प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पाए विश्वासको मत

डिसी नेपाल
१ मंसिर २०७८ १४:३८

विराटनगर। प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत पाएका छन्। प्रदेशसभाको बुधबार बसेको बैठकमा मुख्यमन्त्री राईले प्रस्तुत गरेको विश्वासको मतको प्रस्ताव बहुमतले पारित गरेको हो। उक्त प्रस्तावमाथि मतदान भएको थियो।

सभामुख प्रदीपकुमार भण्डारीले मुख्यमन्त्री राईले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा ५० मत परेको र सो मत बहुमत रहेकाले मुख्यमन्त्री राईले प्रदेशसभाबाट विश्वासको मत पाएको घोषणा गरे।

उनका अनुसार बैठकमा उपस्थित सांसद संख्या तथा मत विभाजनमा सहभागी ७९ जना रहेका र प्रस्तावको पक्षमा ५० मत परेको र विपक्षमा २९ मत र तटस्थ शून्य मत परेको छ।

९२ सदस्यीय प्रदेशसभामा बहुमतका लागि ४७ मत आवश्यक पर्छ । प्रदेशसभामा एमालेमा ४१, कांग्रेसका २१, माओवादी केन्द्रका १५, नेकपा (एकीकृत समाजवादी) १०, जसपाका तीन र संघीय लोकतान्त्रिक मञ्च एक र राप्रपा एक सदस्यीय छ।

५० सदस्यीय विपक्षी गठबन्धनमा आवद्ध कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र संघीय लोकतान्त्रिक मञ्चको समर्थनमा राई मुख्यमन्त्री बनेका हुन् । गत १५ कात्तिकमा भीम आचार्यले मुख्यमन्त्रीबाट राजीनामा दिएपछि १६ कात्तिक राईले मुख्यमन्त्रीमा नियुक्त भएर पद तथा गोपनीयताको शपथसहित पदभार ग्रहण गरेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *