुख समेत रहेर कार्यअनुभव बटुलेकोले पुस्तकका सबै लेखहरुलाई एतिहासिक फ्लेबर दिन खोजिएको जस्तो देखिन्छ।

नेपालको इतिहास जान्न बुझ्न चाहनेहरुको लागि यो पुस्तक उपयोगी छ। नेपालको किराँतकालदेखि ओलीकालसम्मका विविध सन्दर्भहरुले भरीपूर्ण रहेको यस पुस्तकले नेपालको स्तुतीगानको इतिहास, दोषारोपणको इतिहास, महिलाको महत्वकांक्षाको इतिहासलाई सुक्ष्म रुपमा विश्लेषण गरेको पाइन्छ।

१६ वटा पुस्तक र सय भन्दा बढी अनुसन्धानात्मक लेखहरु लेखिसक्नु भएका प्राध्यापक मिश्रले नेपाली परिवेशमा आधारित भएर कोरोनाले लकडाउन हुँदाको समयलाई लेखन कार्यमा लगाई प्रकाशित गर्नु भएको पुस्तकले नेपाललाई बुझ्न चाहनेहरुले एउटा थप दस्तावेज प्राप्त गरेका छन्। मिश्रका यस्तै जनउपयोगी कृतिहरु अझ पढ्ने अवसर नेपालीहरुले प्राप्त गरुन्। लेखकको अनुभव र अनुभुतिहरु नेपालको विकासका लागि प्रेरणादायी स्रोत बनोस । पुस्तक लेख्नु भएकोमा लेखकलाई मुरीमुरी धन्यवाद।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *