मानेभन्ज्याङमा सुख्खा पहिराे: बस्ती जाेखिममा, दूधकोसी थुनिँदै
ओखलढुंगा। ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका- ३ स्थित दुधकोसी करिडोर सडक खण्डमा गएको सुख्खा पहिरोले दूधकोसी थुनिएर बस्ती नै जोखिममा परेको छ।
उँबुको चुने भन्ने ठाउँ नजिकै २० दिन पहिले सुख्खा पहिरो जान सुरु भएको हो। दसैँमा परेको भीषण वर्षा रोकिएपछि पहिरो सुरु भएको स्थानीयले बताए । उक्त पहिरो हालसम्म अनुमानित २५० मिटरभन्दा अग्लो भएर झरिसकेको छ।
एक साताअघिसम्म भीषण रूपमा झरेको पहिरो अहिले केही रोकिएको छ। पहिरोबाट झरेको ढुंगा-माटो सिधै दूधकोसी नदीमा खसेका कारण नदीको पानीको बहावसमेत केही मात्रामा रोकेको छ। दूधकोसी करिडोरअन्तर्गत जयरामघाट-मोली सडक खनेकै ठाउँबाट पहिरो झर्न सुरु गरेको स्थानीयको भनाइ छ। बेलाबेलामा ठूलो मात्रामा पहिरो खस्दा त्यसको धुलो उँबुको तल्लो भेग फकुल गाउँसम्मै आइपुग्ने गरेको स्थानीय कल्याण राईले बताए।
स्थानीयका अनुसार पहिरोका कारण मानेभन्ज्याङ गाउँपालिका- ६ मा पर्ने रिब्दोम गाउँका करिब १२ घर जोखिममा छन् । त्यसैगरी सोदु कुरुब्वामलुङ गाउँका स्थानीय र केटाकेटीहरू विद्यालय जाने, अर्को गाउँ जाने बाटो नै बन्द भएको छ । खचापुलगायतका गाउँलेहरू जयरामघाट बजार जान एक घण्टाभन्दा बढी समय घुमेर पहिरोको शिरबाट जोखिमयुक्त बाटो प्रयोग गर्न बाध्य छन् ।
पहिरोबाट झरेको ढुंगा-माटोले दूधकोसी नदीको करिब २० प्रतिशत बहाव रोकेको जयरामघाटका स्थानीय मिलन राईले बताए । पानीको बहाव छेकेपछि नदीको पानी खोटाङको हलेसी तुवाचुङ नगरपालिकातर्फ पर्ने जंगल पसेर बग्न थालेको छ । यस ठाउँमा पहिले पहिरो नभएकाले सडक खनेकै कारण पहिरो सुरु भएको स्थानीयको अनुमान छ ।
पहिरोबारे स्थानीय सरकारले बेवास्ता गरेको सरोकारवालाको गुनासो छ । स्थानीय विपद् व्यवस्थापन समितिमा यसबारे छलफलसमेत नभएको र जिल्लाको समितिले समेत पहिरोको जोखिमबारे चासो नदिएको पहिरो प्रभावितको गुनासो छ ।
पहिरोको जोखिमबारे सोध्दा मानेभन्ज्याङ- ३ उँबुका अध्यक्ष मेडल राईले पहिरोबारे आफूले सुनेको बताए । उनले भने, ‘यसबारे जानकारी आएको छ, म पुग्न सकेको छैन। फेसबुकमा आएका तस्बीर हेर्दा दूधकोसीको धार नै परिवर्तन भएको छ ।’ उनले यसबारे अध्ययन गर्ने बताए पनि पहिरो नियन्त्रणबाहिर गएको जनाए।
Facebook Comment