घुर बार्ता : भ्रष्टचारीको डङ्गुर

डिसी नेपाल
२७ कार्तिक २०७८ १२:२६

सर्बोच्चमा प्रधानन्यायाधिशको राजीनामा मागिरहेको विषयमा मधेसको गाउँमा शनिवार विहान जाडोबाट बच्न घुरमा आगो ताप्नेहरुले गरेको ‘घुरबार्ता’लाई यहाँ प्रस्तुत गरिएको छ।

(चीसो बढेको छ। शनिवार विहान मधेसको एक अधिवक्ताको गाउँको घरमा ठूलो घुर लगाइएको छ। घुर ताप्न गाउँका सरकारी र बैंकका कर्मचारीहरु, शिक्षक, क्याम्पस पढ्ने विद्यार्थी, पूर्व प्रहरी, बृद्ध, महिला, बालबालिका विहानै विहान भेला भएका छन्। सधैंभन्दा शनिवारको घुरमा राष्ट्रिय विषयमा कुरा चल्छ। कार्यालयहरु विदा हुने भएकोले कर्मचारी, वकिलहरु घुरमा आगो ताप्न पाउँछन्। आजको घुरको गफ सर्बोच्चको विवादमा केन्द्रित हुन्छ।)

गाउँका एक बृद्ध : वकिलसाव । के हो, सर्बोच्चमा तपाईँका साथीहरुले त प्रधानन्यायधीशको राजिनामा माग्दै ढोकामै धर्ना दिएछन् नि?

अधिवक्ता : हो, भ्रष्टचारीले राजिनामा दिनु पर्दछ। प्रधानन्यायाधिस चोलेन्द्र शमशेर भ्रष्टचारी हुन्।

बृद्ध : वकिलसाव जुलुशमा जाने वकिलहरु भ्रष्टचारी छैनन् त ?

अधिवक्ता चुप रहे।

वकालत पढ्दै गएको विद्यार्थी : हो, बाबाको कुरा ठीक हो। वकिलसाव ! म पढ्दै गरेको कलेजमा समेत यस बारेमा कुरा भइरहेको छ। न्यायधीशलाई भ्रष्ट बनाउन उकास्ने त वकिलहरु नै हुँदा रहेछन्।

बालक : (वकिलतिर हेर्दै) काका तपाई पनि त वकिल हो। गाउँमा मान्छेहरुलाई हजुरले पनि घुस खानुहुन्छ ? घुसको पैसाले सदरमुकाममा घर नै बनाउनु भाको छ भन्छन्।

अधिवक्ता : कसले भनेको ? (झोक्किदै सोधे) त्यो सबै दुश्मनले भनेको। अरुको प्रगती देख्न नचाहनेले मलाई घुस खाएको भनेको। मैले मिहिनेत गरेर कमाएको हो बाबु। कसले भन्यो त्यसरी?

बालक : हाम्रो घरमा बुबा, अंकलहरुले कुरा गर्नु भएको।

अधिवक्ता : आफूले कमाउन सकेनन् अनि डाहा गरेका होलान । बाबु तिमीपनि राम्रो पढेर मजस्तै कमाउनु । अरुको चुगली लगाउनेका कुरा नसुन्नु।

बृद्ध : बच्चाले ठीकै भन्दै छ त वकिलसाब । मलाई पनि वकिलसावले कसरी त्यत्रो पैसा कमाएर शहरमा पक्कि घर बनाउनु भयो लागेको थियो। अदालतमा न्यायाधीशहरु भ्रष्टचारी हुन्छन् कि वकिलहरु?

अधिवक्ता : न्यायाधिसहरु सबै भ्रष्टचारी हुँदैनन्। नत वकिल नै सबै भ्रष्टचारी हुन्छन्, काका । मुद्दाको अवस्था हेरी झगडीयाहरुले जसरी पनि जीत्नुपर्दछ भन्नेले पैसा खर्च गर्दछ। त्यो पैसा केही वकिलमार्फत र केही न्यायाधीशका नजिकका नातेदारहरुमार्फत संकलन गर्ने भएकोले न्याय प्रभावित भएको हो। तर, मैले घुस खाएको छैन। मैले त बहस गरेको र मुद्दा लेखेको फीमात्र लिएको हूँ।

वकालत पढीरहेका विद्यार्थी : वकिलसाव त्यतिमात्र होइन रे। नेताहरुले नै आफ्नो पक्षका वकिललाई न्यायाधीश बनाउने रहेछन् नी ? सर्बोच्चको सबै न्यायाधीशहरु कुनै न कुनै पार्टीको सिफारिसमा नियुक्त भएकारे नि ?

अधिवक्ता : त्यो त हो भाइ । यहाँ यस्तै चलन छ । के गर्ने ?

शिक्षक : होइन, वकिल साव, अघीदेखि म तपाईको कुरा सुनिरहेको छु । प्रधानन्यायाधीश भ्रष्टचारी हुन् भन्नु हुन्छ। तर मलाई त न्यायलयका सबै न्यायाधीशहरु भ्रष्टचारी हुन जस्तो लाग्छ । जस्तै संबैधानिक इजलाशका पाँचैजना न्यायाधीशले लाभ नलिई कसरी परमादेश जारी गरे त?

अधिवक्ता : होला । उनीहरुले पनि खाए होलान्। तर जेठानलाई मन्त्री, सम्धीलाई राजदुत किन मागेका त? पहिलेका प्रधानमन्त्रीको पालामा संबैधानिक परिषदमा बसेर आफ्ना नजिककालाई पनि संबैधानिक आयोगहरुमा राखेछन्। अरु न्यायाधिसहरुले यस्तो अचाक्ली गरेका छैनन् नि सर।

शिक्षक : अचाक्ली नगरेपनि भ्रष्टचार त गरेका होलान नि ? भ्रष्टचारको मात्रामात्रै फरक होला । तर कोही चोखो छैनन् नी ?

महिला : महिला न्यायाधीश र वकिलहरुले त भ्रष्टचार गरेन होलन नि ?

शिक्षक : हेर न, महिला भनेपछि सबै तपाईजस्तै सोझो, नियत सफा भएको हुँदैनन् नि ? महिला न्यायाधीश र वकिलहरुले पाएसम्म भियाउँछन्।

बृद्ध : हो, हो, सबै भ्रष्टचारी छन्। अनि न्यायाधीश नियुक्ति हुने प्रक्रिया के छ वकिलसाव?

अधिवक्ता :  न्यायपरिषदले नियुक्ति गर्ने हो। तर न्यायपरिषदमा कानुनमन्त्री, नेपाल बार एशोसियशनका प्रतिनिधि र प्रधानमन्त्रीका एकजना प्रतिनिधिसमेतको परिषद बन्दछ।

बृद्ध : ए ! भनेपछि बारले पनि राजनीति नै गर्दछ, प्रधानमन्त्री र मन्त्रीले झन राजनीति नगर्ने कुरै भएन हैन त मास्टरसाब ?

शिक्षक : हो, काका हो । प्रधानमन्त्रीले नभनी उनका प्रतिनिधि र कानुनमन्त्रीले केही गर्न सक्दैनन् । अझ बारका प्रतिनिधि र सरकारका मन्त्री प्रधानमन्त्री एउटै पार्टीका भएमा त कुरै सक्कियो । विचारा वकिलहरु १० बर्ष वकालत गरेपछि मात्र सर्बोच्चको न्यायाधीश हुन योग्य हुन्छन् । तर त्यति योग्यताले मात्र कहाँ पुग्दछ र । त्यसका लागि नेताको भरिया हुनै पर्दछ वकिलहरुले । कसो वकिलसाव ।

अधिवक्ता : हो, सर । हेर्नु न म वकिल भएको १५ बर्ष भयो । तर जहिले पनि वकिलको वकिल नै छु । न्यायाधीश हुनका लागि पार्टीका नेताको साथ लाग्नु पर्दछ । गाउँका चौबनियाँ नेताको पछि लागेर मात्र हुन्न । काठमाडौंका ठूलाठूला नेताले चिनेको हुनुपर्दछ ।  विराटनगर र काठमाडौंका वकिलहरुले मात्र अवसर पाउँछन्। हामीले त संझिने पानी छम्किने ।

शिक्षक : न्यायाधीश हुनका लागि पनि चन्दा दिनुपर्दछ रे नि पार्टीलाई ?

अधिवक्ता : हो, मास्टरसाब हो, त्यो पनि कहाँ छोड्छन् । यहाँ पार्टीको लागि काम गर्ने वकिल त धेरै हुन्छन् । तर पैसावाल र ठूला नेताको किचेनमा पहुँच भएकाले मात्र न्यायाधीश हुने अवसर पाउँछन् ।

शिक्षक : वकिलसाव, यहाँको विचारमा न्यायलयको कुरिती हटाउने उपाय के छ त ?

अधिवक्ता : न्याय परिषद राजनीतिक रंगले ओतप्रोत हुन्जेल र सबैधानिक परिषदमा प्रधानन्यायाधीशको उपस्थिति हुनजेल न्यायलयबाट राजनीतिक हस्तक्षेप हट्दैन । र, जहाँ राजनीतिक हस्तक्षेप हुन्छ त्यहाँ सबैभन्दा बढी भ्रष्टचार हुन्छ, मास्टरसाब ।

शिक्षक : अनि, यो प्रधानन्यायाधीशले मात्र दोषी की अन्य न्यायाधीशहरु पनि दोषी त ?

अधिवक्ता : अपवादमा बाहेक सबै दोषी हुन् । राजनीतिक पहुँचका भरमा नियुक्ती हुने सबै न्यायाधीशको सीर नियुक्तिकै बेलामा निहुरिएको हुन्छ। लगानी लगाएका हुन्छन् वा पार्टीलाई लेवी वा चन्दा बुझाउनका लागि मासिक तलबले मात्र कसलाई पो पुग्दछ र ? त्यसैले भ्रष्टचार गर्न लगभग सबै बाध्य हुन्छन्।

शिक्षक : त्यसो भए, घुस लिने र दिन्या सबै भ्रष्टाचारी हुन भनिन्छ नि ?

अधिवक्ता : त्यो पनि हो ।

शिक्षक : त्यसो भए, वकिलसावहरुले पनि त न्यायाधीशलाई घुस खुवाउँछन् भनेर शम्भुथापाले नै भनेका थिए टेलिभिजनमा । भनेपछि वकिलहरु पनि त एकमानेमा भ्रष्टचारी नै भएनि ? तपाईले गर्नु भएन होला, त्यो बेग्लै होला।

अधिवक्ता : हो, मास्टरसाब, सबै भ्रष्टचारी हुन्। हामीले पनि कहिलेकाँही गर्न नचाहँदा नचाँहदै पनि केही न्यायाधीशलाई घुस खुवाउनु परेको छ।

बृद्ध : होइन, मास्टर साब, तपाईहरुको कुरा सुन्दा त अदालतका न्यायाधीशहरु र वकिलहरु सबै भ्रष्टचारी पो रहेछन् । अनि किन प्रधानन्यायाधीशलाई मात्र बलिको बोको बनाउन खोजेका हुन् ? वकिलसाव।

अधिवक्ता : अहिले बारले चोलेन्द्र शमशेरलाई नै सबैभन्दा ठूलो समस्या देखेको छ । त्यो देख्नुमा भित्री केही कुरा छ, काका । जस्तो कि, परमादेश जारी गर्न चोलेन्द्र शमसेरले चाहेका थिएनन् । उनलाई अन्य चार न्यायाधीशले दवाव दिएर वा वाह्यिदवावमा यसो गर्न बाध्य भएका थिए।

यो रिस प्रचण्डलाई छ जसले गर्दा उनकै पक्षमा रहेका बारका अध्यक्ष अहिले चोलेन्द्रको विरोधमा कस्सिएर लागेका छन् । प्रचण्डको पछिल्लो निष्कर्ष चोलेन्द्र र केपीओलीबीच भित्री साँठगाँठ छ र यसले माधवकुमार नेपाल र डा. बाबुराम भट्टराई, सभामुख सापकोटामाथी सर्बोच्च अदालतमा रहेका मुद्दाहरु उनीहरुको चाहना विपरित फैसला हुन्छ भन्ने त्रास छ।

सबैभन्दा महत्वपूर्ण कुरा चोलेन्द्रले बारका र बारलाई प्रभावित गर्न सक्ने वकिलहरुले मालदार मुद्दाबाट अकुथ सम्पत्ति कमाउने बाटोमा तगारो हालिरहेका छन् । चोलेन्द्र नहटेसम्म सेटिङ्मा भ्रष्टचार गर्न नपाएकोमा काठमाडौंमा हालीमुहाली गर्ने वकिलसावहरुको निन्द्रा हराम भएको छ । त्यसैले हो काका चोलेन्द्र नै सबैभन्दा ठूलो समस्या बनेका।

बालक : ए, हामी त भ्रष्टचारीलाई हटाउन वकिलसावहरुले गरेको आन्दोलन ठीक भनेको छ । उनीहरु पनि भ्रष्टचार गर्न सहयोग गर्ने न्यायाधीशको खोजीमा पो रहेछन् । हैट्, सबै भष्टचारी।

शिक्षक : हो, बाबु हो, सबै भष्टचारी ।
(घुरमा आगो तापेर बसेका वकिलसाव बाहक सबैले एकै स्वरमा भने ‘अदालतमा सबै भ्रष्टचारी ।’ )

पूर्व प्रहरी : अदालतमा सबै भ्रष्टचारी मात्र होइन, गाउँलेहरु हो, ‘अदालत नै भ्रष्टचारको डङ्गुर’ रहेछ । सरकार के हेरेर बसेको छ हौ ?

वकिल : सरकारमा रहेका राजनीतिक पार्टीहरु मध्ये केहीलाई चोलेन्द्र शमशेरलाई हटाउन मन छ त केहीलाई यही बसेठीक छ । अनि सरकार के गरोस त । यसलाई न्यायलयको आन्तरिक मामिला भनेर कानमा तेल हालेर बसेको छ ।

बृद्ध : हामी किसानलाई मात्र सरकारले वास्ता गर्दैन भनेको त, सिंहदरवारमै टाँसिएको सर्बोच्च अदालतलाई त वास्ता गर्दो रहेनछ ? नेपाल त सरकारले होइन, हामी जनताले आपसमा समन्वय गरेर पो चलाएका रहेछौं । जय होस सरकारको ।

शिक्षक : जयहोस भ्रष्टारको डङ्गुरमा रमाउने कालोकोट धारी न्यायाधीश र वकिलहरुको।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *